झापा गोल्डकप : प्रतिष्ठा र गौरव

0
9

खेलकुदको माध्यमबाट कुनै पनि देशको पहिचान स्थापित हुनसक्छ । यसले देशको शान, मान, गौरव पनि प्रवद्र्धन गर्छ । खेलकुदले नै एउटा अनुशासित र शारीरिक तथा मानसिकरुपमा स्वस्थ नागरिक उत्पादन गर्छ । त्यसमा पनि स्वास्थ्यलाई मानिसको सर्वोत्तम सम्पत्ति मानिएको छ, यद्यपि यसले अनन्त आवश्यकता पूर्ति गर्दैन । तर, यदि मानिस शारीरिक तथा मानसिक रुपले अस्वस्थ छ भने उसँग भएको धन–सम्पत्ति निरर्थक हुन्छ । त्यसैले स्वस्थ शरीरलाई मानिसको सम्पूर्ण सुख र आनन्द मानिएको हो । त्यसैले कुनै पनि समाज र समाजका अगुवाहरु खेलकुदका विभिन्न क्षेत्रको विकासमा कुनै न कुनै रुपले जोडिएका हुन्छन् । खेलकुदले सामाजिक एकता कायम गर्न र समृद्ध समाज निर्माणमा ठोस योगदान दिने भएकाले पनि त्यसको विकासका लागि स्थानीय वा केन्द्रीय तहमा ठोस नीति र दृष्टिकोण बनाएर कार्यक्रमहरु सञ्चालन गरिन्छ ।

झापा जिल्ला खेलकुदको क्षेत्रमा देशमै बेग्लै पहिचान स्थापित गरेको जिल्ला हो । झापाको शनिश्चरे, भद्रपुर र धुलाबारीमा विगतमा देशी–विदेशी टिमहरुको सहभागितामा ठूला–ठूला फुटबल प्रतियोगिताहरु सञ्चालन हुन्थे । खासगरी भारतका प्रशिद्ध टिमहरु समेत यहाँका प्रतियोगितामा सहभागी हुन लालयित हुन्थे । त्यसै पनि खेलकुदका विविध विधामध्ये फुटबल विश्वमै सर्वाधिक आकर्षक खेल हो, त्यसमा पनि प्रतियोगिता धेरै दिनसम्म सञ्चालन हुने भएकाले, बुझ्न सहज र प्रतिष्पर्धी हुने कारणले यसको लोकप्रियता झनै बढ्नु स्वभाविक हो । खेलको महŒव र फाइदाको बारेमा सबै जानकार हुने भएपछि फुटबल खेल सबै उमेर, वर्ग र समुदायका मानिसको सहभागिता बढिरहेको छ । बिस्तारै खेलकुदका अन्य विधा जस्तै सर्वाधिक लोकप्रिय फुटबल खेल जीवन निर्वाहको माध्यम बन्न थालेपछि खेलाडीहरु पनि व्यावसायिक बन्दै जान थालेका छन् ।

नेपालमा खेलकुदको विकासमा भएका गतिविधिहरु व्यवस्थित हुन सकिरहेका छैनन् । खेलाडीलाई प्रोत्साहन, अवसर, ऊर्जा, संरक्षण र प्रवद्र्धनका कार्यक्रम प्रभावकारी हुन नसक्दा यसबाट अपेक्षित लाभ लिन सकिरहेको छैन । तर, पछिल्लो समय खेलकुदको विकास, खेलाडीको संरक्षण तथा खेल क्षेत्रको प्रवद्र्धनका निम्ति आयोजना हुन थालेका प्रतियोगिताहरुले सकारात्मक योगदान दिन थालेका छन् । यसकै उदाहरण हो कि खेलमैदान निर्माण, स्तरोन्नति, पूर्वाधार विकास र व्यावसायिकतातर्फ उन्मुख हुन थालेको संकेत । विकसित देशहरुले यसकै व्यवसायिकताबाट समग्र अर्थतन्त्रमा सुधार गर्न थालेका छन् । यसले रोजगारीको अवसर निर्माण गरेर देशकै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गरेका छन् ।

खेलाडीले वैयक्तिक कला उद्घाटन गर्न सक्ने रंगमञ्च भनेको फुटबल खेल हो । विश्वव्यापी रुपमै फुटबलप्रति मोह बढ्नुको मुख्य कारण हो, यसलाई बुझ्न कुनै भाषाको पनि आवश्यकता पर्दैन । यही सन्दर्भमा झापाको बिर्तामोडमा हुन लागेको अर्ना छैठौं झापा गोल्ड कप चर्चामा रहेको छ । नेपालका चर्चित फुटबल क्लव, संकटा, मच्छिन्द्र, एनआरटी, चर्च बोइज, एन्फा मकवानपुर तथा विभागीय टोलीहरु एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव लगायत झापा–११ फुटबल क्लवसहित दश वटा टीम सहभागी हुने प्रतियोगिता झापाली दर्शकका लागि प्रतिक्षाको विषय बनिएको छ । मोफसलको सर्वाधिक नगद राशिको पुरस्कार भएको प्रतियोगिताको विजेताले तेह्र लाख रुपैयाँ र उपविजेताले सात लाख र ट्रफी प्राप्त गर्नेछन् । यस बाहेक खेलभित्रका विशिष्ट खेलाडीहरुलाई उत्कृष्ट खेलाडी सम्मान पनि प्रदान गरिने गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताएका छन् । झण्डै डेढ करोड रुपैयाँमा सम्पन्न हुने प्रतियोगिताको भव्य सफलता बिर्तामोडको प्रतिष्ठासँग जोडिएको छ । त्यसैले बिर्तामोड नगरपालिका लगायत यहाँका संघ–संस्था तथा अगुवाहरु यसको सफल र भव्य सम्पन्नताका आधार बन्नु पर्दछ ।

झापा गोल्ड कप समग्र झापाको गौरव हो । तसर्थ, सबैले यसप्रति अपनत्व ग्रहण गर्नुपर्छ । सामुहिक योगदानबाट मात्रै यस्ता सार्वजनिक समारोहहरु सफल हुने र यसले जिल्लाकै पहिचानलाई बलियो बनाउने भएकाले आयोजक समितिको उत्साह र समर्पणप्रति सबैले ऐक्यबद्धता जनाउनु पर्दछ । यसमै झापाबासीको प्रतिष्ठा जोडिएकाले प्रतियोगिता भव्यतापूर्वक सम्पन्न गराउन मन, बचन र कर्मले हातेमालो गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here