इलाम उपनिर्वाचन: सुहाङसहित एमालेका ५ नेताले दिए निवेदन

0
8

इलाम।

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका आकांक्षीहरूले पार्टी कमिटीमा निवेदन दिन शुरु गरेका छन् । सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौ २६ मा निधन भएपछि सो पद रिक्त रहेको छ ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै यो क्षेत्रका लागि उम्मेदवार तय गर्न पार्टी जिल्ला कमिटीले कार्यदल गठन गरेको थियो । जिल्लाका पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन भएको थियो ।

सो कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष राईका अनुसार अहिलेसम्म ५ जनाले उम्मेदवारीका लागि निवेदन दिएका छन् । जसमा नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि छन् । सुहाङसहित रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई र देवी क्षेत्री दुलालले निवेदन पेश गरिसकेका छन् ।

त्यस्तै, अर्की महिला आकांक्षी रिप्पल राईले पनि पार्टीमा निवेदन दिने जानकारी गराएको र पत्र भने प्राप्त भइनसकेको संयोजक राईले बताए । सुहाङ जिल्ला कमिटीलाई निवेदन दिएर अहिले काठमाडौँ फर्किएका छन् ।

केही दिनदेखि इलाम पुगेरै मतदाता तथा शुभेच्छुकसँगको भेटवार्तामा व्यस्त रहेका सुहाङ पुनः केही दिनमा इलाम फर्कने कार्यतालिका छ । सुहाङ पेशाले अधिवक्ता हुन् । इलामबाटै एउटा फुटबल क्लब समेत चलाएका उनी पछिल्लो समय इलामका विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here