भद्रपुरका सोरेन दम्पतीलाई जीवन विकास लघुवित्तले बनाइदिए घर

0
7

भद्रपुर ।

हातमा नागरिकता भएपनि आफ्नो नाममा एक धुर जमिन नरहेका भद्रपुर नगरपालिका–३ किचकबधस्थित २ नम्बर डाँडामा बस्दै आएका ६६ वर्षीय रामबहादुर सोरेन नगरपालिकाको सन्थाल आवाज कार्यक्रमबाट वञ्चित हुनु परेको छ ।

रामबहादुरको बुढेसकालका सहारा एक मात्र छोरा पनि जेल जीवन बिताइरहेको अवस्थामा उनी मजदुरी गरी बिरामी परेकी ६० वर्षीया श्रीमती छितु सोरेनको हेरचाह गर्दै जसो त्यसो छाक टार्दैछन् ।

स्थानीय जुद्धाविर भुजेलको जमिनमा छाप्रो बनाएर बस्दै आएका सोरेन दम्पतीको दुःखदायी अवस्था देखेर भद्रपुर–२ स्थित जीवन विकास लघुवित्त वित्तीय संस्था पृथ्वीनगरले श्रमदानमार्फत टिनको बेरा र छानो हालेर एउटा कच्ची घर निर्माण गरिदिएको छ ।

सो घर बिहीबार एक संक्षिप्त कार्यक्रमका बीच सोरेन दम्पत्तीलाई हस्तान्तरण गरिएको छ । ३ नम्बर वडा अध्यक्ष हेमबहादुर कार्कीले सोरेन दम्पत्तीलाई घरको ताला चाबी हस्तान्तरण गरेका थिए ।

संस्थाको ५ औं वार्षिक उत्सवको अवसरमा सोरेन दम्पत्तीलाई घर बनाइदिएको संस्थाका शाखा प्रमुख मनिषा भण्डारीले जानकारी दिइन् । ‘जीवन विकासको आव्हान देश विकासमा श्रमदान’ भन्ने नाराका साथ यस वर्ष श्रमदानमार्फत सोरेन दम्पतीको घर बनाइदिएको शाखा प्रमुख भण्डारीले बताइन् । घरमा निर्माणमा लागेको सम्पूर्ण खर्च संस्थाले दिएको बताउँदै उनले भनिन्, ‘वेसाहारा उनीहरूको कोही पनि छैन, एउटा छोरा त्यो पनि जेलमा छ, जनमजदुरी गरी गुजारा चलाउँदै आएको छ ।’

‘श्रीमती सिकिस्त बिरामी, हिनडुल गर्न पनि सक्दिनन्, उनीहरू बस्दै आएको छाप्रो जस्तो घरको अवस्था पनि त्यस्तै थियो, त्यही भएर घर निर्माण गरिदिएको हो,’ उनले थपिन् । घर निर्माणमा स्थानीयबासी, जनप्रतिनिधि, पिस सोसाइटी, एभर ग्रिन, सगरमाथा थ्री जिरो क्लबले श्रमदानमार्फत सहयोग गरेको उनले भनिन् ।

संस्थाले घर बनाइदिएपछि खुसी हुँदै सोरेन दम्पतीले संस्थालाई धन्यवाद दिएका छन् । ‘छाप्रोमा बस्दा बर्खामा पानी चुहिने पस्ने समस्या थियो, अहिले टिनको बेरा हालेको घरमा पाउँदा एकदमै खुसी छु,’ रामबहादुरले भने ।

यता वडा अध्यक्ष कार्कीले सोरेन दम्पतीको नाममा जमिन नहुँदा नगरपालिकाको सन्थाल आवास कार्यक्रमबाट वञ्चित हुनु परेको बताए । नगरपालिकाको आवास कार्यक्रमबाट वञ्चित भएका परिवारलाई लघुवित्त संस्थाले घर बनाइदिएकोमा उनले समेत संस्थालाई धन्यवाद दिएका छन् ।

आवास कार्यक्रमबाट वञ्चित भएपनि सोरेन दम्पत्तीलाई वडा कार्यालयले अन्य सरसहयोग गरिरहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here