पचहत्तर वर्षमा नागरिकता

0
8

पथरी (मोरङ),

लेटाङ नगरपालिका–३ की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नागरिता प्राप्त गर्नुभएको छ । घरपरिवारविहीन दर्जीको अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिताविहीन हुनुपरेको थियो ।

उहाँले लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राईको पहलमा नागरिकता प्राप्त गर्नुभएको हो । बोल्न र सुन्न नसक्ने दर्जी शारीरिक रुपमा समेत अशक्त रहनुभएको छ । उहाँले नागरिकताबाट वञ्चित हुँदा राज्यबाट पाउने सेवासुविधाबाटसमेत वञ्चित हुनुपरेको थियो ।

दर्जी चार दशकअघिदेखि लेटाङबजार आसपासमा बेसहारा भई हिँड्डुल गर्दै आउनुभएको छ । उहाँको नागरिकतामा सनाखत गर्ने कोही नभएकाले उहाँ नागरिकता पाउनबाट वञ्चित हुनुभएको थियो । उहाँको नागरिकतामा वडाध्यक्ष राईले सनाखत गर्नुभएको छ । एक सहाराविहीन आमालाई नागरिकता दिलाई वडाध्यक्ष राईले सिङ्गो नगरपालिकाको इज्जत बढाउन सफल भएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले बताउनुभयो ।

वडाध्यक्ष राईले मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाहअनुसार दर्जीको संरक्षक भई नागरिकता दिलाउन सफल भएको बताउनुभयो । दर्जीलाई सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले लेटाङ नगरपालिकाको परिसरमा आई नागरिकता हस्तान्तरण गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here