भद्रपुर नगरपालिकाद्वारा ६ जना पत्रकार र ४ जना खेलाडी पुरस्कृत

0
5

भद्रपुर ।

भद्रपुर नगरपालिकाले ६ जना पत्रकार र चार खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । भद्रपुरले नगर सभाको १३ औं अधिवेशनको अवसरमा बुधबार भद्रपुरका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी र अग्रज पत्रकार गोविन्दचन्द्र छेत्रीलाई ‘जीवनपर्यन्त योगदान पुरस्कार’, प्रदान गरिएको छ ।

नगर क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका काजी र छेत्रीलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित नगद ३० हजारले पुरस्कृत गरिएको हो । त्यस्तै नौलो आवाज साप्ताहिकका सम्पादक दीपक अधिकारी र वरुण साप्ताहिक कार्यकारी सम्पादक लेखनाथ परदेशीलाई ‘नगर विकास पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

अधिकारी र परदेशीलाई सम्मान पत्रसहित नगद १५ हजारले पुरस्कृत गरिएको हो । पत्रकार रेवतीराज घिमिरे र वरुण साप्ताहिककी सम्पादक इसा प्रधानलाई ‘प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । घिमिरे र प्रधानलाई सम्मान पत्रसहित नगद १० हजारले पुरस्कृत गरिएको हो ।

त्यसैगरी खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने कोसी प्रदेश क्रिकेट टिमका कप्तान अङ्कित सुवेदी, प्रसिद्ध भक्तराज लवट, मेनुका पौडेल र सोनीदेवी दासलाई पनि पुरस्कृत गरिएको छ । उनीहरूलाई सम्मान पत्रसहित जनही नगद २१ हजारको दरले पुरस्कृत गरिएको हो । पुरस्कृत हुने पत्रकार र खेलाडीहरूलाई नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले दोसल्ला ओढाएर सम्मान पत्रसहित चेक प्रदान गरेका थिए ।

प्रेस क्लब भद्रपुरको सहजीकरणमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ गरी दुई वर्षको पुरस्कार एकै पटक वितरण गरेको जनाइएको छ । नगरपालिकाले ‘जीवनपर्यन्त योगदान पुरस्कार’ थप गरेको हो ।

यसअघि नगरपालिकाले नगर विकास र प्रोत्साहन पत्रकारिता पुरस्कार मात्रै बाँड्दै आएको थियो । नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित अग्रज पत्रकार काजी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here