राणाशासनको अन्त्यपछि अर्थात् २००७ सालदेखि नेपाल आधुनिकताको युगमा प्रवेश गरेको हो । तर नेपाल सङ्क्रमणको चक्रबाट निस्कन सकेको छैन । नेपाल विकसित नहुनुमा राजनेताको अभाव हो कि राजनीतिक नेतृत्व विकासको सङ्कट हो भन्ने आजको ज्वलन्त प्रश्न हो । नेताको गुण, दोष अनि उनीहरूको कार्यको विश्लेषण र पैरवी जरुरी हुन्छ । कसलाई उत्कृष्ट नेता भन्न सकिन्छ र भाषण या व्यवहार केलाई आधार मानेर नेतालाई कसौटीमा जाँच गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो । नेतृत्वको चिरफार गर्न उनीहरूका गुण पर्गेली सर्वोत्तम राजनेताको रूपमा उभ्याउन सकिन्छ । पदसोपानमा माथिल्लो तहमा हुने बित्तिकै राजनेता हुने होइन ।
कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स जस्ता चिन्तक र दार्शनिकका कुरा नगरौं, आफ्ना मुलुकका प्रमुख कार्यकारी राजकीय पदमा नपुगी महात्मा गान्धी, जननेता मदन भण्डारी, सुवासचन्द्र बोस, मार्टिन लुथर किङ जुनियर, गणेशमान सिंह, देङ सियाओ पिङ जस्ता व्यक्तित्वहरू राजनेताको रूपमा स्थापित छन् भने अब्राहम लिङ्कन, वीपी कोइराला, मनमोहन अधिकारी, भ्लादिमिर इल्यिच उल्यानोभ (लेनिन), माओत्सेतुङ, होचिमिन्ह, नेल्सन मण्डेला आदि राजकीय पदमा रहेर राजनेता बन्न सफल भएका छन् । राजनीतिमा सदैव इमानदारिता अपनाउनु एक प्रकारको जोखिम पनि हो, तर पनि राजनेता झुठको सहारामा चुनाव जित्नुभन्दा सत्यको पक्षमा उभिन्छन् । अवसरवादिता र प्रियतावादिताको शिकार हुनबाट उनीहरू सदैव जोगिन चाहन्छन् राजनेता ।
आफ्ना गल्ती अनि कमजोरीहरु औंल्याएकोमा धन्यवाद दिने र स्वीकार गर्ने गुणलाई राजनेताको प्रथम गुणका रूपमा लिइन्छ । इमान्दार नेताहरूले शिर झुकाउनु पर्दैन । हक्की, निडर अनि आफ्ना वरिपरिका मान्छेहरूवाट अत्यधिक आदर पाउने नेताहरू राजनेता बन्न समर्थ हुन्छन् । अर्को महŒवपूर्ण गुण भनेको राजनेता जनताप्रति दयालु र सहयोगी हुन्छन् । दयालु भन्नाले जनताको पीडाको आत्मसात र सदैव ती पीडितलाई पीडा कम गर्न संरचना अनि प्रणालीको विकास गर्ने सोच भएका नेतृत्व भन्ने बुझ्न सकिन्छ । अरुप्रति करुणा नभएको मानिस असल नेता बन्न सक्दैन ।
असल नेता विचारमा प्रष्ट हुनुपर्छ । नेतालाई नेतृत्व गर्नका लागि विचारले अरु सामान्य कार्यकर्ताहरूबाट अलग्ग बनाउँदछ । राजनेता र नेताबीचको फरक भनेकै उनीहरूको विचारको स्तर र विचार गर्ने शैली हो । विचार प्रधान राजनेताहरूले नै मुलुक बदल्ने र भावी पुस्तालाई मार्गनिर्देशन गर्ने । सिंगापुर र मलेसियाको विकासको पछि निडर, कल्पनाशील र भविष्य देख्न सक्ने लिक्वान यु र महाथीर बिन महमोद जस्ता धेरै विश्वासयोग्य राजनेताहरूको हात रहेको छ । आफ्ना नेताको अन्धानुकरण गर्ने अनुयायीले गरेको निरपेक्ष विश्वासले न राजनेताको उदय हुनसक्छ, न मुलुक नै बन्न सक्छ ।
राजनेतामा हुनैपर्ने अर्को गुण भनेको आत्मविश्वास हो । आत्मविश्वासको कमी भएमा नेतृत्व लक्ष्यप्रति विश्वस्त हुन सक्दैन र उसका पाइला दोबाटोमा र अक्करहरूमा, कुइनेटा र घुम्तीहरूमा लडखडाउँछन् । राजनेतामा कठोरता नभएर लचकता हुन जरुरी छ । असल राजनेताले सबै पक्षका कुराहरू ध्यानपूर्वक सुनेर सर्वमान्य विन्दुमा पुगेर सबै पक्षको जीतजीत परिस्थिति निर्माण गर्दछ र सदैव केन्द्रविन्दुमा मुलुक र जनताको हतिलाई राख्दछ ।
नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ । निश्चय नै नेता हुनलाई यी गुण आवश्यक छन्, तर यति गुणका आधारमा कुनै पनि मानिस जनताको मनमन्दिरमा सजिने असल राजनेता बन्न सम्भव छैन । राम्रो भाषण गर्ने या लेख्न अनि बोल्न सक्ने गुण राम्रो नेतृत्वमा हुनुपर्छ । जनताको बहुदलीय जनवादका प्रवर्तक नेपालका मदन भण्डारी, बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जस्ता नेता वाककलामा अति निपूण थिए । राम्रो वाककलाका साथसाथै समस्याको विश्लेषण गर्ने र समाधानका उपाय खोज्न सक्ने नेतृत्व आजको आवश्यक्ता हो, नेतृत्वको सही र गलत भूमिकाले समग्र देशको हित र अहित हुने कुराको निर्धारण गर्दछ ।
