प्रहरी कल्याण कोषको रकम दुरुपयोग छानबिनको माग गर्दै ६ बुँदे ज्ञापन

0
7

झापा ।

नेपाल पूर्व प्रहरी संगठनले प्रहरी कल्याण कोषको सञ्चालक समितिबाट रकम दुरुपयोग भएको घटनाको छानबिन गर्न माग गरेको छ ।

संगठनले ६ बुँदे माग प्रस्तुत गर्दै ३५ दिनभित्र पूरा नभएमा देशव्यापी रुपमा सडक तथा कानूनी उपचारका लागि आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । संगठनको पूर्व घोषित कार्यक्रम अनुसार नेपाल पूर्व प्रहरी संगठन झापाले बिहीबार दिउँसो ६ बुँदे माग पत्र जिल्ला प्रहरी कार्यालय झापालाई बुझाएको छ ।

संगठनका केन्द्रीय सदस्य मदनगोपाल सुब्बा र झापा जिल्ला अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा गएको टोलीले प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक यशोदा घलेलाई सो माग पत्र बुझाएका हुन् ।
संगठनले प्रहरी कल्याणकारी कोषमा हालसम्म १७ अर्ब रुपैयाँको बैंक मौज्दात, नगद र सम्पत्ति हुनुपर्नेमा हाल नगद ४ अर्ब र सम्पत्ति ५ अर्ब मात्र देखिएकाले ८ अर्ब रुपैयाँ अनियमितता भएको भन्दै छानबिनको माग गरेको छ ।

संगठनले २०४९ सालदेखि २०६९ सालसम्मको प्रहरी कल्याण कोषको आयव्ययको हिसाब किताब गर्न एक स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । कल्याण कोषको मूलधन वा ब्याजका आधारमा ४० प्रतिशत बहालवाला, ४० प्रतिशत पूर्व प्रहरी र २० प्रतिशत आयमूलक कार्यमा खर्च गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने माग संगठनले गरेको छ ।

प्रहरी कल्याण कोषको सञ्चालक समितिमा ४० प्रतिशत प्रतिनिधित्व पूर्व प्रहरी संगठन वा प्रहरीबाट हुनुपर्ने, बहालवाला प्रहरीको काम शान्ति सुरक्षा दिने भएकोले व्यापार नगरी कल्याण कोषबाट गरिने व्यापारिक कार्यहरू पूर्व प्रहरी संगठनलाई दिनु पर्ने माग राखेको छ ।

प्रहरी कल्याण कोषको समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा कोषको कार्यालयसहित दुई जना पूर्व प्रहरी र सबै प्रदेश कार्यालयमा एक–एक जना पूर्व प्रहरीहरू राखी योग्यता अनुसारको सेवा सुविधासहित कार्यालय सञ्चालन गर्ने र निजहरूलाई सहयोग गर्न पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गर्नुपर्ने माग संगठनले राखेको छ ।

त्यस्तै प्रहरीका अमर शहीद परिवारका सन्ततिका लागि १० प्रतिशत, प्रहरी परिचरदेखि वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जासम्मका पूर्व प्रहरीहरूको सन्ततिहरूलाई ५ प्रतिशत नयाँ भर्ना कोटा प्रदान गर्न संगठनले माग राखेको छ । आफूहरूको माग पूरा नभए कानूनी, प्रशासनिक र दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने संगठनका केन्द्रीय सदस्य सुब्बाले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here