विष्णुभगवती स्कूलको सातौं वार्षिकोत्सव सम्पन्न

0
11

बिर्तामोड ।

बिर्तामोड नगरपालिका-१०, विराटपोखरस्थित विष्णु भगवती अंग्रेजी विद्यालयको विविध कार्यक्रमसहित सातौं वार्षिक उत्सव सम्पन्न भएको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल पुण्यप्रसाद उप्रेतीको अध्यक्षता तथा बिर्तामोड नगर शिक्षा अधिकृत केशरबहादुर खवासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक विष्णु दाहालले स्वागत गरेकी थिइन्।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा अधिकृत खवासले स्थापनाको छोटोे अवधिमा नै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयले अभिभावकहरुको मन जित्न सफल भएको भन्दै उनले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन विद्यालय परिवारको ठूलो समर्पण तथा लगन रहेको र त्यसमा अभिभावकले सदा साथ दिइरहनुपर्नेमा जोड दिए।

विद्यालयका प्रिन्सिपल उप्रेतीले विद्यालयको प्रगतिमा अभिभावकको अहम् भूमिका रहेको बताउँदै आफूहरुले स्वच्छ शैक्षिक वातावरणसँगसँगै अतिरिक्त क्रियाकलापमा जोड दिंदै आएको बताए। उनले सरकारले संस्थागत र सरकारी विद्यालयमा विभेद नगर्न पनि सुझाव दिए।

कार्यक्रममा विद्यार्थीहरूले गीत,नृत्य,वकृत्वकलाद्वारा प्रतिभा प्रस्तुत गरेका थिए भने शिक्षकद्वारा सामूहिक नृत्य तथा साना नानीहरुले रायम्स,फेसन शो,कराते प्रदर्शन गरेका थिए। त्यस्तै दिनेशराज शर्माद्वारा लिखित तथा निर्देशित ‘मसँग को मिल्छ’ र ‘आलु खाएर पेंडाको धाक’ शीर्षकको सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो।

सोही अवसरमा उत्कृष्ट शिक्षक कला भट्टराई, रजनी कार्की र रेनुका श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा बिर्तामोड नगर प्याव्सनका अध्यक्ष उत्तम खनाल,उपाध्यक्ष सन्तोष सुब्बा,सचिव सुरेन्द्र खरेल,धार्मिक अभियान्ता ध्रुवकुमार शिवाकोटी ,सामाजिक व्यक्तित्व कृष्णप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

शिक्षा सेवी देवेन्द्र गौतम,कञ्चन बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल दीपक चौलागाईं,सरगम संगीतालयका प्रबन्धक दीपक रायमाझीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि,अभिभावक उलेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here