हिजोआज शुभ विवाह, ब्रतबन्ध कुनै पनि शुभ साइत तथा शुभ कार्यमा महिलाहरुले ‘नौमती बाजा’ बजाउन शुरु गरेका छन् । समूहमा एकैखाले पोशाक लगाएर महिलाहरूले नौमती बाजा बजाउँदै गरेको दृश्यले मनमा रोचकता सँगसँगै आश्चर्य, कौतुहलता र फरकपनाको अनुभूत गराउँदछ ।
अघिल्ला दिनहरूमा हामीले समाज तथा घर गाउँमा भएको शुभ विवाह तथा शुभ कार्यमा दलित समुदायका पुरूषहरूले मात्र नौमती बाजा बजाएको देखेका थियौँ । यसै परिवेशमा बानी परेर हुर्किएको हामीलाई पछिल्लो समय महिलाहरुले नौमती बाजा बजाएको दृश्य देख्दा फरक, आश्चर्य, अनौठो र रोचक लाग्नु स्वाभाविक पनि हो ।
बिर्तामोडको एक विवाह समारोहमा समूहमा नौमती बाजा बजाउँदै गरेको अवस्थामा भेटिनु भएकी ‘पूर्वेली महिला नौमती बाजा संस्था’ बिर्तामोड–२ का उपाध्यक्ष मीरा चौंलागाँई विगत चार वर्ष अघिदेखि नौमती बाजा बजाउँदै आएको बताउनुहुन्छ । उहाँहरूले शुरुवाती दिनमा समूहमा रहेर नौमती बाजा बजाउनु हुन्थ्यो रे । हाल आएर दुई बर्षअघि वैधानिक रुपमा संस्था दर्ता भएको जानकारी दिनुभयो ।
नौमती बाजा बजाउन गृह जिल्ला बाहेक अन्यत्र बाहिरी जिल्ला र भारतको सिक्किम, दार्जिलिङ, मिरिकसम्म पुग्ने गरेको उपाध्यक्ष चौलागाँई सुनाउनु हुन्छ । एउटा विवाह सम्पन्न गराउदा स्थानीय स्तरमा गाडी भाडा बाहेक तीस हजारदेखि माथि र बाहिरबाट भने एक लाखसम्म सेवा शुल्क प्राप्त भएको अनुभव सुनाउनु भयो ।
संस्थाकी सचिव मनिषा पाठक सिटौलाले ‘लोक बाजाको संरक्षण’ जातीय विभेद र लैङ्गिक विभेद अन्त्य गर्न साथै महिलाहरूलाई आय मुलुक काममा लगाउने उद्देश्यले संस्था स्थापना गरिएको बताउनु भयो । दलित तथा पुरूषहरूले मात्र होइन अन्य जातिको महिलाहरुले पनि यस्तो काम गर्न सक्छ भन्ने समाजमा सन्देश दिन नौमती बाजा बजाउन शुरु गरिएको उहाँ बताउनुहुन्छ ।
सचिव सिटौलाका अनुसार यस संस्थामा हाल २२ जना सदस्यहरु रहेका छन् । ११÷११ जनाको टोली बाँडिएर शुभ विवाह, ब्रतबन्ध र अन्य शुभ कार्यमा बाजा बजाउने गर्नुभएको छ । संस्थाका महिलाहरुको गुरू ७० वर्षीय अम्बरबहादुर दर्नाल शुभ विवाह र ब्रतबन्धमा अझै पनि उहाँहरू सँगै रहेर सहनी बजाउनुहुन्छ ।
सेवा शुल्कबाट प्राप्त रकमको पाँच प्रतिशत संस्थालाई छुट्याइने गरिएको छ । महिलाहरूको समूहले झापा जिल्लाको बिर्तामोड, काँकरभिट्टा, भद्रपुर लगायत अन्य जिल्ला सुनसरी, मोरङमा समेत नौमती बाजा बजाउन शुरु गरेका छन् ।
एउटा मान्छे अनेकौं जिम्मेवारी सबैथोक भ्याएर पछिल्लो समय उनीहरूले हरेक क्षेत्रमा देखाएको अग्रसरता सक्रियता, जोस र लगनशीलताले समाजमा पक्कै पनि सकरात्मक सन्देश प्रवाहसँगै नयाँपन दिएको छ । समाज रूपान्तरण भूमिका खेलेको छ । अर्को महŒवपूर्ण पक्ष काम गर्ने इच्छा शक्ति भए जस्तोसुकै कठिन पनि गर्न सकिने रहेछ भन्ने कुरा पृष्टी गरेको छ । उद्यमशीलता, व्यवसायिकता, शैक्षिक स्तर उन्नती, राजनीतिक सहभागितासँगै समाजका सामाजिक, धार्मिक र सांस्कृतिक लगायतका क्षेत्रमा उनीहरुले बढाएका सक्रियता चर्चा योग्य छन् ।
घर र परिवारको जिम्मेवारीदेखि बाहेक महिलाहरुले अन्य धेरै कामहरु गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । अर्को महŒवपूर्ण पक्ष इच्छा भए समय व्यवस्थापन गर्न सकिने रहेछ भन्ने शिक्षा दिएको छ । महिलाहरुले हरेक किसिमका काममा संलग्नता बढाएर कामको दायरा फराकिलो पार्दै जाँदा उनीहरुको कार्य क्षमता र दक्षता अभिवृद्धि भएको छ भने समयको सही सदुपयोग भएको छ ।
जातीय विभेद र लैङ्गिक विभेद अन्त्यका लागि महिलाहरूले चालेको यो कदम तारिफयोग्य, सम्मानयोग्य छ । महिलाहरुको समाज रूपान्तरण, सकरात्मक सोच विकास र नयाँ कदमको थालनी, शुरुवाती प्रसंशानीय छ । यसले समाज रूपान्तरणमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ भने नयाँ पिढीलाई सकरात्मक सन्देश प्रवाह गर्दै ऊर्जाशील, लगनशील र समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ ।