असफलता उन्मुख भएकै हो !

0
7

मुलुक अहिले फेरि राजनीतिक तरंगले पिल्सिएको छ । त्यसो त दलहरुको दलीय तथा व्यक्तिगत स्वार्थका कारण लामो समयदेखि देशले निकास पाउन सकेको छैन । जनताको दैन्दिनी प्रत्येक दिन कष्टकर हुँदै गएको थियो । भ्रष्टाचारले जरो गाडेको थियो, आदर्श र नैतिकताको उदाहरण बन्नुपर्ने नेतृत्व र नेताहरु कमिशन, भ्रष्टाचार र अनैतिकताका पर्याय बन्दै थिए । सरकारका तीन वटै अङ्गहरु राजनीतिक स्वार्थको घेराबन्दी र संरक्षणमा थिए । आज त्यही विसंगति, विकृति र बेथिति अझै बलियो भएको छ । न्यायपूर्ण, कानूनी र विधिको शासनको उपहास भइरहेको छ ।

सरकार अस्थीर छ, देश अराजकतातर्फ उन्मुख छ । दण्डहीनता र संस्थागत भ्रष्टाचार सबै अङ्गमा व्याप्त छ । यहाँसम्म कि स्वतन्त्र न्याय सम्पादन गर्नुपर्ने न्यायपालिका पनि राजनीतिकरणको माखेसाङ्लोमा जेलिएको छ । प्रहरी, निजामती सेवा र संवैधानिक अङ्गहरुमै राजनीतिकरण छ । सरकार आफंै माफिया, तस्कर र भ्रष्टहरुबाट घेरिएको छ । यसले सरकारको क्षमता र कुशलतामा आमजनताले सवाल उठाइरहेका छन् । देश, समाज र जनताको शत्रु भनिने यी सबै दुर्गुणहरुबाट आजित जनता वाक्क भएका छन् र आक्रोश व्यक्त गरिरहेका छन् । अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा क्षयोन्मुख छ । विगतमा देशले प्राप्त गरेको सम्मान र विश्वासका आधारमा जसोतसो टिकेको सत्ता र सरकारले विश्वजगतबाट विश्वास गुमाउँदै लगेको छ ।

यही समय सरकार परिवर्तन भएको छ । बहुमत प्राप्त गर्न नसकेका दलहरुको अहंकार र गलत प्रवृत्तिले देशको समुन्नतिमा बाधा पु¥याइरहेको छ । निःस्वार्थ समाजसेवा भनिने राजनीति देश र जनताको हित तथा विकासमा उपयोग हुनुपर्नेमा यसलाई व्यावसायिक लाभ–हानीको विषय बनाइएको छ । हालको नेपालको राजनीतिको केन्द्रमा रहेका नेताहरुमा स्वच्छ चिन्तन र नैतिकताको खडेरी परेको छ । सत्ता र शक्तिलाई निजी शान र हैकम जमाउने थलोका रुपमा लिएर जनताको आँखामा छारो हाल्न उद्यत नेता र दलहरुको चरम अनैतिक व्यवहारले देशलाई नै असफल बनाउने खतरा बढाएको छ । यसकै सेरोफेरोमा कांग्रेससँगको गठबन्धनबाट एक वर्षअघि गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा त्यति नै समयदेखि वर्गीय शत्रु जस्तै बनिएको एमालेको प्रवेश भएको छ । आफ्नो स्वार्थ पूरा नहुने अवस्थामा ‘लात्तले हान्छु’ जस्तो अशिष्ट, अमर्यादित र निकृष्ट टिप्पणी गर्ने प्रधानमन्त्रीको पछिल्लो निर्णय देशलाई झनै संकटमा लाने संकेत हुन सक्छ । त्यसैले पनि देशको अस्तित्व रक्षाका निम्ति जनताले फेरि एकपटक गम्भीर निर्णय लिनुपर्ने बेला आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here