पहिलो ओलम्पियन महिला मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान

0
5

बिर्तामोड ।

पहिलो झापाली ओलम्पियन महिला मेनुका राउतलाई उत्कृष्ट नारी सम्मानबाट सम्मानित गरिने भएको छ । राउतलाई वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवले ‘उत्कृष्ट नारी सम्मान’ प्रदान गर्ने भएको हो ।

नारी दिवसको अवसरमा फागुन २२ गते बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी ओलम्पिक खेलमा पहिलो पटक एथलेटिक्स खेलका लागि सहभागी राउतलाई सम्मान गर्न लागिएको आइतबार पत्रकार भेटघाटमा जानकारी दिइयो ।

मेचीनगर ७ झापा निवासी मेनुका सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना भएको विश्व ओलम्पिकमा पहिलो पटक सहभागी भएकी थिइन् ।

मेनुकाले १२ वटा अन्तर्राष्ट्रिय तथा ६ वटा राष्ट्रिय एथ्लेटिक्स खेलमा सहभागी भएर विभिन्न पदक प्राप्त गरेकीछिन् । उनले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गर्न लागिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले जानकारी दिइन् ।

सम्मान कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङ रहने आयोजकले जनाएको छ । झापामा रहेका जेसीज शाखाहरु र चार दर्जन बढी महिला संघसंस्थाहरु कार्यक्रमको सहआयोजक रहने बताइएको छ ।

सन २००४ मा स्थापित वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लब सन् २०२१ मा स्थापना भएको हो । यस अघि राजनीतिक व्यक्तित्व तथा समाजसेवी स्व. गिरिराज कुमारी प्रसाई, झापाको पहिलो महिला प्रधानाध्यापक शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायको पहिलो महिला पाइलट जिना लिङ्देनलाई क्लबले सम्मान गरिसकेको क्लबकी सचिव संगीता गिरीले जानकारी दिइन् ।

पूर्व अध्यक्षहरुको सक्रियतालाई निरन्तरता राख्ने उद्धेश्यले गठित क्लबमा १८ जना पूर्व अध्यक्षहरु आवद्ध रहेका छन् । वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान गर्ने महिलालाई उत्कृष्ट नारी सम्मान २०८० द्वारा सम्मान गर्ने बतााइएकाो छ ।

११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर राउतलाई उत्कृष्ट नारीको सम्मान प्रदान गरिने वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष सिटौलाले बताइन् । उनका अनुसार उत्कृष्ट नारी प्रतिभा छनोट गर्न झापाका अग्रज सामाजिक व्यक्तित्व लोकराज ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

समितिमा वीरता जेसीजका पूर्व अध्यक्ष युवराज दाहाल र नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी सदस्य रहेका थिए । छनोट समितिका तर्फबाट पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष भण्डारीले उत्कृष्ट नारी प्रतिभाको नाम सार्वजनिक गरेकी हुन् ।

२०२१ देखि वीरता लेडी जेसीजले पूर्व अध्यक्ष क्लबमार्फत उत्कृष्ट नारी सम्मानको कार्यक्रम सुरु गरेको थियो । विभिन्न क्षेत्रमा रहेका अब्बल महिलाको मेहनत र योगदानको कदर स्वरूप पूर्व अध्यक्ष क्लबले निरन्तर उत्कृष्ट नारी सम्मान प्रदान गर्दै आएको पूर्व अध्यक्ष स्वस्तिका आचार्यले बताइन् ।

पूर्व अध्यक्ष क्लबको आयोजना र झापाका करिब ५० भन्दाबढी महिला संघ संस्थाको सह आयोजनामा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । झापाभर रहेका जेसीज शाखाहरू पनि यो कार्यक्रमको सह आयोजक रहने गर्छन् । गतवर्ष नागरिक उड्डयनको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेकी महिला पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान २०७९ द्वारा सम्मान गरिएको थियो ।

पूर्व अध्यक्ष क्लबकी निवर्तमान अध्यक्ष राधा सुब्बाले पूर्व अध्यक्षहरूको सक्रिय योगदानका कारण यो कार्यक्रमले निरन्तरता पाइरहेको बताइन् ।खेलकुदका माध्यमबाट आफूलाई स्थापित गर्दै राष्ट्रको गरिमालाई समेत उँचो राख्न सहयोग गर्ने महिला खेलाडीलाई यसवर्ष सम्मान गर्न लागिएको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी सचिव एवम् निवर्तमान अध्यक्ष संगीता गिरीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here