सप्तकोशीमा ढुङ्गा दुर्घटना प्रकरण : खर्च र हराएको संचार उपकरणको क्षतिपूर्ति दिन पत्रकार महासंघको माग

२७ फाल्गुन २०८०, आईतवार मा प्रकाशित

विराटनगर,

सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा घाइते भएका संचारकर्मीको उपचार खर्च र क्षति भएको संचार उपकरणको क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले आइतबार प्रेस विज्ञाप्ती जारी घाइते भएका पत्रकारको उपचार गर्दा लागेको खर्च तथा हराएको र बिग्रेको सामानको मूल्य बराबरको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका हुन् ।

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा गत कार्तिक १७ गते सप्तकोशीमा डुङ्गा दुर्घटना भएको थियो । डुङ्गा दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेको थियो ।

दुर्घटनामा कान्तिपुरकर्मी महाप्रसाद खतिवडा, देवनारायण साह र शम्भु पोखरेल, रेडियो नेपालका कुमोद अधिकारी, जितेन्द्र ठाकुर, उदयपुरका स्थानीय सुशील सेँढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेँढाई, विशाल दाहाल र अम्बिका निरौला घाइते भएका थिए । पानीमा डुबेर बेहोस् भएका अधिकारी र खतिवडाको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

दुर्घटनामा परी घाइते भएका विराटनगरस्थित रेडियो नेपालका पत्रकार कुमोद अधिकारीलाई ५ दिनसम्म धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । यस्तै, कान्तिपुरका पत्रकार महाप्रसाद खतिवडालाई पनि केही दिन उपचार गर्नुपरेको थियो । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाखको सामान काम नलाग्ने भएको जारी विज्ञाप्तीमा उल्लेख छ ।

सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्षतिपूर्ति दिने भनिए पनि हालसम्म सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको प्रति नेपाल पत्रकार महासंघ मोरङको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञाप्तीमा उल्लेख छ ।

‘पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामानको मूल्य बराबरको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन जोडदार माग गर्दछौं, महासंघको कार्यबहाक अध्यक्ष भट्टराईले हस्ताक्षर गरेको विज्ञाप्तीमा उल्लेख छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here