बत्तीले जतिसुकै तेजिलो प्रकाश दिएता पनि त्यसको मुनि भने उज्यालो कमै पुग्दछ । त्यसैले भनिन्छ– बत्तीका फेदमा अध्याँरो । त्यस्तै भएको छ सन्त कवि ज्ञानदिलदासको जन्म थलो इलामको फाकफोकथुम–३ आमचोक ।
बुबा स्याउनन्द (जयनन्द) र आमा बल्लाभको पाँच छोराहरु मध्ये कान्छा सुपुत्रका रुपमा १८७८ सालमा आमचोकको जोरधारास्थित लामिछाने परिवारमा (बाल्यकालको नाम श्रीकृष्ण लामिछाने)को जन्म भएको थियो । उनी एक बिशिष्ट व्यक्तित्व थिए । तर, उनलाई त्यही ठाउँले चिनेन, प्रचार हुन सकेन र ओझेल परे । श्रीकृष्णको प्रारम्भिक शिक्षादीक्षा घरमा नै गुरुकुलीन पद्धतिबाट भयो । त्यसपछि जब उनी पाँचथर नांगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए तब उनको नाम ज्ञानदिल दास रह्यो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त साहित्यका प्रकाण्ड विद्वान थिए ।
त्यसपछि जोसमनी धर्म प्रचार–प्रसार गर्दै ओखलढुंगा पुगेका ज्ञानदिल दासको छोरा वि.सं. १९३५ सालमा रविदिल दास रुम्जाटारमा जन्मेका हुन् । उनले पनि जोसमनी धर्म, आचार, विचार र समाजसेवामा जीवन बिताए । त्यसैकारण रुम्जाटारेमा पनि ज्ञानदिलदासको शालिक निर्माण भएको छ । रुम्जाटारको गुरुङबस्तीमा उनले आफ्नो मुख्य बासस्थान कायम गरे । जोसमनी मत कर्मकाण्डको विरोधी, जातपातको भेदभाव नराख्ने, मूर्तिपूजालाई महत्त्व नदिने भएकाले यो ठाउँ उनका लागि उपयुक्त पनि बन्न गयो । उनले लेखेका छन्–
यो रुम्जाटयरको कोदाको पीठो निर्गुन्को दाउन ।
धर्म र कर्म गुरुङले गयो छक् प¥यो बाउन ।।
हीराको दर्बार सुन गरिपर्वर छक् प¥यो बाउन ।
ज्ञानदिल दास ब्राह्मण भए पनि कुकर्म गर्ने ब्राह्मणकै निन्दा गर्न उनी पछि परेनन् । उनी सत्कर्मका प्रशंसक र दुष्कर्मका निन्दक थिए । साहित्यिक व्यक्तित्व ज्ञानदिलदासले कति लेखे यो अनुसन्धानकै विषय भए पनि हालसम्म प्राप्त उनका रचनाहरू उदयलहरी (काव्य) भजन संग्रहमा झ्याउरे भजन, टुङ्ना भजन, रागवाणी, अन्य भजन, निर्गुन, निर्गुनवाणी, राजनिर्गुन, सतगुरुवाणी, आरती, नीति भजन आदि निकै फुटकर रचना छन् । उत्तराद्र्ध दार्जिलिङ र सिक्किममा बिताएका गुरुको निधन वि.स. १९४० कार्तिक २५ गते भएको थियो । वि.स. २०३६ सालमा नेपाल सरकारले उनको नामको हुलाक टिकट प्रकाशन गरेको थियो । त्यसपछि कुनै चर्चा अगाडी बढेन । बरु, पश्चिम सिक्किमको गेलिङ जहाँ सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेका थिए आज तीर्थस्थल बनेको छ र त्यो गेलिङधामले प्रसिद्ध छ ।
२०५८ साल मंसीर १६ र १७ गते पूर्वी नेपालको दमक नगरपालिकामा सम्पन्न ऐतिहासिक प्रथम जोसमनी धर्म सम्मेलनबाट डा. स्वामी प्रपन्नाचार्यको प्रधान सम्पादनमा प्रथम स्मारिकामा प्रकाशन भएको थियो । उक्त स्मारिकामा ज्ञानदिल दासको पुख्र्यौली थलो, जन्मघर, ध्यान गरेको चित्रेगुफा, ढाँडबारी गुफा र गोहोरे ढुंगा, जोरधारा, रुम्जाटार महाप्रभु ज्ञानदिलदास साधना स्थल लगायतको तस्वीर र विवरण पनि समावेश गरिएको छ । पछिल्लो समय नेपालमा स्थानीय सरकार बन्यो । त्यसपश्चात इलाम आमचोकको लामिछाने गाउँस्थित जोरधारा क्षेत्रमा शालिक र प्रतिमाका साथै मन्दिर पनि निर्माण भएको छ ।
कसरी भयो गेलिङ–आमचोकको सम्पर्क ?
