पाँच करोड फिरौती माग्ने पक्राउ

0
15

झापा । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीले फिरौती माग्दै ज्यान मार्ने धम्की दिने पोखरा बस्दै आएका पर्वतका दुई जनालाई बुधबार पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वत कुस्मा नगरपालिकाका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।


पोखरा महानगरपालिका– १६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरूले पोखरा–१६ दीपमा सच्चाइ सेवा केन्द्र चलाउँदै गैरेलाई फोन र म्यासेजमार्फत धम्की दिएका थिए । पैसा मागेको र नदिए मार्ने धम्कीसमेत दिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन थापाले बताए ।
‘युट्युबमार्फत गैरेलाई चिनेका उनीहरू गत माघ १३ गते गैरेको कार्यालयमा पुगेका थिए । पक्राउ परेका दर्जीले युट्युबबाट गैरेको सम्बन्धमा भिडियोहरू हेर्ने गरेको र माघ १३ गते सच्चाइमा गई १–२ घण्टा बसी नम्बर लिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, एसपी थापाले भने ।  
त्यसपछि ती व्यक्तिले माघ १८ गते फोन तथा म्यासेजबाट धम्की दिई रकम मागेका थिए । हिन्दी भाषा प्रयोग गरी उनीहरूले फोन तथा म्यासेज गर्ने गरेको एसपी थापाले सुनाए । त्यसपछि पनि उनीहरू पटक पटक गैरेको कार्यालयमा पुगेका थिए । गैरेको उजुरीका आधारमा बुधबार पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।
उनीहरू दुवै जना करिब १ महिनादेखि पोखरा सिमल चौरमा बस्दै आएका थिए ।

दर्जी कतारमा ४ वर्ष बसेर एक महिनाअघि मात्रै नेपाल आएका थिए । उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको पाना, किताब, नोट बुक, भारतीय सिम, खुकुरी, गाँजा, भरुवा बन्दुकमा लाग्ने केप, रन्दा मेसिन र गेलेण्डर मेसिनसमेत बरामद गरेको छ ।


‘विदेशबाट आउनेबित्तिकै पोखरामा भाडामा लिएर बसेको देखिन्छ । उतैबाट योजना बनाएर आएको कि यता आएर योजना बनाएको अनुसन्धानबाट खुल्दै जाला’, एसपी थापाले भने ।
ती पानामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित नाम लेखिएको एसपी थापाले सुनाए । व्यक्तिहरूको नाम उल्लेख गरिएको पानामा ‘राइट किड्स’ लेख्दै ३० भन्दा बढी व्यक्तिको नाम लेखेका छन् । ती नाममा शीर्ष नेताका नाम पनि छन् । रिच किड्स लेखेर नेता व्यापारी, गुन्डा, भू–माफिया, मेडिकल माफिया, म्यानपावर माफियाको नाम उल्लेख छ । सुनेका जति नेताका नाम त्यहाँ खेलेका छन्’, एसपी थापाले भने ।
पक्राउ परेका दीपकबहादुर क्षेत्री यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका थिए । उनी २०७९ मा हातहतियार तथा खरखजाना र २०७१ मा सार्वजनिक मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ परेका थिए ।
पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध गाँजा, हातहतियार तथा खरखजना र आपराधिक लाभ एक्सटेन्सनसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्कीका प्रहरी प्रमुख एसपी थापाले जानकारी दिए ।
बिग मनी बिग टार्गेट, किन्डन्याप, फिरौती, सुट आउट, प्रोटक्शन मनी, गणतन्त्र, राजतन्त्र, धर्म निरपेक्षता, हिन्दू राष्ट्र, नेता, व्यापारी गुण्डा, भू–माफिया, औद्योगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया लेखिएका पानासमेत प्रहरीले बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here