अध्यक्ष बस्नेतको अभियानमा बढ्दो साथ, बन्ने भयो डोमालालका सन्ततिको घर

0
10

झापा ।

झापाको बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा जारी छैटौं झापा गोल्डकपको सफल नेतृत्व गरिरहेका बिनोद बस्नेतले रंगशालाका जग्गादाता परिवारका लागि घर निर्माण गर्ने अभियान शुरु गरेका छन् ।

डोमालाल राजवंशीले रंगशाला निर्माणका लागि जग्गा दिएको तर, अहिले उनको परिवार घरबार बिहीन अवस्थामा रहेकाले उनीहरुको संरक्षण गर्ने उद्देश्यका साथ घर निर्माण अभियान शुरु गरिएको अध्यक्ष बस्नेतले बताए । सामाजिक सञ्जाल (फेसबुक) मा स्टाट्स लेख्दै गोल्डकपका अध्यक्ष बस्नेतले भनेका छन्– झापा गोल्डकप २०८० सफल बनाउन सबै क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछु ।
खेलकुदको माध्यमबाट स्थानीय विकाससंगै रंगशालाका जग्गादाता र उनका परिवारका लागि सहयोगको खाँचो छ । उनको परिवार अहिले पनि घरबारबिहीन अवस्थामा छ । तसर्थ, झापा गोल्डकपको अध्यक्षको हैसियतले उनको घर बनाउन म बिनोद बस्नेतको तर्फबाट व्यक्तिगत रुपमा रु. ५१ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गर्दछु । साथै सहयोगी मनलाई यो अभियानमा साथ र समर्थन गरी सहयोग गरिदिन हुन विशेष अनुरोध गर्दछु ।

बिस्नेतको यो स्टाट्ससँगै अन्य मनकारी दाताहरुले उनको अभियानमा साथ दिँदै सहयोग रकम घोषणा गर्न शुरु गरेका छन् । उनको अभियानमा समर्थन गर्दै बिर्तामोडका राजीव धिमालले स्व. बुबा नरेशमानको नाममा एक लाख रुपैयाँ उपलब्ध गराउने सामाजिक सञ्जालमा घोषणा गरेका छन् । त्यस्तै बिर्तामोडकै किरण श्रेष्ठले २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् भने बिर्तामोडकै समिल राईले २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

यता बिर्तामोडका व्यवसायी अर्जुन चुडालले हाम्रो प्रशिद्धि ट्रेड एण्ड सप्लायर्स कोइलाको तर्फबाट एक लाख १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । अध्यक्ष बस्नेतकै अभियानमा जोडिँदै सुधाकुमार र रवीन श्रेष्ठले जनही ५१–५१ हजार, सञ्चारकर्मी गणेशमान र इन्द्रजित मुखियाले ११ हजार, भूमिका लिम्बूले ११ हजार सहयोग गर्ने घोषणा गरेका छन् । यस्तै, राजवंशी परिवारको घर निर्माणमा लाग्ने झ्याल बिर्तामोडको क्षमादेवी युपीभीसीका सञ्चालक गणेश पौडेलले सहयोग गर्ने बचन दिएका छन् । राजवंशी समुदायको तर्फबाट समेत सहयोग जुटाउन थालिएको राजवंशी विकास प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले जानकारी दिए ।

डोमालाल राजवंशीको योगदानको उच्च सम्मान गर्दै यस पटक उनको स्केच तस्वीर समेत सार्वजनिक गरिएको र रंगशालामा उनको शालिक निर्माण अभियानलाई समेत अगाडि बढाइने अध्यक्ष बस्नेतले बताए । राजवंशीले पवित्र मनले दिएको जग्गामा भू–माफियाको दृष्टि परेकाले त्यसबाट छुटकारा गराउन सबै राजनीतिक दल, बिर्तामोडवासी तथा झापाली नागरिकहरु एक हुनुपर्ने अध्यक्ष बस्नेतको भनाइ छ । रंगशालालाई व्यवस्थित गर्न स्थानीय, प्रदेश र संघीय सरकार लाग्नुपर्ने अध्यक्ष बस्नेतले बताएका छन् । उनले झापाको गौरवको रुपमा रहेको झापा गोल्डकप सफल बनाउन सबै क्षेत्रले उत्साहजनक साथ र सहयोग दिएकाले खेल मैदानको संरक्षणसँगै अब खेलाडी उत्पादनतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

खेलको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउँदै आएका बस्नेतले रंगशालालाई व्यवस्थित गर्दै निरन्तर खेल अभियान सञ्चालन गर्ने उल्लेख गरे । बस्नेतले शुरु गरेको अभियानमा समर्थन गर्दै विभिन्न दाताहरुले सहयोग घोषणा अभियानलाई निरन्तरता दिइरहेका छन् । हालसम्म सात लाखभन्दा बढी रकमको प्रतिवद्धता प्राप्त भइसकेको अध्यक्ष बस्नेतले जानकारी दिए । उनले यो अभियानमा सबैको उत्साहजनक सहयोग र साथ रहेकाले छिट्टै राजवंशी परिवारको घर निर्माण अभियान शुरु गर्ने बताए ।

त्यसो त यसअघि झापा गोल्डकप आयोजक समितिको संयोजनमा छैटौं गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरिएको थियो । समाजसेवी विवेक प्रसाई र संगीता प्रसाईद्वारा उपलव्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको झापा गोल्डकपका अध्यक्ष बस्नेतले जानकारी दिए । उनले झापा गोल्डकपको बजेटबाट एक लाख रुपैयाँ सहयोग गर्न अपुग भएपछि सहयोगी खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई प्रदान गरिएको जानकारी दिए ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त चेक हस्तान्तरण गरेका थिए । डोमालालकी छोरी सम्पत्तिको गुजाराका लागि थप नगद सहयोग गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । यसअघि झापा गोल्डकपले जग्गादाता डोमालालको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । गतफागुन ८ गते राजवंशी विकास प्रतिष्ठानको अगुवाइमा दाता डोमालालकी छोरी सम्पत्ति र नातिनी बुहारी ललिता राजवंशीको उपस्थितिमा झापा गोल्डकप र बिर्तामोड नगरपालिकालाई चार बुँदे ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापन–पत्रमा डोमालाल राजवंशीको परिवारको निम्न अवस्थाका कारण कम्तीमा पाँच लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनुपर्ने, डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समिति लगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनुपर्ने माग उल्लेख गरिएको थियो ।

डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विगाह जग्गा बिर्ताबजारस्थित देवी मन्दिरको व्यवस्थापनको निम्ति गुठीलाई दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति, नातिहरु भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रो बनाएर बसेका छन् । उनीहरुले मजदुरी गरी गुजारा गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here