इलामको पर्यटन प्रवद्र्धन गर्न ‘चलो इलाम’, ‘घुम्न जाउँ इलाम’ र ‘भिजिट इलाम’ नाम दिएर भारतको विभिन्न ठाउँमा इलामका पर्यटन तथा होटल व्यावसायी र सञ्चारकर्मी २०८० जेठ २६ गते भारत पुगेका थिए । शिलगडी, सिक्किमको नाम्ची र गान्तोकमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा स्थानीय सरोकारवालहरु पनि जुटेका थिए । त्यहाँका पर्यटन सरोकारवालासँग इलामका विभिन्न पर्यटकीय गन्तव्यको चिनारी गराउँदै अन्तरक्रिया साथै कुराकानी भयो । यसैक्रममा इलामलाई कसरी चिनाउने प्रसंगमा इलामका सञ्चारकर्मी प्रकाश नेपालले इलाममा जन्मिएका ज्ञानदिल दासको माध्यमबाट पनि यहाँको पर्यटन विकास गर्न सकिने बताएपछि होटल व्यावसायी संघ ग्यान्टोककी अध्यक्ष श्रद्धा शर्मा यस बारेमा निक्कै चासो देखाइन् ।
त्यसपछि उनले सञ्चारकर्मी नेपालसँग ज्ञानदिल दासका बारेमा थप कुरा अगाडि बढाउँदै पश्चिम सिक्किमको गेलिङ्रुगमा गुरु ज्ञानदिल धाम मन्दिर रहेको बताइन् । उनका बुबा गोविन्द शर्मा यस धामका प्रवन्धन समितिका अध्यक्ष रहेको जानकारी दिइन् । त्यसबेला अध्यक्ष शर्मा कलकत्ता गएका कारण सञ्चारकर्मी नेपालले छोरी श्रद्धासँग फोन नम्बर मागेर सम्पर्क बढाए । त्यसपछि उनीहरुको संवाद भयो । अध्यक्ष शर्माले गुरु ज्ञानदिल दास नेपालमा जन्मिएको थाहा पाएता पनि कुन ठाउँमा हो भनेर खोजी गरिरहेको बताउँदै उनको समाधी भने गेलिङ्ग सामसिङ्ग, सोरेङ सिक्किम भारतमा भएको सुनाए । नेपालमा फर्किएपछि सञ्चारकर्मी नेपालले यो कहानी इलामको फाकफोकथुम गाउँपालिका र सरोकारवालालाई जानकारी गराएर दुई क्षेत्रको सम्बन्ध जोड्न पहल थाले ।
इलामको टोली पर्यटन प्रवद्र्धनमा भारत पुगेको दुई महिना पश्चात साउन २६ गते सञ्चारकर्मी नेपालको समन्वयमा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, ज्ञानदिल दास प्रतिष्ठान, इलामका अध्यक्ष गुरुभक्त लामिछाने, ३ नम्बर वडाध्यक्ष दिपेन्द्र लिम्बू, पालिकाका कर्मचारी, साहित्यकार तथा खोज अन्वेषक डा. देवी क्षेत्री दुलाल, लामिछाने बन्धुहरु र पत्रकार प्रकाश नेपाल सिक्किमको गेलिङ्ग धाम पुगेका थिए । इमेज, हिमशिखर टेलिभिजन र हिमालयन टाइम्स इलाम संवाददाता साथै स्थानीय अनलाइन नयाँ बुलन्द डटकमका उप–सम्पादक समेत रहेका पत्रकार नेपालले भइरहेका गतिविधिहरु सञ्चारमाध्यममा प्रचार–प्रसार शुरु गरे । त्यस ठाउँको अवलोकन लगत्तै गुरु ज्ञानदिल दासका अनुन्यायीहरुलाई नेपाल आउन निम्तो दिएका स्थानीय सरकार प्रमुख खनाल र सरोकारवालाले फाकफोकथुमलाई धार्मिक, सहित्यिक, सांस्कृतिक, सामाजिक र पर्यटनको माध्यमबाट प्रचार गर्दै यसको प्रवद्र्धमा सिक्किमसँग जोडिने प्रक्रिया अघि बढाए ।
पछिल्लो समय फाकफोकथुम गाउँ कार्यपालिकाको बैठकबाट गुरुको जन्मस्थलमा निर्माण भएको शालिक अनावरण, त्यसै ठाउँमा बनेको मन्दिर उद्घाटन तथा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन गर्ने निर्णय गर्दै सिक्किमका पाहुनालाई निमन्त्रणा पठाए । फलस्वरुप फागुन ११ र १२ गते आमचोकमा आयोजित सम्मेलनमा गुरु ज्ञानदिल धाम मन्दिर प्रबद्र्धन समिति गेलिङ्गका अध्यक्ष गोविन्द शर्माको नेतृत्वमा डाक्टरहरुसहित ४० जना गुरुका अनुन्यायी आएर भव्य सम्मेलन सम्पन्न भयो । यसै समयमा उनकै परिवारका खनाती पर्ने ९१ वर्षीया केदारनाथ लामिछानेले भने– ‘हामीले वहाँका बारेमा थोरै जान्ने मौका पायौं, अरु कसैले बताई दिएन त्यही भएर पूर्खा ज्ञानदिल दासलाई भक्खर मात्रै भेउ पाउँदैछौं ।’
२०२ वर्ष अगाडि आमचोकमा जन्मिएका गुरुको जन्मथलो बत्तीका फेदमा अध्याँरो थियो । तर, जब सिक्किम गेलिङ्ग धाम मन्दिरका अनुन्यायी आमचोक आए तब उजागर बन्न थालेको छ । ज्ञानदिल दासको जन्म स्थललाई धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले गाँउपालिकाले काम शुरु गरेको पालिका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिए । गुरु ज्ञानदिल दासको जन्मभूमि आमचोक र समाधी स्थल सिक्किमको गेलिङ धामलाई एकरुपता ल्याउने गरी दुबैतर्फका स्थानको प्रबद्र्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता समेत जनाएका छन् ।