स्वतन्त्रता कि अमर्यादा ?

७ फाल्गुन २०८०, सोमबार मा प्रकाशित

एक व्यक्ति स्वतन्त्र जन्मिन्छ । उसले स्वतन्त्र भएर बाँच्न चाहनु सामान्य कुरा हो । मानिसको बौद्धिक तथा सामाजिक विकासको लागि स्वतन्त्रता आवश्यक छ । तर, लाग्छ आजको मेरो समाजले स्वतन्त्रताको परिभाषा नै परिवर्तित गरेको छ । स्वतन्त्र रहने आडमा मानिस अमर्यादित हुँदैछ । मानिसमा चेतनाको कमी हुँदैछ । उसले नियमको उल्लंघन गर्नु, कसैलाई हेप्न दबाउन सक्नुलाई आफ्नो स्वतन्त्रता सम्झिन थालेको छ । स्वतन्त्र रहने होडमा मानिसले आफ्नो दायित्व र संस्कार दुबै भुल्दैछ ।

बालबालिकामा स्वतन्त्र बाँच्न पाउने अधिकार हो भन्ने चेतनाको विकास गरिएको हाम्रो समाजले स्वतन्त्रताको सही परिभाषा भने सिकाउन सकिराखेको छैन । उसले आफ्नो अधिकार त जान्यो, तर उआफ्नो दायित्व बुझेको छैन । जन्मैदेखि प्राविधिक शिक्षा लिँदै हुर्केको आजको बालकले नैतिक शिक्षा भने पाउन सकिरहेको छैन । यसमा दोष बालबालिकाको छैन ।

नैतिक समाजमा नैतिकता हराएका हामी जस्ता अभिभावक त्यो शिक्षा दिन लायक नै नभएको महशुस हुन्छ । हामी आफ्नो हिसाबले नभएर तुलनाको आधारमा जीवन जिउने गर्दछौं । हामीलाई आफ्नोभन्दा फलानोको घर, फलानोको परिवार, फलानोको छोराछोरी, फलानोको जिन्दगी मन पर्छ । तर, फलानोको छोराछोरीले गरे जस्तो प्रगति चाहने मेरो समाजका अविभावकले फलानोको छोराछोरीले पाए जस्तो वातावरण आफ्ना छोराछोरीलाई दिन सक्नु भएको छ ? सोच्नुहोस् त ।

हामी आफ्नो प्रगतिमा भन्दा अरूको दुर्गतीमा धेरै रमाउने बानी परेका छौँ । र, यही संस्कारको विकास आउने पिढीमा देखिँदैछ । समाजमा कतै कसैबीच झगडा भएको देखेमा हामी झगडा मिलाउनभन्दा पनि त्यसलाई आफ्नो क्यामेरामा कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गर्न रुचाउँछौं । कसैको निजी जिन्दगीमा दखल दिन र निजी विषयमा टिप्पणी गर्न हामीलाई केही समय लाग्दैन । आफ्नो सन्तुष्टिको लागि हामी अरूको चरित्र हत्या गर्न पनि पछि सर्दैनौँ ।

हामीलाई नियम बाहिरको काम गर्न पाउँदा खुशी मिल्छ । त्यस्ता कार्यहरू हामी गौरवका साथ आफ्ना साथीभाइबीच सुनाउने गर्छौ । आफूभन्दा ठूलालाई अनादर गर्नु, सानालाई हेप्नु हाम्रो गौरवको विषय हुँदै गएको छ । सानो कुरामा चित्त दुख्ने हामीलाई अरूको लागि शब्द प्रयोग गर्नु अगाडि दोहो¥याएर सोच्न समय पुग्दैन । सायद यो वाक स्वतन्त्रतामा पर्छ होला । हामी समवेदना भएका प्राणीमा संवेदनशिलता हराउँदै गाएको छ । नडराई भन्नुपर्दा हामी मानवमा मानवता हराउँदै गाएको छ ।

यति लेख्दै गर्दा मैले कसैको स्वतन्त्रता हनन् गर्न चाहिँ खोजेको होइन । तिमीलाई पूरा अधिकार छ तिमी खुल्ला र स्वतन्त्र भएर बाँच्न पाउँछौ । तर, स्वतन्त्रताको आडमा आफ्नो मर्यादा नभुल । तिमी सोचनशील प्राणी हौ, कहाँ कति खोल्ने र कहाँ कति पोख्ने भन्ने कुराको हेक्का राख ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here