सत्ता समीकरणमा फेरबदल आएपछि प्रतिक्रिया दिने चीन पहिलो राष्ट्र

0
5

काठमाडौं ।

छिमेकी मुलुक चीनले सत्ता समीकरण फेरिएर नेपालमा बनेको नयाँ गठबन्धन सरकारका दलहरू एकताबद्ध भएर राजनीतिक स्थायित्व ल्याउने आशा व्यक्त गरेको छ ।

मंगलबार चीनको विदेश मन्त्रालयले बेइजिङमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालमा सत्ता समीकरण परिवर्तन भएको विषय जानकारीमा रहेको भन्दै यसले राजनीतिक स्थायित्व र आर्थिक उन्नतीका लागि काम गर्ने आशा गरेको बताइन् ।

‘नेपालमा नयाँ सत्ता समीकरण बनेको र मन्त्रिपरिषद् पुनर्गठन भएको विषयलाई चीनने जानकारीमा राखेको छ’, उनले भनेकी छन्, ‘हामीले गठबन्धनका सम्बन्धित दलहरू एकताबद्ध भएर नयाँ सरकार गठनसम्बन्धी कामलाई अगाडि बढाउने र राजनीतिक स्थायित्व, आर्थिक वृद्धि तथा जनताको जीविकोपार्जनमा सुधार ल्याउने छन् भन्ने आशा लिएका छौं ।’

नियमित पत्रकार सम्मेलनमा चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले राखेको प्रश्नको जवाफ दिने क्रममा दुवै देशका नागरिकलाई फाइदा हुने गरी काम गर्न चाहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

प्रवक्ता माओले चीन छिमेकी मित्र र सहयोगी साझेदारका रूपमा नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिने भन्दै नयाँ सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गर्न तत्पर रहेको बताइन् ।

‘हामी नयाँ सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई कायम राख्न, हाम्रो परम्परागत मित्रतालाई गहिरो बनाउन, व्यवहारिक सहयोगलाई सुदृढ गर्न, विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको सहयोगको रणनीतिक साझेदारीलाई अगाडि बढाउन र दुवै देशका नागरिकलाई थप लाभहरू प्रदान गर्न चाहन्छौं’, उनले भनेकी छन् ।

आइतबार नेपालको सत्ता समीकरणमा फेरबदल आएपछि प्रतिक्रिया दिने चीन पहिलो राष्ट्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here