बिनोद पाण्डे,
चारपाने।
झापा कनकाई–१ प्रजापतिकी ७३ वर्षीय तुलसा अधिकारीको नागरिकता नहुँदा जीवनयापनमा समस्या आएको छ ।
नागरिकता नभएका कारण विद्युत् लाइन जडान गर्न नपाएको, सामाजिक सुरक्षा भत्ता लिनबाट बञ्चित हुनु परेको भन्दै तुलसा अधिकारीले दुःखेसो पोखेकी छन् । तुलसाकै उमेर समूहका नागरिकहरू हातमा सामाजिक सुरक्षा भत्ता कार्ड बोकेर बैँक तिर धाएको देख्दा आमैको मन कुँडिने गरेको छ, कहिले रुँदै गरेको देख्छु, सहारा विहीनको लागि बोलिदिने गरिदिने कोही विधाता कहिले आइपुग्लान् भन्दै तुलसाले हरेक दिन भगवान पुकार गर्ने गरेको छिमेकी दीपक घिमिरेले बताए ।
तुलसाका छोराको भने बसोबासको आधारमा नागरिकता बनेको छ । छोरा मुद्दा मामिलाको कारण हाल जेलमा रहेका छन् । नागरिकता भएको छोरा जेलमा पर्नु र आफ्नो नागरिकता नहुँदा बिजुली मिटर समेत जडान गर्न नपाइएको तुलसाको भनाइ छ ।
उता उज्यालो नगर घोषणाको तयारीमा रहेको कनकाई नगरपालिकाका नागरिकको घरमा विद्युत् मिटर नै जडान हुन सकेको छैन त भनेर वडाध्यक्ष सुशील पोखरेललाई राखेको प्रश्नमा, वडाध्यक्ष पोखरेलले मिटर जडानको लागि प्रक्रिया अघि बढेको र केही दिनमै तुलसा अधिकारीको घरमा मिटर जडान गराउने पोखरेलले प्रतिवद्धता जनाएका छन् ।
संविधानको धारा १०मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता प्रदान गरिएको छ । तर, झापा त्यसमा पनि शिक्षा र न्यायको हिसाबले अग्रणी नगरपालिकाको रुपमा चिनिएको कनकाई नगरपालिकामा एक ज्येष्ठ महिलाले नागरिकता नभएकै कारण जीवनयापनमा भोग्नु परेको कठिन विषयलाई स्थानीय सरकारले सामान्य रुपमा लिनुनहुने ज्येष्ठ महिला तुलसा अधिकारीकी छोरी गोमा अधिकारीको भनाइ छ । उनले भनिन्– ‘हरेक चुनाबको बेला आमाको नागरिकता बन्नुपर्छ बन्छ भन्दै घरदैलोमा नेताहरू आउने गरेको तर चुनाव सकिएपछि नेताहरू सम्पर्कविहीन बन्ने गरेका छन् । आमाको नागरिकताका लागि सिफारिस गरिदिन वडाध्यक्ष र मेयरलाई आग्रह गरेको, आग्रहमा हुन्छ भइहाल्छ भन्ने जवाफ पाउने गरेको तर नागरिकता बनाइदिन किन हो आलटाल भइरहेको छ ?’
यस विषयमा तुलसाको नागरिकताका लागि किन सिफारिस नभएको भनेर वडाध्यक्ष पोखरेललाई प्रश्न राख्दा तुलसाको नागरिकताको लागि सनाखत गर्ने मान्छे नभएकोले फिफारिस गर्न नसकिएको हो, जिल्ला प्रशासन कार्यालयबाट सिफारिस पठाउँदा हुन्छ भन्ने कुरा आयो भने तत्काल सिफारिस पठाउने व्यवस्था मिलाउने पाखेरेलको जवाफ रहेको छ ।
बनेपा धुलीखेलमा जन्मिएकी तुलसाको बाल्य अवस्था अभिभावकविहीनतामै बित्यो, उमेर पुगेपछि त्यस्तै अभिभावक विहीन चन्द्रप्रसाद अधिकारीसँंग विवाह गरेर केही समय भारतको असाममा जीवनयापन गरेर २०५० साल आजभन्दा ३१ बर्ष अगाडि साविक सुरुङ्गा गाविस–१ (हाल कनकाई–१) प्रजापतिमा बसोबास गर्दै आएकी तुलसा, छोराको नाममा जंगलको छेउमा रहेको ५ कठ्ठा जमिनमा सानो घरमा बसोबास गर्दै आएकी छन् । उक्त घर सामुदायिक वनले बनाई दिएको हो ।
संविधानले नागरिकता दिने सुनिश्चितता गरे पनि धेरै नागरिकहरुमा नागरिकता लिनुपर्छ भन्ने चेनताको कमी र घर व्यवहारमा महिलाको अग्रसरता न्यून हुने गरेको पुरानो अभ्यासका कारण हाल धेरै ज्येष्ठ महिलाहरु नागरिकता प्रयोग गर्नबाट बञ्चित बनेको अवस्था रहेको छ ।
विगत दुई दशक अघिसम्म सामाजिक, राजनीतिक र व्यवहारिक हक अधिकार प्राप्तिमा पुरुषहरु नै अगाडि थिए । सबै कामकाज पुरुष (श्रीमान) ले गर्ने हँुदा महिला (श्रीमती) को नागरिकताको आवश्यकता पनि कम हुने गरेको थियो । तिनै कारणले गर्दा जानेर÷नजानेर कयौं महिलाहरुले नागरिकता बनाएनन्, उनीहरुका श्रीमान, अभिभावकहरुले पनि नागरिकता बनाई दिएनन् । यस विषयमा तत्कालीन सरकारको पनि ध्यान पुग्न सकेन ।
संविधानको मर्मलाई कार्यान्वयन गर्दै नागरिकहरुको मौलिक हक अधिकारको रक्षाका लागि सरकारले विभिन्न कार्यक्रम, सुविधाहरु ल्याएपछि यतिबेला नभई नहुने कागजात बन्न पुगेको छ नागरिकता । हिजोको दिनमा नागरिकता नलिने नागरिकहरू कतिपयले जन्मको ५० वर्ष पछाडि कानूनी मान्यताको आधारमा नागरिकता बनाएका छन् । चेतनाको कमी, आर्थिक, सामाजिक रुपमा पहँुच नभएका अभिभावकविहीनहरुको नागरिकता भने बन्न सकेको छैन । यस्तै पहुँच नपुगेको कारण कनकाईकी तुलसा अधिकारी ७ दशक उमेर पार गर्दा पनि आफ्नै देशमा अनागरिक बनेर बस्नु परेको अवस्था छ ।