लागूऔषधको पीडा

0
10

चालू आर्थिक वर्षको पुस मसान्तसम्मको छ महिनामा लागूऔषध कारोबारी, प्रयोगकर्ता र सम्बन्धित अपराधमा संलग्न तीन हजारभन्दा बढी पक्राउ परेका छन् । नेपाल प्रहरीको कारवाहीमा पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ जना नेपाली पुरुष र एक सय ४४ जना महिला रहेका छन् । प्रहरीले विगत छ महिनाको तथ्यांक प्रस्तुत गर्दै त्यस बाहेक १० जना महिला र एक सय ३३ जना पुरुष विदेशी रहेको उल्लेख गरेको छ । पक्राउ परेकाहरु मध्ये एक हजार नौ सय ६० वटा मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरु गाँजा, चरेश, हेरोइन, अफिम, कोकिन लगायतका नियन्त्रित औषधि जस्ता लागूऔषध सेवन गर्ने तथा त्यसको अवैध ओसारपसारमा संलग्नहरु रहेका छन् ।

लागूऔषधका कारोबारी, प्रयोगकर्ता र ओसारपसार गर्ने व्यक्ति दिनहुँ पक्राउ पर्ने गरेका छन् । प्रत्येक दिन सम्बन्धित समाचार सार्वजनिक भइरहँदा पनि लागूऔषधको अवैध कारोबार न्यूनीकरण हुन सकिरहेको छैन । यसको सेवनले प्रयोगकर्तालाई मात्र होइन उसको परिवार, समाज र राष्ट्रलाई नै ठूलो क्षति भइरहेको छ । यसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने अन्ततः परिवार, समाज हुँदै राष्ट्रलाई नै नकारात्मक असर पार्ने निश्चित छ । परिवारको आशा, भविष्य, समाजको सम्पत्ति र राष्ट्रको ऊर्जाशील उमेरका युवाहरु यसको कुलतमा फस्दा राष्ट्रलाई दीर्घकालीन क्षति हुन्छ । यद्यपि यो विश्वव्यापी समस्या हो, तर समाधान भएन भने सम्पूर्ण मानव जाति र सभ्यताका लागि घातक हुन्छ । त्यसैले सबै क्षेत्र, तह, अगुवा सचेत नागरिक र राष्ट्रका सञ्चालकहरुले यसको नियन्त्रणमा लाग्नुपर्छ ।

पछिल्लो समय देशभित्रै अवैध ढंगले गाँजाको खेती, व्यापार, ओसारपसार व्यापक हुन थालेको दुःखद् समाचार प्रकाशनमा आएको छ । थोरै परिमाणका लागूऔषध, प्रयोगकर्ता र कारोबारी पक्राउ भइरहेका बेला चितवनमा प्रहरीले साढे पाँच सय किलो गाँजा बरामद गरेको छ । त्यस्तै मकवानपुरमा ७० किलो गाँजा बरामद भएको छ । गाँजालाई वैधानिक मान्यता दिएर उत्पादन, प्रवद्र्धन र बजारीकरण गर्नुपर्ने कुरा उठिरहेका बेला प्रहरीले भने यसलाई नियन्त्रण गर्न सक्रिय रहेको छ । कानूनतः पक्राउ परेकालाई कानूनी कारवाही गर्न प्रहरी सक्रियता बढ्नैपर्छ, अनि मात्र युवा वर्गलाई भविष्यको भरोसा बनाउन सकिन्छ । यसका लागि अभिभावकदेखि सचेत नागरिक, प्रहरी र तीनै तहका सरकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । अन्यथा यसले अपराध बढाउँछ, देशको भविष्य अन्धकार हुन्छ र राष्ट्रलाई नै असफल बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here