पथ निर्देशक महान् शहीदलाई नभुलौं

२१ फाल्गुन २०८०, सोमबार मा प्रकाशित

‘सुखानीको रगतले भन्छ हामीलाई,
सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’

५१ वर्षअघि अर्थात् २०२९ साल फागुन २१ गते झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ । गीतका यी शब्दहरुले आफ्नो कर्तव्य नभुल्न हामीलाई सचेत गराइरहेका छन् ।

भारत नक्सलबारी आन्दोलनका नेता चारु मजुम्दारको प्रेरणा र अन्धनक्कलबाट वि.सं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिस्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’को रुपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो । आज हामी खुला रुपमा आफ्ना विचारहरू राखिरहेका छौं । गौरव र स्वाभिमानका साथ शिर ठाडो पारेर स्वतन्त्रता र लोकतन्त्रका गीतहरू गाइरहेका छौं । आजको यो सहज अवस्था सृजना गर्न सयौं हजारौं महान् देशभक्तहरूको त्याग, शौर्य र शहादतले प्रमुख भूमिका खेलेको छ । आफ्नो पूरा आयु नबाँची देश र देशवासीका लागि आफ्नो जीवनको बलिदान गरेर अतुलनीय योगदान गरे शहीदहरूले । उनीहरुको नाम स्वर्ण अक्षरले इतिहासमा अंकित छ ।

इमान्दार र स्वाभिमानी प्रवृत्तिका शहीदहरूले आफ्नो जीवनको कुर्बानी गरेर देशले के पायो र देशवासीले के पाए भन्ने प्रश्न यक्षप्रश्न बनेर हाम्रोसामु उभिएको छ । घनान्धकारमा चाँदनी झैं प्रकाश छर्ने शहीदहरूको बलिदानले मुलुकका विपन्न र दुःखीका अनुहारमा कान्ति आयो ? स्वाभिमानलाई लिलामी नगरी लाल रगत धर्तीमा पोख्ने शहीदका बलिदानले आजका कलिला नानीका गालामा लाली ल्यायो र भनेर पनि प्रश्न गरिन्छ ।

स्वतन्त्रताप्रतिको अगाध आस्थासहित दृढ़ संकल्प बोकेर देशमा व्याप्त अत्याचारका बिरुद्धमा बिगुल फुक्ने शहीदको पुकार आजको सरकारले सुनिरहेको छ ? राष्ट्रव्यापी रुपमा गणतन्त्रका लागि सडकमा उत्रेका आन्दोलनकारीले लगाएका गगनभेदी नाराको आज सार्थकता के भयो ? वैचारिक रुपमा लोकतन्त्र र गणतन्त्रका लागि हाँसीहाँसी तातो गोली थापेका नेपाल आमाका सर्वोत्तम सन्तानहरुको रगतको मूल्यको कसले खोजी गरिरहेको छ ? मुठी उचालेर क्रान्तिकारी बाटो चुन्नु भन्न जति सजिलो छ, व्यवहारमा त्यति नै अप्ठेरो छ ।

मानिसका लागि आफ्नो जीवनभन्दा प्यारो केही हुन्न, तर शहीदका लागि त मुलुक र मुलुकवासी आफ्नो प्राणभन्दा प्यारा भए । भोका–नांगा जनताका लागि सहानुभूति देखाउनु र उनीहरुका लागि जीवनको न्यौछावर गर्नु चानचुने कुरा होइन । पाँच शहीदसहित मुलुकमा लोकतन्त्र, स्वतन्त्रता र समानताका लागि जीवन बलिदान गर्ने ओजस्वी विचारका धनी शहीदहरूले दिशानिर्देश गरेको बाटोमा आज मुलुक हिंडिरहेको छ कि छैन, आज हामीले घोत्लिनुपर्ने बेला आएको छ ।

