प्रकृतिको संरक्षणले हात्ती आतंक कम हुन्छ

0
8

झापा जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व प्रत्येक वर्ष बढेर गएको छ । गएको छ महिनाको अवधिमा जंगली हात्तीको आक्रमणमा परी पाँच जनाले जीवन गुमाएका छन् भने दुईवटा हात्ती मारिएका छन् । डिभिजन वन कार्यालय झापाका अनुसार हात्तीको आक्रमणमा परी गत पुसमा हल्दीबारी–२ का पाथल राजवंशी, पुसमै शिवसतासीका मेघराज राईको मृत्यु भएको थियो । त्यस्तै मंसीरमा दमकस्थित हम्सेदुम्से सामुदायिक वनमा पदमलाल तामाङ, हल्दीबारीका धनबहादुर वन, शिवसतासीका हर्कबहादुर योगीको हात्ती आक्रमणमा मृत्यु भयो । त्यसअघि असोजमा भद्रपुर–२ स्थित कमलधापमा र मंसीरमा बाह्रदशी–१ मा एउटा हात्ती मृत फेला परेको थियो ।

झापाका जंगलमा भारतको आसामबाट ठूलो संख्यामा हात्ती प्रवेश गर्ने गरेका छन् । तिनै हात्ती वनजंगलबाट गाउँ प्रवेश गरी घर भत्काउने, भण्डारण गरेको, लगाएको अन्नबाली नष्ट गर्नेदेखि ज्यान लिनेसम्मका घटना हुने गरेका छन् । यसका कारण झापामा दुई दशकदेखि मानव– वन्यजन्तु द्वन्द्व बढ्दो छ । त्यही द्वन्द्वका कारण ०६७ सालयता मात्रै ६५ जनाले ज्यान गुमाएका छन् भने बीस वर्षको अवधिमा २१ वटा हात्ती मरेका छन् । त्यसो त हात्तीले मानिसलाई आक्रमण गर्नुमा मानवीय कमजोरी नै मुख्य कारण रहेको बताइन्छ । मान्छेले हात्ती खेद्न होहल्ला गर्ने, लखेट्ने गर्दा हात्तीले आक्रमण गर्ने जानकारहरु बताउँछन् । विगतमा उनीहरु हिँडेको बाटोमा मानव बस्ती रहेकोले पुर्खौंदेखि प्रयोग गरेको बाटोमा अवरोध हुँदा हात्ती आक्रामक भएको विज्ञहरुको भनाइ छ ।

एकातिर यही द्वन्द्वका कारण मानव र हात्ती दुबैको मृत्यु भइरहेको छ भने अर्कातिर ज्यान जोगाउनकै लागि क्षति प्रभावित क्षेत्रका बासिन्दा बसाइँ हिँड्न बाध्य छन् । झापा कचनकबलमा मात्रै हात्तीबाट ज्यान जोगाउन चार वर्षको अवधिमा एक हजार छ सय आठ परिवार बसाइँ सरेका छन् । दिउँसो जंगलमा र साँझ परेपछि बस्तीमा पसेर आतंक मच्चाउने हात्तीको पीडाबाट जोगिन त्यहाँका १, २ र ३ नं. वडाका बासिन्दाको बसाइँ सर्ने क्रम तीब्र भएको पालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका प्रमुख खेमराज भट्टराईले जानकारी दिएका छन् । गएको तीन वर्षको अवधिमा १६ सयभन्दा बढी परिवार वर्षौदेखिको थातथलो छाडेर बसाइँ सर्न बाध्य भएका छन् । यस्तोमा हात्तीको व्यवस्थापनका लागि तीनै तहका सरकार गम्भीरतापूर्वक लाग्नु पर्दछ । हात्तीलाई दुःख दिनेभन्दा पनि आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्छ । वनजंगलको सुरक्षाले उसको बासस्थान र आहार सुरक्षित हुने हुँदा त्यसले मानवीय क्षति निम्त्याउने भएकाले प्रकृतिको संरक्षणमा लाग्नुपर्छ । योजनाविहीन सडक निर्माणलाई पनि रोकेर मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सबैको ध्यान जानु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here