लोपोन्मुख सामग्री संरक्षण गर्न जालपामा साँस्कृतिक सङ्ग्रहालय

0
15

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । पूर्खाले प्रयोग गरेका घरेलु सामग्री सङ्कलन गरी जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो ।

तत्कालीन गाउँ विकास समिति (गाविस) भवनको सभाहलमा स्थापना गरिएको सङ्ग्रहालयमा करिब दुई सय वर्ष पुरानो र त्यसयताका गरी दुई सयभन्दा बढी घरेलु सामग्री राखिएको जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा ध्वाँसो लागेको अवस्थाका छालाको थैली, काठको दूध चलाउने डाडु, बेतको भुने, आगो फुक्न प्रयोग हुने भाँटी, जाँतो, काठको दियो, काठको माना, भाला, धनुषवाण, तरवार, काठको मुखुण्डो, कोक्रो, ढाकर, जाल, ठकौली, ढडिया, दूधेरी, चर्खा, हतासो, रासी, थुरी लगायतका सामग्री राखिएका छन् ।

सांस्कृतिक सङ्ग्रहालयमा राखिएका हरेक सामग्रीमा सौजन्य र प्रयोग गर्नेको नाम उल्लेख छ । पुराना सामग्री प्रयोगकर्तामा मृत्यु भइसकेका व्यक्तिका नामसमेत उल्लेख गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा काठको पन्यु, काठको चम्चा, काठे गिलास, हर्पे, ठेका, दाबिलो, डोको, नाङ्लो, ओख्ली, लोहोरो, हलो, फुर्लुङ, मुढा, कोक्रो, डोको, थुन्चे, तोलङ, ओख्ली, नाङ्लो, दाप, फिपी, घुर्रा, मदानी, ठेका, जुवा, हल्लुड, सोइला, फिर्के, दाबिलो, खरेटो, चिम्टा, हँसिया, कचिया, सिलौटा, लोहोरो, कर्द लगायतका घरायसी सामग्री सङ्ग्रहित गरिएका छन् । सङ्ग्रहालय स्थापनाका लागि वडा कार्यालयले गाउँभरिका स्थानीय बासिन्दाले प्रयोग गर्दै आएका पुराना घरेलु सामग्री सङ्कलन गरेको हो ।

सङ्ग्रहालयमा लोपोन्मुख सामग्री थप गर्दै लगिने वडाध्यक्ष राईले जानकारी दिनुभएको छ । “हाम्रा पूर्खाले आफ्नो जीवनकालमा प्रयोग गरेका ऐतिहासिक सामग्रीलाई सङ्कलन र संरक्षण गर्दै नयाँ पुस्तालाई जानकारी दिने लक्ष्यका साथ सङ्ग्रहालय स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “यी सामग्री हाम्रा इतिहास हुन्, इतिहास अध्ययन गर्ने प्रमाण पनि हो । सङ्ग्रहालयमार्फत गाउँलाई अध्ययन, भ्रमण र अवलोकनका लागि योग्यस्थल बनाउने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”

सङ्ग्रहालयका लागि स्थानीयवासीले ऐतिहासिक सामग्री निःशुल्क उपलब्ध गराएको जनाइएको छ । सङ्ग्राहलयको उद्घाटन नगर उपप्रमुख विशन राईले यही फागुन ६ गते गर्नुभयो । उहाँका अनुसार सङ्ग्राहलय अवलोकनका लागि आउने भनिसकेको छ ।

जिल्लाको ऐँसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात सङ्ग्रहालय निर्माणाधीन अवस्थामा छ । पहिलो पटक महेश्वरीमा निर्माण सुरु गरिएको सङ्ग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ ।

किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीप जस्ता बहुमूल्य सम्पदालाई सङ्कलन र संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय भवन सुरु गरिएको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताउनुभयो । सङ्ग्रहालयको विकास गरी किरात अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पु¥याउने गरी दीर्घकालीन योजना तय गरिएको जनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गामा निर्माणाधीन आदिवासी जनजाति सङ्ग्रहालय भवन खण्डहर बनेको छ । तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा निर्माणाधीन सङ्ग्रहालय भवन निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिमा राजनीतिक दल संलग्न भएको र उक्त उपभोक्ता समितिले आर्थिक अनियमितता गरेपछि खण्डहर बनेको हो ।

भवन निर्माण उपभोक्ता समितिकै अध्यक्षको संलग्नतामा रकम अनियमितता भएपछि कारबाहीको माग गर्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेकाले थप रकम छुट्ट्याउन नमिल्दा भवन नबन्ने निश्चित भएको हो । सङ्ग्राहलय भवन निर्माणमा नक्कली हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै उपभोक्ता समितिका कोषाध्यक्ष रामकमारी राईले उजरी दिनुभएको हो ।

सङ्ग्राहलय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाताबाट कीर्ते गरी पटक-पटक गरी रु १३ लाख ८३ हजार निकासा भएको पाइएको थियो । बैंकको विवरणमा विसं २०६७ साउन ३१ गते रु दुई लाख ५० हजार, असोज २१ गते रु तीन लाख, चैत १ गते रु एक लाख ८० हजार र चैत २० गते रु ८३ हजार निकासा गरेको पत्ता लागेको थियो ।

भवन नबन्ने निश्चित भएपछि उपभोक्ता समितिको चौतर्फी आलोचना भएको छ । निर्माणाधीन सङ्ग्रहालयमा जिल्लामा बसोबास गर्ने आदिवासी जनजातिको पूर्खाले आदिमकालमा प्रयोग गरेका, चलाएका, लगाएका हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजा लगायतका सामग्री राख्ने लक्ष्य राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here