जीवमैत्री कानूनको खाँचो

0
7

पृथ्वी सम्पूर्ण प्राणी तथा वनस्पती जगतको साझा घर हो । यसको सुरक्षामा मानव जातिको जीवन सुरक्षित हुन्छ । र, मानव जाति नै सचेत र बुद्धिमान हुने कारणले पृथ्वीको रक्षा मानवकै अग्रसरतामा मात्र सम्भव हुन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा एक दशकअघि आज अर्थात् मार्च ३ लाई विश्व वन्यजन्तु दिवसका रुपमा मनाउन थालिएको हो । सोही आह्वान अनुसार आज विश्वभर खासगरी वन्यजन्तुको सुरक्षा र सम्बद्र्धनमा केन्द्रीत रहेर विविध कार्यक्रम सञ्चालन गरिन्छ । विश्वको बढ्दो जनसंख्याको चाप हाम्रा वनजंगलमा पर्ने भएकाले वन क्षेत्र प्रत्येक वर्ष साँघुरिन थालेको छ । वन क्षेत्र अतिक्रमण हुँदै जाँदा त्यहाँ रहेका वन्यजन्तु पनि क्रमशः लोप हुने अवस्थामा पुग्न थालेका छन् । एउटा अनुसन्धानले जनसंख्या वृद्धिसँगै अस्तित्वमा रहेका पाँच सय प्रजातिका जीव र झण्डै तीस हजार प्रजातिका वनस्पति लोप हुने अवस्थामा पुगेका छन् ।

यही क्रम बढेर जाने हो भने जैविक विविधता नष्ट हुने मात्र होइन यो पृथ्वी मानव जातिका लागि बासयोग्य रहने छैन । सम्पूर्ण प्राणी वनस्पति एकअर्काका पूरक हुन्, त्यसैले तिनको समान उपस्थितिमा मात्र मानव जातिको अस्तित्व पनि सुरक्षित हुनसक्छ । कुनै एउटामा सन्तुलन बिग्रिना साथ वातावरणीय असन्तुलन हुन जान्छ र सचेत भएका कारण मानव जातिले त्यसको क्षति व्यहोर्न बाध्य हुनु पर्दछ । त्यसैले वन्यजन्तुको संरक्षण गर्दै सहकार्य, समन्वय र सहअस्तित्वको महत्वलाई स्वीकार गरी आफूसँगै पृथ्वीको सुरक्षामा मानिस नै जिम्मेवार बन्नुपर्छ । नेपालमा पछिल्लो समय एकातिर वन मासिँदैछ अर्कातिर वन्यजन्तुको चोरीशिकारी तथा पैठारी बढ्दैछ । आर्थिक लाभका लागि गरिने यस्तो कार्यबाट कतिपय जीव लोप हुने अवस्थामा पुगेका हुन् ।

वन्यजन्तु पर्यटकीय आकर्षणका पनि केन्द्र हुन् । खासगरी विदेशी पर्यटकहरु हाम्रा वनजंगलमा दुर्लभ वन्यजन्तु हेर्न र तिनका बारेमा अध्ययन गर्नैका लागि आउँछन् । यसले विदेशी मुद्रा आर्जन गर्न मद्दत गरेको छ भने अन्य धेरै प्रत्यक्ष लाभ पनि दिएको छ । यता भौतिक विकासका नाममा हुने गरेको वन विनाशले जीवजन्तुको बासस्थान खुम्चिँदा यिनको उपस्थिति नै हराउने, पलायन हुने जस्तो जोखिम पनि बढ्दै गएको छ । वातावरणीय क्षतिले मानव स्वास्थ्यमा प्रतिकूलता थपिँदैछ । जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वन्यजन्तुको विनाश अहिलेको मुख्य मुद्दा हो, जसको समाधानका निमित्त पनि आजको यो दिवस सान्दर्भिक छ । पर्यावरणीय दृष्टिले मानव अस्तित्वका लागि जीवजन्तुहरुको उपस्थिति अनिवार्य हुने भएकाले जीवमैत्री कानून वर्तमानको आवश्यकता हो । त्यही आवश्यकता परिपूर्ति गर्न वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतना जगाउन मनाउन थालिएको विश्व वन्यजन्तु दिवसले पृथ्वीका सबै जीवजन्तुहरुको सुरक्षामा योगदान दिन सक्नु पर्दछ । अनि मात्र मानव जातिको अस्तित्व पनि सुरक्षित रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here