कोइला व्यवसायी संगठित, संयोजकमा चुडाल

0
9

बिर्तामोड ।

देशभरका कोइला व्यवसायीलाई संगठित गर्दै नेपाल कोइला व्यवसायी संघ गठन गरिएको छ ।

पहिलोपटक कोइला व्यवसायीलाई एकीकृत गर्दै संघको गठन प्रक्रिया शुरु गरिएको हो । झापाको बिर्तामोडमा बिराटनगर, इटहरी तथा बिर्तामोडका व्यवसायीहरुको संयुक्त भेलाले अर्जुनकुमार चुडालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

बिर्तामोड निवासी चुडाल कोइला व्यवसायसँगै, घरजग्गा व्यवसायमा समेत आवद्ध रहेका छन् । सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय रहेका चुडालले देशभरका कोइला व्यवसायीहरुलाई एकताबद्ध बनाउँदै अघि बढ्ने उद्देश्यका साथ नेपाल कोइला व्यवसायी संघ गठन गरिएको जानकारी दिए ।

आर्थिकमन्दीले कोइला व्यवसायीहरु समेत प्रभावित भइरहेका बेला ब्यवसाय प्रबद्र्धन गर्दै सबै व्यवसायीका समस्यालाई समाधान गर्नका लागि संघको आवश्यकता महशुस गरेर देशभर रहेका व्यवसायीहरुलाई संगठित गर्ने अभियान शुरु गरेको बताइएको छ । तदर्थ समितिमा रजनीश करनानीलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै खगेन्द्र श्रेष्ठ, मनोहरप्रसाद अग्रवाल र ज्ञानेन्द्र पौडेल सदस्य रहेको पाँच सदस्य तदर्थ समिति गठन गरिएको बताइएको छ ।

तदर्थ समितिलाई बलियो बनाउँदै अघि बढ्नका लागि प्रतिव्यवसायी ११ हजार रुपैंया शुल्क लिएर संगठित गर्ने बताइएको छ । संयोजक र कोषाध्यक्षको संयुक्त खाता खोलेर जम्मा गर्दै संघलाई चलायमान बनाउन उक्त रकम खर्च गरिने बताइएको छ ।

भारत लगायत तेस्रो मुलुकबाट आउने कोइलालाई एकरुपता दिने उद्देश्यले व्यवसायीलाई संगठित गरिएको संयोजक चुडालले जानकारी दिए । इटा पकाउन तथा सिमेन्ट कारखाना लगायतका विभिन्न कारखानाहरुले कोइलाको प्रयोग गर्ने गरेका छन् । कोइलाले सिमेन्ट, इटा, मल, स्टील, स्पन्ज आइरनजस्ता गैरऊर्जा क्षेत्रका उद्योगहरूमा पनि योगदान पु¥याउँदै आएको छ ।

कोइला व्यवसायीहरुलाई जिल्ला जिल्लामा संगठित गर्दै देशभर नै संगठन गर्दै कोइला व्यवसायीहरुको महासंघ नै गठन गर्ने तयारी शुरु गरिएको हो । पूर्वी नाका काँकरभिट्टाबाट समेत वर्षेनि ठूलो मात्रामा कोइला भित्रिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here