‘झापालाई फुटबल हब बनाउँछौं’

१७ फाल्गुन २०८०, बिहीबार मा प्रकाशित

फागुन १९ गतेदेखि सञ्चालन हुन गइरहेको अर्ना छैठौं झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ । प्रस्तुत छ– झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतसंग गोल्डकपको तयारी र सेरोफेरोका विषयमा पूर्वाञ्चलकर्मी सुरेन्द्र भण्डारी र नरेन्द्र ढकालले गरेको कुराकानी :

छैटौं झापा गोल्ड कपको तयारी कस्तो छ ?

– झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १९ गते सभ्य र भब्य तयारीका साथ उद्घाटन गर्नेे तयारी गरेका छौं ।

कुन–कुन टिम सहभागी हुदैछन् ?

– झापा गोल्ड कपमा ए डिभिजन क्लवसहित १० वटा टिमको सहभागिता हुनेछ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लवसहित बागमती युवा क्लव, संकटा फुटबल क्लव, मछिन्द्र फुटबल क्लव, एनआरटी फुटबल क्लव, चर्च वोइज युनाइटेड, एन्फा मकवानपुर तथा विभागीय टोलीहरु एपिएफ, त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवको सहभागिता रहनेछ ।

विजेता–उपविजेतालाई पुरस्कार राशी कति छ ?

– झापा गोल्ड कपमा यस पटक पुरस्कारको राशी वृद्धि गरेका छौं । विजेता टोलीलाई १३ लाख रुपैयाँ नगदसहित आकर्षक ट्रफी प्रदान गर्नेछौं भने उपविजेता टिमलाई सात लाख र ट्रफी प्रदान गर्नेछौं ।

कुन–कुन विधामा उत्कृष्ट खेलाडीलाई अवार्ड छ ?

– विगतका वर्ष झैं यो वर्ष पनि हामी बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिड फिल्डर, बेस्ट फरवार्डलाई उत्कृष्ट खेलाडीका रुपमा अवार्ड प्रदान गर्नेछौं । यसका साथै हरेक खेलमा उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’को अवार्ड प्रदान गरिने छ ।

गोल्ड कप सम्पन्न गर्न कति खर्च लाग्ला ?

– हामीले खर्चलाई अघिकतम् घटाएर गोल्डकप सम्पन्न गर्ने तयारी गरेका छौं । यस पटक एक करोड ४० लाख रुपैयाँमा गोल्ड कप सम्पन्न गर्ने लक्ष्य लिएका छौं । सोही अनुसार गोल्ड कपको तयारी भइरहेको छ ।

यो पटक कति आम्दानी हुनेछ ?

– यस पटक आर्थिक मन्दीका कारण आम्दानी घटेको छ । लागत खर्च उठाउँछौं नै । तर, विगत वर्ष झैं यति नै बचत हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ । हाम्रो मुख्य लक्ष्य भनेको गोल्ड कप सम्पन्न गर्नु र बचत रकमलाई नघटाउनु नै रहेको छ । आम्दानी गर्न नसकिए पनि बचत भएको रकम खर्च हुनबाट जोगाउन सकिएमा आगामी अध्यक्ष तथा टिमलाई काम गर्न सहज हुन्छ भन्ने मेरो अपेक्षा छ । हामीले यस पटक गोल्डकप गराउँदै गर्दा एक करोड रुपैयाँको अक्षय कोष खडा गर्न सकेको खण्डमा आगामी दिनमा पनि सहज हुने अपेक्षा गरेका छौं ।

दर्शक कति आउछन् ? टिकटबाट कति संकलन होला ?

– यो पटक झापा गोल्ड कप हेर्न ३० हजार दर्शक आउने हामीले अपेक्षा गरेका छौं । टिकट बिक्रीबाट ५० लाख रुपैयाँ संकलन हुने हाम्रो अनुमान छ । यस पटक टिकट केही महँगो भए पनि झापा गोल्ड कप आफ्नै कार्यक्रम सम्झिएर टिकट खरिद गर्न सबैमा आग्रह गरेका छौं । टिकट काउन्टरलाई व्यवस्थित गर्ने तयारी समेत गरेकाले झन्झटरहित गोल्ड कप हेर्न पाइने अधिकतम प्रयासमा हामी जुटेका छौं ।

