सद्गुणी बन्न प्रेरणा प्राप्त होस्

0
4

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुको महान पर्व हो शिवरात्री । आजको यस दिनलाई शिवरात्री भनिएको छ । जुन प्रत्येक फागुन महिना कृष्णपक्षको चर्तुदशी तिथिका दिन पर्दछ । आजको दिन देशका सबै शिव मन्दिरहरुमा पूजाआजा गर्न जानेहरुको ठूलो भीड लाग्दछ । हिन्दू धर्मावलम्बीहरुको पर्वहरु मध्येको सबैभन्दा ठूलो र महत्वको शिवरात्रीमा देवाधिदेव महादेवको विशेष पूजा गरिन्छ । भगवान शिवलाई प्रशन्न राख्न सकिए मानिसबाट अज्ञानतावश भएका पापकर्मको फल भोग्नबाट जोगिएर मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । शिवरात्रीमा व्रत बस्नाले ठूलो फल पाइने विश्वासमा आजको दिन महिला र पुरुषहरु नै निराहार बस्छन् । भगवान शिवको अद्भूत शक्तिलाई देवताहरुले पनि स्वीकार गरेका कारण महादेवका रुपमा प्रतिष्ठित आजको दिनलाई शिवको प्राकट्य अर्थात् जन्मदिनका रुपमा समेत मानिन्छ ।

भगवान शिवलाई कल्याणका प्रतिमूर्ति पनि भनिन्छ । समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष आफ्नो कण्ठमा राखेर विश्वलाई विनाश हुनबाट जोगाउने भगवान शिवको आराधना गरिने आजको दिन काठमाण्डूस्थित पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा लाखौं श्रद्धालुहरु दर्शन कै लागि पुग्ने गर्छन् । हाम्रा पौराणिक कथाहरुमा माता पार्वतीले आफ्ना स्वामी शिवजीसँग सबैभन्दा उत्तम व्रत कुन हो भनी सोध्दा यस दिनको व्रत भएको जवाफ दिएको उल्लेख छ । ज्योतिषशास्त्रका अनुसार पनि आजको यो तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ, त्यही समय जीवनरुपी चन्द्रमाको शिवरुपमा सूर्यसँग योग हुन्छ, त्यसैले यस दिनको शिवपूजाले जीवको लक्षित कामना प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।

शिव त्यस्ता भगवान हुन् जो निराकार छन्, जसलाई आदि वा अन्त्यले विभाजन गर्न सकिँदैन । शिव त्यस्ता शक्ति हुन् जसले संसारका सम्पूर्ण अवयवहरुलाई क्षणमै छिन्नभिन्न गरिदिन सक्छ । त्यसैले विज्ञानले पनि स्वीकार गरिसकेको अणु–परमाणुहरुको अस्तित्व तिनै शिवतत्वसँग रहेको शक्तिमा रहेको स्वीकार गरेको छ । संसारका जीवहरु ब्रह्माण्डका तत्वरुपी शक्तिबाट बन्ने र तिनमै विलीन हुने विज्ञानको निष्कर्ष छ । त्यसैले सबै शक्ति, सबै वस्तुका स्रोत शिवतत्वबाट आउने र त्यसमै विलीन हुने भएकाले आजको दिनले सबैलाई साँचो मानिस बन्ने शक्ति प्रदान गरोस् । आफूभित्रका विकारहरु हटाएर प्रेम, सहिष्णुता र सद्भाव जस्ता सद्गुण लिने सामथ्र्य प्राप्त होस् । यसका लागि उनै आशुतोष भगवानको कृपा प्राप्त होस् । सम्पूर्ण मानव जातिको कल्याण होस्, शिवरात्रीको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here