बेरोजगार महिलाहरूलाई रोजगार बनाउने अभियानमा भद्रपुर नगरपालिका, २३० महिलालाई धूप बनाउने तालिम

0
8

भद्रपुर ।

नगर क्षेत्रका बेरोजगार महिलाहरूलाई रोजगार बनाउने उद्देश्य राखेर भद्रपुर नगरपालिकाले सीपमूलक तालिमलाई अभियानकै रुपमा अघि बढाएको छ ।

सो अभियान अन्तरगत नगरपालिकाको सामाजिक विकास शाखाले १० वटा वडामध्ये ६ वटा वडामा एकै पटक महिलाहरूको सिप विकास सम्बन्धी बाटेको (कपुर) धूप बनाउने तालिम दिइएको छ ।

शाखाले वडा नम्बर ४, ५, ६, ७, ९ र १० नम्बर वडाका २३० महिलालाई धूप बनाउने तालिम दिएको शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् । वडा नम्बर ५ बाट तीन दिने तालिमको शुभारम्भ गरी सोमबार वडा नम्बर ४ मा एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ । वडा नम्बर ४ का ३५ जना महिलालाई प्रशिक्षक अनिता महतो तामाङले तालिम दिएकी थिइन् ।

समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलले भने, ‘मठमन्दिरमा पूजा अर्चना गर्न जाँदा धूप बालिन्छ, हामी धूप किनेर बाल्छौँ, धूपलाई घरमै बनाएर खर्च बचत गर्नुका साथै आम्दानीको स्रोत बनाउने उद्देश्यले यस तालिमलाई नगरभरि अभियानकै रुपमा सञ्चालन गरिएका छौँ ।’

‘तालिम लिएर त्यतिकै नबस्नुहोस्, नगरको बजेटलाई बालुवा पानी हाले उखान जस्तो नबनाउनुहोस्,’ नगर प्रमुख पोखरेलले भने, ‘यसलाई व्यवहारमा उतारेर आम्दानीको स्रोत बनाउन सहभागी सबैलाई आग्रह गरे ।’ भोलिका दिनमा व्यावसायिक रुपमा घरेलु उत्पादित सामग्रीहरूलाई बजार व्यवस्थापनमा सहयोग पुर्‍याउने र त्यसका लागि नगरपालिकाले कार्य योजना बनाइरहेको उनले बताए । त्यस्तै ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशीले यस्ता तालिमहरू धेरै दिइएको छ ।

त्यो तालिम लिइसके पश्चात् त्यसलाई जीविकोपार्जनसँग जोडेर अघि बढेको धेरै बिरलै पाएको उनले बताए । तालिम लिएर व्यावसायिक रुपमा अघि बढेकालाई वडाले ती व्यक्ति वा समूहलाई जहिले सहयोग गर्दै आइरहेको उनको भनाई छ । यस्तो प्रकारको तालिमले बेरोजगार महिलाका लागि आम्दानीको मुख्य स्रोत बन्न सक्ने तालिममा सहभागी विष्णुमाया चिमरियाले बताइन् ।

त्यस्तै सहभागी गोमाकुमारी राजवंशीले नगरपालिकाले यस्तो प्रकारको तालिम दिएर बेरोजगार महिलाहरूलाई रोजगारी सृजना गर्ने वातावरण बनाउँदै जानुपर्ने धारणा राखिन् । वडा अध्यक्ष राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य अर्जुन बानिया, प्रशिक्षक अनिता महतो तामाङ लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शाखाकी सञ्जु कोइरालाले गरेकी थिइन् ।

यता नगरपालिकाले वडा नम्बर ८ का महिलाहरूलाई दुवो जडी माला र स्वयंम्बरका सामग्री बनाउने पाँच दिने तालिम दिइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here