सधै चन्दा उठाएर गोल्ड कप गर्नु कतिको सान्दर्भिक हुन्छ ? यसको संस्थागत विकासका लागि के सोच्नु भएको छ ?
– एकदमै सान्दर्भिक प्रश्न उठाउनुभयो । सधैँ चन्दाले गोल्ड कप सञ्चालन गर्छु भन्नु उचित हुँदैन । हामीले यसको संस्थागत विकास र दिगोपनको बारेमा सोच्नै पर्छ । झापा गोल्ड कपलाई व्यवस्थित गर्दै यसको दिगोपनाका लागि हामीले अक्षयकोष बनाएर अगाडि बढ्ने तयारी गरेका छौं । दाताहरुको सहयोगका कारण छैटौं गोल्ड कप गर्न सफल भएका छौं । यसमा सम्पूर्ण झापालीहरुको साथ र सहयोग रहेको छ ।

उद्घाटनका दिन मुख्य आकर्षण के–के छन् ?

– उद्घाटनका दिन विभिन्न जातजातिका झाँकी सहित खेलकुद क्षेत्रका अगुवाहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेका छौं । उद्घाटनका दिन झापा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथिका रुपमा उपस्थित गराउने छौं । सांगीतिक माहोलसँगै झापा गोल्ड कपको उद्घाटन गराउने छौं ।

उद्घाटनदेखि समापनसम्मका मुख्य अतिथिहरुमा को को आउने पक्का भयो ?

– उद्घाटनदेखि समापनसम्म हामीले झापाबाट नेतृत्व गर्ने राजनीतिक दलका नेता, सामाजिक अगुवा, खेल क्षेत्रमा विशिष्ठ गोगदान पु¥याउने व्यक्तिहरुलाई दैनिक रुपमा प्रमुख अतिथि तथा अतिथिका रुपमा आमन्त्रण गरेका छौं । हामीले काठमाडौं महानगरपालिकाका प्रमुख प्रमुख बालेन्द्र शाह ‘बालेन’लाई समेत निमन्त्रणा गरेका छौं । उहाँको समय मिलेमा उहाँ पनि झापा गोल्ड कपमा सहभागी हुने अपेक्षा गरेका छौं ।

अघिल्लो पटकभन्दा यस पटक गोल्ड कपमा नया के के व्यवस्थापन गर्नु भएको छ ?

– अघिल्लो वर्षभन्दा यस पटक झापा गोल्डकपलाई केही फरक र नयाँपन दिने प्रयत्न गरेका छौं । विगतका वर्षहरुमा भएका कमजोरी तथा सुझावलाई आत्मसाथ गर्दै विगतका कमजोरी सुधार गरेर व्यवस्थित रुपमा गोल्ड कप सम्पन्न गर्ने तयारी गरेका छौं । यस पटक शौचालय, पार्किङ, टिकट काउण्टर लगायतलाई व्यवस्थित गरेका छौं भने प्याराफिटलाई दर्बिलो बनाएका छौं ।

हरेक वर्ष गोल्ड कपको क्रेज र व्यवस्थापन अझ उत्कृष्ट हुदै आएको पाइन्छ । यो सबै कसरी सम्भव भइरहेछ ?

– हो । पक्कै पनि झापा गोल्ड कप झापालीको मात्र नभई समग्र पूर्व कै सान भएकाले यसप्रति सम्पूर्णको सहभागिता बढ्दै गएको छ । झापा गोल्ड कप मार्फत नै झापालाई फुटबल हबको रुपमा विकास गर्ने तयारीका साथ काम भइरहेको छ । सबैले झापा गोल्ड कपप्रति अपनत्व ग्रहण गरेका र माया गरेका कारण झापा गोल्ड कप प्रति क्रेज बढ्दै गएको छ । यसलाई सबैतिर विस्तार गर्न र व्यवस्थित गर्न हामी लागेका छौं । विगतका कमजोरीलाई दोहोरिन नदिई थप नयाँ कार्य गरेका कारण वर्षेनि गोल्ड कप व्यवस्थित र उत्कृष्ट हुँदै गएको हो ।

यस पटक झापाको टिम कस्तो छ ?

