सिंहदेवी माविको ६५ औं वार्षिकोत्सव विविध कार्यक्रम

0
16

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सव विविध कार्यक्रम गरि आइतबार सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा २०६८ सालमा स्थापना गरिएको यामबहादुर फूँयेल स्मृति छात्रवृत्ति अक्षयकोषका दाता एवम् अध्यक्ष धनबहादुर फूँयेल, विद्यालयले प्रदान गर्ने वर्ष उत्कृष्ट शिक्षकबाट रञ्जना चेम्जोङ र यामबहादुर फुँयेल स्मृति छात्रवृत्ति अक्षयकोषले प्रदान गर्ने वर्ष शिक्षक सम्मानबाट खगेन्द्रप्रसाद खतिवडा सम्मानित भएका छन् ।

त्यसैगरी कार्यक्रममा विद्यालयमा स्थापना भएको यामबहादुर फुँयेल स्मृति छात्रवृत्ति अक्षयकोषसँगै कालीबहादुर+धनमाया तामाङ स्मृति छात्रवृत्ति अक्षयकोष, खीबलाल अधिकारी स्मृति छात्रवृत्ति अक्षयकोष, अम्बरबहादुर राई स्मृति छात्रवृत्ति अक्षयकोष र दीपक आचार्य स्मृति छात्रवृत्ति अक्षयकोषबाट विपन्न तथा जेहेन्दार र खेलकुद क्षेत्रका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको रकम प्रदान गरिएको बताइएको छ ।

त्यस्तै कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भेषराज खनालले कक्षा–११, कक्षा–१२, कक्षा–९ र कक्षा–१०का दुई शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थी तथा विपन्न विद्यार्थीलाई पोशाक बापत ३५ हजार दुई सय रुपैयाँ सहयोग रकम प्रदान गरेको बताइएको छ । जसमा उत्कृष्ट विद्यार्थीतर्फ १० जना विद्यार्थीलाई २९ हजार चार सय रुपैयाँ र विपन्न विद्यार्थीलाई पोशाकतर्फ पाँच हजार आठ सय रुपैयाँ प्रदान गरेका थिए ।

सोही वार्षिकोत्सवको अवसरमा प्रधानाध्यापक रिजालले बाल कक्षाका लागि एक सेट फर्निचर निर्माण गर्न चार वर्षको भत्ता बापत प्राप्त हुने २४ हजार रुपैयाँ बराबरको चेक समितिका अध्यक्ष ढकाललाई हस्तान्तरण गरेका थिए । त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष टंकबहादुर न्यौपानेले पनि बाल कक्षालाई एक सेट फर्निचर उपलब्ध गराउने कार्यक्रममा घोषणा गरेका थिए ।

यता वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर विद्यालय खेलकुद र नृत्य तथा अन्तर सदन खेलकुद प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्रसहित पुरस्कृत गरिएको थियो ।

विद्यालयका दातृ संस्था बीएण्डसी अस्पतालका सूचना अधिकारी दीपेश भट्टराई, अक्षयकोषदाता युवराज आचार्य, जनता माविका प्रधानाध्यापक जयप्रसाद भण्डारी, पूर्व जनप्रतिनिधि रामबहादुर निरौला, विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद फुँयेललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम तथा कविता आदि प्रस्तुत गरेका थिए । समितिका सदस्य चित्राखर पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here