पहिलो प्रेस सेन्टर, दोस्रो पाइला बीरगञ्ज

२० माघ २०८०, शनिबार मा प्रकाशित

३२ वर्षपछि बीरगञ्जमा पाईला टेकेको म बबुरो माघ १३ गते बिहान ८ः३० बजे पतलैया ओर्लदा २०४८ सालमा बीरगञ्ज लैजाने कृष्णबहादुर तामाङ, नबल फाइवली, रुपलला आङ्बोलाई सम्झें । हुन त राष्ट्रिय बैंकका ‘क’ वर्गका गुरुजी कृष्णबहादुर तामाङले गाडी थोत्रे भएकाले गाडी साट्न काठमाण्डौ लैजादा त्यही दाउमा म पनि काठमाण्डौ लागेको थिए । उमेरले ६५ पार गरेका कृष्ण बढाले पतलैयाबाट उत्तर जानुपर्नेमा झुकिएर बीरगञ्ज पुर्याएकाले त्यो मेरो बीरगञ्जको पहिलो यात्रा थियो ।

त्यति ठूलो विकसित थिएन बीरगञ्ज । तर, ३२ वर्षपछि प्रेस सेन्टरमा आबद्ध भएर पदाधिकारी बैठक र राष्ट्रिय परिषदको निम्तोलाई स्वीकार्दै पुग्दा बीरगञ्ज राजधानी बाहिरको ठूलो औधोगिक शहर भइसकेको रहेछ ।

शासक बीरशमसेर जंगबहादुर राणाको नामबाट बीरगञ्ज राखिएको इतिहास रहेछ । १४ गते बिहानबाट सभा सुरु भयो । एक हातमा बन्दुक अर्को हातमा रेडियो बोकेर जनपक्षिय पत्रकारिता गरेको सन्देश बीरगञ्जमा सुनियो । जनयुद्ध मथर नभई कहाली लाग्दो ती दिनले प्रेस सेन्टर जन्माएको रहेछ । बन्दुक र डोकोमा रेडियो बोकेर कहिले पहाड, कहिले जंगलघारी, कहिले खोलानाल त कहिले अकरिलो भीर हिंडेको त्यो दिनलाई सम्झदा २० वर्ष भएको सेन्टरको राष्ट्रिय परिषद सभामा बहस भएको थियो ।

शान्ति सम्झौता भएको थिएन । आकाशबाट बन्दुकका गोली झरिरहेको बेला अब संगठन चाहिन्छ भनेर २०६१ माघ १५ गते रुकुमको लाभाङ्गमा संगठन जन्मेको थियो । संगठनका प्रेरणा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको तथ्य आयो । संस्थापक अध्यक्ष महेश्वर दाहालले जनपक्षिय पत्रकार विकासको आधार भन्ने सन्देश दिए । लीलामणि पोख्रेलले दलाल पूँजीवादीको पैसाले जन्मेको अखबारले जनताको भावना छुन सक्दैन भन्ने तर्क राख्दा उपस्थित सञ्चारकर्मीहरु स्तब्ध भएका थिए ।

१४, १५ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङदेखि महाकालीसम्मका सेन्टर आवद्ध पत्रकारहरुको उपस्थिति थियो । प्रेस सेन्टरले दिएको माया र सद्भावसँगै जनताको पक्षमा गरेको आधारले युवा पत्रकारहरु पश्चिम पहाडमा पाइने ‘सिलाजी’ औषधी बेच्दै बाटो काटेर बीरगञ्ज आएको कथा सुनाएका थिए । रुकुमका पत्रकारहरु समूहमा गफिदै भन्दै थिए, ‘बीरगञ्ज त साच्चै ठूलो शहर रहेछ । यतिकै विकास सबैतिर भइदिए नेपालमा विदेशीहरु काम गर्न नेपाल आउथे होला ।’

१४ गते बिहान पदाधिकारी बैठक ८ः३० मा बस्यो । बीरगञ्जको पुरानो बीरेन्द्र हल (हाल टाउन हल) मा बस्दै धेरै उपयोगी निर्णयहरु भए धेरै जसो केन्द्रीय सदस्यहरुलाई राखेरै बहस पैरवी गरौं भन्ने शब्द आएपछि १ बजेपछि राती १०ः३० बजेसम्म पत्रकारिताकै विषयमा घनिभूत छलफल उठ्यो । सुन्न र भन्न सक्ने क्षमता सेन्टरका राष्टिूय अध्यक्ष ‘जुगल’ विष्णु सापकोटासँग रहेको हुँदा सञ्चार क्षेत्रमा आएका ठूलठूला समस्या सहज रुपमा समाधानका बाटाहरु फुकाउन सफल भए । संस्थापक अध्यक्ष महेश्वर दाहाल लगायत अग्रजहरु भएकाले जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुले राखेका समस्या सजिलो गरी पैरवी भएको थियो भने लिपीबद्ध ढंगबाट साथीहरुले बोलेको विचार टिपोर्ट गरिएको थियो ।