– आयोजक झापा ११ लाई व्यवस्थित गर्ने काम झापा ११ का अध्यक्ष जलकुमार गुरुङले गर्नुभएको छ । आयोजकका नाताले हामीले ‘होम ग्राउण्ड’मा उत्कृष्ट प्रर्दशन गर्ने विश्वास लिएका छौं । यसपटक हाम्रो लक्ष्य भनेको उपाधि चुम्नु हो ।
तपाईंको सोच र अभिव्यक्तिहरु फुटबलस“गै समाज र बिर्तामोडको विकासमा केन्द्रित लाग्छ । यो कसरी सम्भव छ ?
– हामी सामाजिक प्राणी भएका कारण समाजप्रति जवाफदेही र उत्तरदायी हुनु पर्दछ । म सानै उमेरबाट हजुरबुवाबाट प्ररित भएर सामाजिक सेवाका काममा अग्रसर हुने मौका पाए । हजुरबुवाको प्रेरणाका कारण सामाजिक सेवाका क्षेत्रमा अग्रसर भएको हुँ । परिवारको साथ र सहयोगका कारण हरेक सामाजिक क्षेत्रमा मैले सहभागिता जनाउने मौका पाए । यो सँगै झापा गोल्ड कपको नेतृत्व गर्ने अवसर प्राप्त भयो । फुटबलको माध्यमबाट समाजलाई जोड्दै अगाडि बढिरेको छु ।

खेलकै माध्यमबाट पनि बिर्तामोडको विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ झापा गोल्ड कपलाई केन्द्र विन्दुमा राखेर काम गरिरहेका छौं । बिर्तामोडको मुक्तिचोकलाई थप आकर्षक र उज्यालो बनाउनेदेखि रंगशालासम्मको मार्गमा विशेष सरसफाईसहित उज्यालो बनाउने प्रयत्नमा हामी छौं । गोल्ड कप भनेको फुटबल प्रतियोगिता मात्र होइन यसको माध्यमबाट हामीले हाम्रो ठाउँको पहिचान, त्यहाँको अनुशासन, कला–संस्कृति र संस्कार अनि विकासलाई जोड्न सकिन्छ । यस कार्यका निमित्त हामी खटिइरहेका छौं ।

अघिल्लो पटक अनि यसपटक पनि यत्रो कार्यक्रम भइरह“दा बजारमा पैसा उठाएको सुनि“दैन । यति धेरै रकम कहाबाट कसरी जुटाउदै हुनुहुन्छ ?

– पक्कै पनि आर्थिक मन्दीका कारण हामीले झापा गोल्ड कप सम्पन्न गर्न सबैभन्दा पहिला सदस्यको मन जितेका छौं । झापाली दर्शकको हामीलाई भरपुर साथ छ । अहिले पनि सदस्य बन्ने क्रम जारी छ । विभिन्न ठाउँमा हुने गोल्ड कपभन्दा झापा गोल्ड कपलाई उत्कृष्टता प्रदान गर्न हामी सफल छौं । खेत जस्तो ठाउँलाई पनि मैदान बनाएर हामी खेल खेलाइरहेका छौं । खेलाडीहरुलाई सुविधा दिएका छौं ।

तपाईंलाई यसअघि बिनोद बस्नेतले झापा गोल्ड कप भद्रपुरलाई बुझायो भन्ने आरोप पनि धेरैतिरबाट लाग्यो । यस विषयमा के भन्नुहुन्छ ?

– झापा गोल्ड कप बिर्तामोडको मात्रै भन्ने नबुझौं । झापा गोल्ड कप भनेको आम झापालीलाई समेटेर गरिँदै आएको छ । भद्रपुर, मेचीनगर, दमक लगायतका ठाउँमा पनि यस किसिमका खेलकुदका प्रतियोगिता आयोजना गर्दै ती ठाउँहरु पनि चिनिनुपर्छ । जीर्ण अवस्थामा रहेका खेल मैदानको विकास गरिनुपर्छ । झापा गोल्ड कपले एक पटकका लागि भद्रपुरमा गोल्ड कप गर्न दिँदा त्यहाँको खेल मैदानसँगै त्यस ठाउँको समेत महत्व बढ्ने भएकाले हामीले सल्लाह गरेर नै यसअघिको गोल्ड कपलाई भद्रपुर गोल्ड कप गराएका हौं । त्यसमा हाम्रो कुनै स्वार्थ छैन । भद्रपुरको पनि विकास हुनुपर्छ ।