नेपाल अहिले पनि सङ्क्रमणकालीन स्थितिबाट गुज्रिरहेको छ । राजनीतिक क्षेत्रमा भएको परिवर्तन जनताका घरदैलो र आँगनमा आउला भन्ने सर्वत्र आशा गरिएको थियो । पौराणिक होस् या आधुनिक, पूर्वीय होस् या पाश्चात्य राजनीतिक चिन्तन शक्ति प्राप्ति र त्यसको सही प्रयोगको जटिलतामा अल्झिएको पाइन्छ । मुलुकको रूपान्तरणका लागि गरिएका चिन्तन र विचारले नै ठूला–ठूला परिवर्तनको नेतृत्व गर्न सकिने हो । युगान्तकारी परिवर्तन हाँक्न सफल हुने नेता मात्र राजनेता हुन सक्दछ ।
भारतीय अर्थशास्त्री विद्वान कौटिल्यको भन्छन्– ‘भौतिक र शारीरिक रूपमा सबै जीवात्मा समान छन् । ज्ञानले मात्रै मानिसलाई अन्य प्राणीहरुबाट अलग राख्छ ।’ राजनीतिशास्त्री मेकियावेली लेख्छन्– ‘आफन्तलाई मारेर आर्जन गरिएको शक्तिले केही क्षणिक व्यक्तिगत महत्त्वाकांक्षा त पुरा होला, तर त्यसले न जनताको हित गर्छ, नत राजाको दीर्घकालीन सम्मान र भलो ।’ अहिंसावादका अनुयायी महात्मा गान्धीले मानवताको भविष्य मान्छे र शक्तिको दौडमा निर्भर हुन्छ भनेर भनेका थिए । त्यसैले मूलरूपमा राजनीतिमा मूल्य र मान्यताकै कारणले नेता र राजनेता बीचको फरक हुने गर्दछ ।
शास्त्रमा लोकमा जो धर्म अर्थात् कर्तव्य देखिन्छ, त्यसको मूलकारण राजनेता हुन् । राजनेता अर्थात् राजाकै डरका कारण नागरिक एक दोस्रोलाई सताउँदैनन् । नागरिकले मर्यादा विपरीत कार्य गरेमा राज्यले उसलाई उचित दण्ड दिनुपर्छ । नायक बिनाका नागरिक जलमा रहने माछा र जङ्गलमा रहने पशुपंक्षी जस्तै हुन्छन् । बीना रानुका मौरी जस्ता हुन्छन् । समाजलाई उचित दिशा र दशा दिनका लागि योग्य राजनेताको आवश्यकता पर्दछ । योग्य राजनेताले देश हाँक्न सक्छ । समाज सुधार्न सक्छ ।
राजनेता निर्बल भएमा राज्यतन्त्र पनि निर्बल हुन्छ । जसको गलत प्रयोग केही स्वार्थी व्यक्तिको हातमा पर्छ । अनैतिक कार्य हुन्छ । बलवानले निर्बलमाथि थिचोमिचो गर्छन् । साधारण मनुष्यसँग भएको धनसम्पत्तिको लुछाचुडी गरिन्छ । सज्जनहरूले महान कष्ट पाउँछन् । दुर्जन, दुष्ट, गुण्डा बदमास, फटाहा धुर्तहरू हालीमुहाली हुन्छन् । समाज अग्रगतितिर नगई पश्चगतितिर लाग्छ । हत्या, हिंसा, चोरी, डकैती, बन्द, हड्ताल, अनैतिक कार्य बढ्दै जान्छन् । योग्यताको सम्मान नगरी पद प्रतिष्ठा, लिङ्ग तथा जाति क्षेत्रका आधारमा सम्मान गरिन्छ । जसका कारण योग्य व्यक्तिको अपमान पनि हुन सक्छ । त्यस्तो अवस्थामा अकाल मृत्यु, दुर्घटना, भय इत्यादि उत्पन्न हुन्छ । यसबाट बाँच्नका लागि योग्य राजनेताको आवश्यता पर्दछ । जसले देश र जनताको भलोगर्न सकोस्, जो राजोचित गुणले युक्त होस् । राजनेता अवस्था र व्यवस्थाले जन्माउँछ । राजनेता प्रधानमन्त्री वा राष्ट्रपति हुन पनि सक्छ, न हुन पनि सक्छ, तर ऊ राष्ट्र नायक हुन सक्छ ।
राजनीतिक दल र तिनका कार्यकर्ताको शक्तिमार्फत राज्यशक्ति प्राप्ति नै आज राजनीतिको मूल ध्येय देखिन्छ । तर, राजनीति गर्नेहरू सबैसँंग शक्ति प्राप्त गर्ने सामथ्र्य हुँदैन । आम राजनीतिकर्मी र नेताबीच फरक भनेको नेतासंँग शक्ति हासिल गर्ने खुबी हुन्छ । तर, राजनेतासँग भविष्यलाई दिशानिर्देश गर्ने सामथ्र्य हुन्छ । नेपाल एउटा गम्भीर ऐतिहासिक मोडमा उभिएको छ आज । राजनीति र नेतृत्वको स्तरका कारण आजको अवस्था सृजना भएकोमा शंका छैन । तर, नेता मध्येबाट राजनेता हुने हो र प्रस्ट दृष्टिकोण र मार्गचित्र राजनेताको अर्को चिनारी हुनेछ । तसर्थ, नेपालको आजको सङ्कट राजनेताको अभाव हो र राजनीतिक नेतृत्व विकासको संकट पनि हो ।