पत्रकारितामा राजनीतिक गन्ध

२५ माघ २०८०, बिहीबार मा प्रकाशित

पत्रकारिता पेशा मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो । पत्रकारिता नेपालमा पछिल्लो समय पत्रकारको पेशाको झ्यालबाट छिरेर व्यवसायको ढोकाबाट निस्किने प्रवृत्ति बढेको छ । जुन नेपाली पत्रकारीताको लागि घातक हो । जसले निष्पक्ष सूचना आम जनतालाई दिन सक्दैन ।
अहिले देशभर पत्रकार राजनीतिक दलहरुको छायाँमा रहेका प्रेस युनियन, प्रेस संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, मिडिया सोसाइटी, थारु पत्रकार संघ, मगर पत्रकार संघ, फोनिज लगायत विभिन्न जातीय पत्रकार संघ संगठनभित्र रहेर पत्रकारिता गरिरहेका छन् । यसको अर्थ स्वतन्त्र पत्रकारिता गर्नेहरु छैनन् भन्न खोजेको भने होइन । जसले नेपाली पत्रकारितामा स्वतन्त्र पत्रकारिता हराउँदै गएको हो कि भन्ने आभाष पाउन थालेको छ । पछिल्लो समय पत्र–पत्रिका तथा मिडियामा आएका समाचारहरुलाई प्रायोजित समाचार हुन कि भनेर हेर्ने गरिन्छ ।
पत्रकारितालाई राज्यको चौथो अंग भनिन्छ यसको मतलब राज्य सञ्चालनका तीन अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाभन्दा भिन्न भएर सबैको खबरदारी गर्नु चौथो अंग तथा पत्रकारिताको धर्म हो । पत्रकारिता गर्दा आफ्नो राजनीतिक आस्था लेखाइ, बोलाइमा देखिनु हँुदैन । नागरिकको सुसूचित हुने अधिकार प्राप्तिका लागि स्वतन्त्र पत्रकारिता हुनुपर्छ । यसो भनिरहँदा मुलुकको पत्रकारिता भने दलगत राजनीतिबाट मुक्त हुन सकिरहेको छैनन् । पत्रकारहरुको छाता संगठन मानिने नेपाल पत्रकार महासंघ पनि राजनीतिको छायाँबाट मुक्त हुन सकेको छैन । अझै पनि आफैँ सम्पादक, आफैँ प्रकाशक तथा आफैँं वितरक हुने श्रमजीवी पत्रकार धेरै छन् ।
यिनीहरुको संरक्षण पत्रकारको नेतृत्व गर्ने संघ–संस्था धेरै भए पनि यसको वकालत कमै मात्रमा भएको पाइन्छ । जसको कारण साना लगानीका पत्रपत्रिकाले कसै न कसैको पुच्छर बन्नु पर्ने अवस्था छ । या कसैको पक्ष या बिपक्षमा रहेर पत्रकारीता गर्नु पर्ने अबस्था छ ।
राजनीति र पत्रकारिता फरक(फरक विधा हुन तथापी राजनीतिका लागि पत्रकारिता अभिन्न अंग जस्तै बनेका छन् । पत्रकारिताका लागि राजनीति सूचना, समाचार र विचारको महत्वपूर्ण स्रोत हो । मानवीय भाव सम्प्रेषण गर्नका लागि सूचना प्रविधिमा भएको चमत्कारिक परिवर्तनले आधुनिक छापा माध्यम, रेडियो, टेलिभिजन, इ(मेल, इन्टरनेट (अनलाइन) जस्ता नयाँ सञ्चार माध्यमको विकास भयो ।
आमसञ्चार तथा पत्रकारिता मानवीय सभ्यता, संस्कृति, विकास र समृद्धिको महत्वपूर्ण आधार र अपरिहार्य तत्व हुन् अहिलेको विश्वमा जसको हातमा मिडिया छैन, मिडियामा पहुँच छैन, ऊ अत्यन्तै कमजोर मानिन्छ । आमजनतालाई आशा र भरोशाको सञ्चार गर्ने काम यति बेला सञ्चार क्षेत्रमा कार्यरत व्यक्ति, सञ्चार संस्था र सञ्चार माध्यमहरू नै हुन् । यसको लागि पनि आम सञ्चार माध्यमहरुले सकारात्मक सूचना सम्प्रेषण गर्दै जनता र समाजको समृद्धि बाटोमा सञ्चारमाध्यम स्वतन्त्रतापूर्वक अगाडि बढ्नुपर्छ ।
आमसञ्चार त्यसको माध्यम हो, जसले सूचना र विचारलाई सर्वत्र पु¥याउँछ । सूचना र विचारको आधारमा नै नागरिक आफ्नो मत, दृष्टिकोण र निष्कर्ष बनाउने गर्दछन् जुन निष्पक्ष र स्वतन्त्र हुनु पर्दछ । सञ्चारमाध्यम नागरिक र सरकारबीचको मध्यस्थकर्ता पनि हो । जसले राज्य सञ्चालनलाई जवाफदेही र पारदशी बनाउन प्रेरित गर्नुपर्छ । नागरिक अरूप्रति मर्यादित र जिम्मेवार हुनु, सरकार नागरिकप्रति जिम्मेवार हुनु र यी सबैलाई जिम्मेवार र मर्यादित बनाउन आमसञ्चार सहकर्ता र पहरेदार हुनै पर्दछ ।
नेपालको संविधान २०७२ ले समेत प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । संविधानको धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक, धारा १९, धारा २७ ले सूचनाको हक प्रदान गरेको छ । त्यस्तै धारा १९ (२) मा भनिएको छ, कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन । यसरी पूर्ण प्रेस स्वतन्त्रतालाई संविधानले प्रत्याभूत गरेको अवस्था छ ।
नेपालको संविधान एवम नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूले हरेक व्यक्तिलाई अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताको हकको ग्यारेन्टी गरेको छ । तसर्थ, आमसञ्चार र त्यसमा आवद्ध हरेक व्यक्तिले निश्पक्ष र स्वतन्त्रतापूर्वक आफ्नो जिम्मेबारी पूरा गर्नु पर्दछ । तथापि पछिल्लो समय नेपाली पत्रकारितामा राजनीतिक गन्ध देख्न सकिन्छ । जुन पत्रकारिता क्षेत्रकै लागि घातक हो । यसको अन्त्यको लागि आम पत्रकारिमा संलग्न व्यक्तिहरु लाग्नु पर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here