भद्रपुरमा गरिने गोल्ड कप पनि झापा गोल्ड कप सरह नै हो । मलाई भद्रपुरमा गोल्ड कप गराउँदा कार्यसमितिका केही साथीहरुले आरोप लगाए पनि स्वार्थविहीन गरिएको काममा त्यस्ता आरोपले केही फरक पार्दैन । झापा जिल्लालाई फुटबलको हब बनाउन हामी लागीपरेका छौं । वल्ड कप पनि चार वर्षमा हुन्छ । तर, हामी हरेक वर्ष झापाको फुटबलको विकासका लागि झापा गोल्ड कप गर्दै आएका छौं । हामी सबै झापाली एउटै मालामा गासिएर फुटबलको विकासका लागि जुट्नुपर्ने बेलामा कहिले सुरुङ्गामा त कहिले भद्रपुरमा कहिले दमकमा बन्दै गरेको रंगशालामा त कहिले काँकरभिट्टामा गोल्ड कप गराउँदा केही फरक पर्दैन । खेलका माध्यमले त्यस क्षेत्रको विकास हुन्छ भने हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न सक्नुपर्छ जस्तै मलाई लाग्छ ।

गोल्ड कपको माध्यमबाट झापालाई विश्वभर चिनाउ“दै हुनुहुन्छ । झापाली र खेलप्रेमीहरुलाई के भन्नुहुन्छ ?

– पछिल्लो समय खेलप्रति मानिसको लगाव बढ्दै गएको छ । हामीले झापा गोल्ड कपलाई बृहत बनाएर लैजाने काम गरिरहेका छौं । बिर्तामोडमा मात्र सिमित गरेको भए यो बिर्तामोड गोल्डकप हुन्थ्यो, तर समग्र झापाले अपनत्व गर्ने हिसाबले यसलाई झापा गोल्ड कपका रुपमा अगाडि बढाएका छौं । यसमा समग्र झापाली दाजुभाइ तथा दिदीबहिनी सम्पूर्ण राजनीतिक दल, झापामा रहेका समग्र संघ–संस्था, उद्योगी, व्यवसायी, सुरक्षा निकाय, प्रशासन, पत्रकार लगायत सबैको साथ र सहयोगका कारण नै काठमाडौंमा हुने ए डिभिजन लिगपछि सर्वाधिक चर्चाको रुपमा झापा गोल्ड कपलाई स्थापित गर्न सफल भएका छौं । यसमा अन्तर्राष्ट्रिय झापाली समाजको पनि महत्वपूर्ण योगदान रहेको छ । झापामा जन्मिएर विश्वका विभिन्न स्थानमा रहनुभएका झापाली मनहरुको सहयोगका कारण हामीले यसलाई विश्वभर चिनाउन सफल भएका छौं ।

यस गोल्डकप सफल बनाउन सरोकारवालाहरुप्रति के अपेक्षा गर्नु भएको छ ?

– झापा गोल्ड कप सफल बनाउन सम्पूर्ण सरोकारवाला निकायहरुसँग सहयोगको अपेक्षा गरेका छौं । यो गोल्ड कपप्रति सबैले अपनत्व ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु । निरन्तरको लगनशिलता, दृढसंकल्प र सबैको साथका कारण हामी झापा गोल्ड कपको संघारमा आइपुगेका छौं । यसलाई सफल बनाउने दायित्व हामी सबैको हो । त्यसैले म स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण खेल प्रेमीहरुलाई आग्रह गर्दछु कि यो गोल्ड कप मेरो पनि हो भनेर साथ, सहयोग गरिदिनुहोस् । यसपटक झापा गोल्ड कप सफल बनाउन बिर्तामोड नगरपालिकाले महत्वपूर्ण सहयोग गरेको र खेल सम्पन्न भएपछि थप सहयोग गर्ने आश्वासन पाएको छु । अन्तर्राष्ट्रिय झापाली समाजले पनि महत्वपूर्ण सहयोग प्रदान गरेको छ ।

झापा गोल्ड कप सफल बनाउन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, झापा गोल्ड कपमा पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी, जलकुमार गुरुङ, झापा गोल्ड कपमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, कार्यसमिति सदस्य, सल्लाहकार, सञ्चचारकर्मी लगाायत सबैको महत्वपूर्ण भूमिका र साथ सहयोगका कारण गोल्ड कपको तयारी अन्तिम चरणमा पु¥याएका छौं । म सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई झापा गोल्ड कप हेरी दिनुहुन आग्रह गर्दछु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here