प्रेस सेन्टरमा मेरो पहिलो पदाधिकारी बैठकको उपस्थितिले बोल्नुभन्दा पनि मसिनो गरी सुन्नु महत्व ठाँने र १४ गते करिब १५ घण्टा सुन्ने र बुझ्ने काम भयो । घनिभूत छलफलले पत्रकारिता विषयक कुरा उठ्दा त्यति ठूलो समस्या मलाई भएन । छलफलमा पत्रकारिता जनपक्षिय भए मुलुकमा देखिएका बेगरेल्ती समस्याको केही हल हुनसक्छ भन्ने तर्क निकै उठ्यो । करिब ४ सयभन्दा बढी क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको छलफलमा सबै तर्क र बहस सुनेपछि मैले पनि लिखित ४ वटा सुझाव पेश गर्ने मौका पाएँ ।

अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले बोल्न समय अभाव भएकाले लिखित सुझाव दिए अझ राम्रो भनेपछि बुँदागत रुपमा सुझाव पेश गरें । सुझाव नम्बर (क) प्रदेश नं. १ मा पहिचानको मुद्दा पेचिलो रुपमा उठिरहेको अवस्थामा पहिचानवादी प्रेस युनियन र प्रेस चौतारीका सञ्चाकर्मीहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ ? (ख) राजधानीका अखबारमा आवद्ध प्रेस सेन्टर वा अन्य पत्रकारहरुलाई पारिश्रमिक नदिएको र हाल आन्दोलन गरिरहेका सञ्चारकर्मीहरुलाई छलफलमा ल्याई गाउँ प्रवेश गर्दै पालिकामा जनपक्षित पत्रकारिता गर्न सुझाव दिनसके माओवादी केन्द्रले चलाएका अभियान पनि सफल हुने र बाँच्न पनि सकिने थियो । (ग) प्रदेश(प्रदेशमा सेन्टरमा आबद्ध अग्रज पत्रकारहरुको प्रशिक्षण विभाग बनाई प्रत्येक जिल्लामा नयाँ आगन्तुक सञ्चारकर्मीहरुलाई तालिम दिन सके प्रेस सेन्टरको संख्या बृद्धि हुने थियो र जनपक्षिय पत्रकारिताको परिभाषा बुझ्ने थिए । (घ) सञ्चार आबद्ध सहकारी संस्था, प्रेस काउन्सिल, गोरखापत्र, रासस र न्यूनतम् पारिश्रमिक आदि ठाउँमा पत्रकारिताको मर्म र प्रेस सेन्टर लगायत अन्य पीडित सञ्चारकर्मीहरुको पीडालाई मल्हमपट्टी र प्रोत्साहन, पुरस्कार गर्न सक्ने जनपक्षिय ग्रामिण पत्रकारिता गरेको अनुभवीलाई नियुक्तीमा सिफारिस गरी काम लगाउन सके अन्य पत्रकारहरु प्रेस सेन्टरसँग नजिक हुने थिए ।

राष्ट्रिय परिषद भेला समेत भएकाले १५ गते बिहान ७ः३० बजेको प्रभातफेरीपछि ८ः३० मा पुनः छलफल चलेको थियो । छलफलपछि २० बुँदे बीरगञ्ज घोषणापत्रसँगै आगामी प्रेस सेन्टरको दिशा निर्देशनबारे निर्देशन भएको थियो । १५ गते प्रेस सेन्टरको स्थापना दिवसलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड र पार्टीका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नी सापकोटा, पार्टीका सहमहासचिव लीलामणि पोख्रेल, मधेस नेता मातृका यादवको उपस्थिति रहेको थियो ।

बीरगञ्जको चिसोले सबैको मन कठ्याङ्ग्रीएको थियो तर १४, १५ को तातो बहसले प्रधानमन्त्रीको भनाई सुन्न सञ्चारकर्मीहरु आतुर थिए । ठीक १ बजे प्रधानमन्त्रीले स्थापना दिवसको सन्देश दिँदै जनपक्षिय पत्रकारिताको तागतले नै नेपाली जनताको शीर उच्च रहने बताए । प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा बन्द भएको उद्योगलाई ब्युझाएर श्रम, रोजगार सिर्जना गर्ने र साना साना बजेटले देश सप्रन नसकेको हुँदा संघीय सरकारले बजेट प्रदान गर्दा ३ करोड माथि हुने सन्देश दिए ।

स्थापना दिवसमा प्रेस सेन्टरका इन्चार्ज अग्नी सापकोटाले प्रेस सेन्टरलाई जिम्मेवारी पदको रुपमा हेरिएको हुँदा यो वैज्ञानिक युगमा ज्ञान, विज्ञान र अध्ययनलाई ध्यान दिन जरुरी रहेको भन्दै १५ गते ४ः३० बजे स्थापना सभा बिसर्जन गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here