जनविरोधी, निरंकुश सत्ता र सरकारका बिरुद्धमा सक्रिय भूमिका निभाउने क्रममा संगठनकर्ताको रूपमा क्रांतिकारीले दिनरात काम गरे, आफ्नो नीति एवम् उद्देश्यहरुको प्रचारप्रसार गरे र सार्वजनिक स्थानमा सत्ताको भण्डाफोर गरे । लोकतन्त्र विरोधी सरकार बौलाएर सकारात्मक सोचका धनी नेपाल आमाका हजारौंहजार सन्ततिमाथि गोली बर्षायो र वर्षौंवर्षसम्म जेलभित्रका सेलहरुमा बन्दी बनायो । निरंकुश शासकका अभेद्य जाल च्यातेर अकरिला उकालो हिँड्दा शहीदहरु कहिले पनि शिर निहुराएर लत्रेनन् । अधिनायकवादी सत्ताका पिठ्ठूहरुको कोपभाजनमा परेकाहरुलाई सम्झना गर्नु भनेको एक पटक गणतन्त्रको संस्थागत विकास भयो कि भएन नेपालमा भनेर चिन्तन–मनन गर्नु हो ।

स्वतन्त्रताका लागि बलिबेदीमा चढेका नौजवानहरु नेपाल आमाका लागि शहीद भएका हुन् । हामी सदैव उनीहरुको ऋणी रहने छौं । नेपाल आमाका वीर सपूत र क्रान्तिकारीहरुको असीम त्याग र समर्पणका कारणले नै आज हामी अहिलेको अवस्थामा छौं । त्यसैले ‘शहीद’ कवितामा कवि भूपि शेरचन भन्छन्– ‘हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा धड्कन छ शहीदको ।’ यतिबेला कवि भूपिले लेखे जस्तै हामी प्रत्येक नेपालीले शहीदको बलिदानको सार्थकताको खोजी गर्नु र आत्मचिन्तन गर्नु जरुरी छ ।

सुखानीका पाँच क्रान्तिकारीलाई शहादतको ४३ वर्षपछि २०७२ साल फागुन १९ गते तत्कालीन प्रधानमन्त्री र सुखानीका शहीदका सहयोद्धा केपी शर्मा ओलीको पहलमा मन्त्रिपरिषद्ले शहीद घोषणा गरेको थियो । मनमोहन अधिकारीको नेतृत्वमा रहेको पूर्व कोशी प्रान्तीय कमिटीबाट विद्रोह गरी २०२८ सालमा आर.के. मैनालीको नेतृत्वमा झापामा सशस्त्र आन्दोलनको घोषणा गरिएको थियो । आरके बिरामी भएपछि सोही सालको उत्तराद्र्धतिर पार्टी पुनर्गठन गरेर झापा जिल्ला कोअर्डिनेशन कमिटी गठन गरिएको थियो ।

२०० सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको गठन भए पनि मुलुकभर कम्युनिस्ट समूह विभाजन र अवसरवादका कारण सुस्ताएको बेला झापाका युवा क्रान्तिकारीले झापा विद्रोहको साहसिक बाटो रोजेर नयाँ ढङ्गले आन्दोलनलाई जगाएको थिए । त्यतिबेला पञ्चायतको बर्बर शासन थियो, गाउँहरुमा जमिन्दारहरूको शोषण र उत्पीडन सहिनसक्नु अवस्थामा थियो । झापा आन्दोलन सामन्तवाद, अवसरवाद र संशोधनवादको बिरुद्धको गर्जन थियो ।

बीसको दशकको मध्यबाट दुई दर्जनभन्दा बढी टुक्रामा विभक्त नेपालको कम्युनिस्ट आन्दोलन सुस्ताएको अवस्थामा थियो । कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दै अघि बढेको झापा विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जंगलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो । सोही विद्रोहका जगमा नेकपा (माले) हुँदै आजको नेकपा (एमाले) बनेको हो । सुखानीमा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमूना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ । पाँच योद्धाको हत्या गरिएकै स्थानमा अहिले शहीदकै संख्याका पाँच रुखसँगै जोडिएर हुर्केका छन् । घटनास्थललाई शहीद स्मारकका नाममा संरक्षण गरिएको छ । शासकहरुले क्षमा मागेर आत्मसमर्पण गर्न गरेको उर्दीलाई लल्कार्दै पाँचै योद्धाले सुखानीको जङ्गलमा हाँसी–हाँसी बलिदान स्वीकारेका थिए । पञ्चायती शासकहरुसँग आत्मसमर्पण गरेको भए उनीहरुको ज्यान जोगिन सक्थ्यो होला, तर बलिदानी भावनाले ओतप्रोत झापाका क्रान्तिकारीहरुले पञ्चायतसँग झुक्नुभन्दा मृत्युलाई रोजे । तसर्थ, सुखानीको रगतले सही बाटो हिँड्नका लागि सदैव अभिप्रेरित गरिरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here