निरौला दम्पत्तीको वैवाहिक वर्षगाँठको अवसरमा सिंहदेवीमा अक्षयकोष

0
8

अमित खम्बू,
अर्जुनधारा ।

तपाईं आफ्नो वैवाहिक वर्षगाँठ कसरी मनाउनुहुन्छ ? भोजको आयोजना गरेर वा कुनै नौलो ठाँउहरुमा घुमेर । यता झापाको अर्जुनधारा–१स्थित सिस्ने निवासी सामाजिक व्यक्तित्व रामबहादुर निरौला र सावित्रादेवी थापाले भने आइतबार एक कार्यक्रमकोबिच आफ्नो वैवाहिक वर्षगाँठ फरक ढंगले मनाएका छन् ।

वि.सं.२०३१ साल फागुन १३ गतेका दिन वैवाहिक बन्धनमा बाँधिएका निरौला दम्पत्तीले आफ्नो ५०औं वैवाहिक वर्षगाँठको अवसरमा स्थानीय सिंहदेवी माध्यमिक विद्यालयमा तीन लाख एक सय ५१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

वृहतरुपमा उपस्थित भएका जनप्रतिनिधि, सामाजिक संघ–संस्थाका प्रतिनिधि, विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी एवम् निरौला दम्पत्तीका आफन्त र परिवारका सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरुले अक्षयकोषको रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, समितिका सदस्य सचिव एवम् विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजाल र शिक्षक अभिभावक संघका अध्यक्ष टंकबहादुर न्यौपानेलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

अक्षयकोषबाट प्राप्त ब्याजलाई गरीब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक उन्नयनमा लगानी गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएकोमा निरौला दम्पत्तीको उक्त कार्यको कार्यक्रमका सहभागी सबैले खुल्ला मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्ने क्रममा निरौला दम्पत्तीका छोरा पदमबहादुरले समाजमा उदाहरणीय कार्य गर्नपर्छ भन्ने सन्देश प्रवाह गर्न परिवारको सल्लाह बमोजिम यस किसिमको कार्य गरिएको जानकारी दिए । सोही कार्यक्रममा दाताको योगदानको मूल्याङ्कन गर्दै विद्यालय परिवारकोतर्फबाट उनीहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

समितिका अध्यक्ष ढकालको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा रामबहादुरका जेठान एवम् साहित्यकार कालीबहादुर थापा, भिनाजु मानबहादुर फुँयेल, तत्कालिन् खुदुनाबारी गाविसका उपाध्यक्ष नरबहादुर कन्दङवा, प्राध्यापक उपेन्द्र आचार्यलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा दाता निरौलाले आफ्नो जीवनको संघर्ष बारे जानकारी गराउँदै आगामी दिनमा अक्षयकोषको रकमलाई वृद्धि गर्ने योजना सुनाएका थिए । प्रधानाध्यापक रिजालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भेषराज खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here