जय झापा गोल्डकप

0
4

बिर्तामोडस्थित बिर्ताबजारमा रहेको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि झापा गोल्डकप छैठौं संस्करण शुरु भएको छ । झापाको शानका रुपमा प्रतिष्ठित हुन थालेको सो रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले एक भव्य समारोहका बीच गरेका थिए । बिर्ताबजारस्थित देवी मन्दिरको व्यवस्थापनका निम्ति स्थानीय डोमालाल राजवंशीद्वारा निःशुल्क प्रदान गरिएको जग्गामा हाल रंगशाला रहेको छ । यद्यपि सो जग्गा केही भूमाफियाको मिलेमतो, चलखेल र षडयन्त्रका कारण कानूनी रुपमा निजी बनाइएको छ । धार्मिक एवम् परोपकारी भावनाले प्रदान गरिएको जग्गा व्यक्तिका नाममा दर्ता भएको सार्वजनिक हुनासाथ स्थानीय सचेत र अगुवाहरु त्यसको बिरोध गर्दै अदालत पुगेका थिए ।

अहिले सो जग्गाको एक भागमा रंगशाला निर्माण गरी खेलकुदका गतिविधि सञ्चालन भइरहेको छ । तर, त्यसका लागि आवश्यक स्थायी संरचना प्राविधिक कारणले निर्माण हुन सकेको छैन । त्यसमध्ये हाल सञ्चालन भइरहेको झापा गोल्डकपमा घेराबारा तथा प्यारापिटको अभावमा बर्सेनि ठूलो धनराशि खर्च गर्नु परिरहेको छ । घेराबारा नहुँदा खेल मैदान पनि प्रत्येक वर्ष मर्मत–सम्भार गर्नुपर्दा खेलकुद नै महँगो हुने गरेको छ । यही असहजताका बीच बिर्तामोडका तन्नेरी तथा ऊर्जाशील व्यक्तित्व विनोद बस्नेत नेतृत्वको समितिले ठूलो जोखिम मोलेर छैठौं झापा गोल्डकप प्रतियोगिता सञ्चालन गरिरहेको छ । यसले अन्य युवाहरुमा समाजसेवाको गतिलो उदाहरण प्रस्तुत त गरेको छ नै सँगै जोश, जाँगर र उत्साह पनि थपेको छ ।

सभ्य समाज निर्माण र समाज रुपान्तरणमा केही व्यवधान त हुन्छन् नै, तिनलाई चिरेर अघि बढ्नु बहादुरी हो । त्यही बहादुरी देखाएका छन् बस्नेतले समवयी साथीहरु, स्थानीय सरकार, सम्बद्ध संघ–संस्था र स्थानीयबासीको सद्भाव, सहयोग र सहकार्यबाट । यही र यस्तै सहकार्यमा सभामुख घिमिरेले पनि साथ र सहयोगको प्रतबिद्धता जनाएका छन् । व्यक्तिगत तथा समाज अनि राष्ट्रकै स्वास्थ्य र समृद्धिका लागि आज खेलकुद अपरिहार्य भइसकेको छ । यस्तोमा विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबलको उर्वर र प्रभावपूर्ण जिल्ला र जिल्लाको पनि केन्द्रमा रहेको बिर्तामोडको शान विस्तार गर्न यो महाकुम्भ सफल हुनुपर्छ । त्यसका लागि सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध सबैको प्रभावपूर्ण अग्रसरता देखिनु पर्दछ । विगतका बाँसबारी छालाजुत्ता उद्योग र ललिता निवास जग्गालाई फिर्ता गराउन सफल भए जस्तै यो जमिन भूमाफियाको चंगुलबाट फिर्ता ल्याउन सक्नुपर्छ । दोषीहरुलाई कानूनी दायरामा ल्याउन र विधिको शासनको प्रत्याभूति गराउनुपर्छ । त्यसो भयो भने गोल्डकपका आयोजकहरुको उत्साहलाई अझै बढाउन र नयाँ प्रतिभाहरुलाई यस क्षेत्रमा आकर्षित गर्न योग दिनेछ । यसबाट खेलकुद पनि अन्तर्राष्ट्रिय चिनारी र राष्ट्रको समृद्धिको आधार हो भन्ने मान्यता बलियो हुन्छ, साथै बिर्तामोडको प्रतिष्ठा पनि अझै उज्यालिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here