इलाम-२ उपनिर्वाचनः उम्मेदवार छान्दै दल

२९ फाल्गुन २०८०, मंगलवार मा प्रकाशित

फिक्कल (इलाम),

आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् ।

गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

विसं २०५६ यता सबै निर्वाचन जित्दै आएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र अघिल्लो निर्वाचनमा एक सय १४ मतको झिनो अन्तरले पराजित कांग्रेसले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी केन्द्रलगायत दल पनि चुनावी गतिविधिलाई बढाउँदै लगेका छन् ।

एमालेमा आबद्ध छ जनाले उम्मेदवार सिफारिसका लागि पार्टीद्वारा गठित कार्यदलमा निवेदन दिएका छन् । कार्यदल सचिव उमेश गुरुङका अनुसार स्व सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङ, एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा देवी क्षेत्री दुलाल, एमाले इलाम–२ क्षेत्रीय संयोजक बुद्धि खनाल, नरेन्द्रनाथ भट्टराई र प्रदेशसमिति सदस्य रिपल राईले उम्मेदवार सिफासिका लागि कार्यदलमा निवेदन दिनुभएको छ ।

सो कार्यदलले सकेसम्म सर्वसम्मतको प्रयास गर्ने र सम्भव नभए जिल्ला कमिटीमार्फत सबैको नाम केन्द्रीय कमिटीमा पठाउने सचिव गुरुङले बताउनुभयो । “हामी चैत ३ गतेसम्म सर्वसम्मतका लागि प्रयास गर्छौं, सम्भव नभए जिल्ला कमिटीमा पठाउँछौँ र जिल्ला कमिटीले चैत ५ गतेसम्म सबैको नाम केन्द्रीय कमिटीमा पठाउनेछ”, गुरुङले भन्नुभयो ।

एमालेले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन एमाले इलामका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा जिल्ला सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङदेम्बे र दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले उम्मेदवार हुन इच्छुकलाई व्यक्तिगत विवरणसहित निवेदन दिन आग्रह गरेको थियो ।

एमाले केन्द्रीय कमिटीले जिल्लामा पठाएको अन्तर पार्टी निर्देशनमा जिल्ला कमिटीले उम्मेदवारीका लागि एक महिलासहित तीन जनाको नाम केन्द्रमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।

गत निर्वाचनमा एक सय १४ को झिनो मतान्तरले पराजित कांग्रेसबाट पनि उम्मेदवारका आकाङक्षीको सङ्ख्या पनि ठूलै छ । कांग्रेस इलामका जिल्ला सभापति डम्बरबहादुर खड्का, महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसंविधानसभा सदस्य नगेन्द्र कुमालले उम्मेदवारीका लागि दाबी गर्दै आउनुभएको छ ।

खड्का २०७९ को प्रतिनिधिसभा सदस्यमा सोही क्षेत्रबाट एमालेका नेम्बाङसँग एक सय १४ मतले पराजित हुनुभएको थियो । नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय छ मत प्राप्त गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पनि यसपटक गठबन्धन बिना चुनाव लड्ने रणनीतिमा छ । गत निर्वाचनमा गठबन्धन गरी कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको माओवादी केन्द्रले यसपटक कसैसँग गठबन्धन नगर्ने प्रदेश समितिले निर्णय गरिसेकेको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वप्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमन), पार्टी प्रदेश सदस्य हर्कबहादुर लावती र जिल्ला संयोजक विजय खम्बूको नाम पनि चर्चामा छ । यद्यपि, माओवादी केन्द्रले आधिकारिक रुपमा उम्मेदवार घोषणा र सिफारिस भने गरेको छैन ।

जनता समाजवादी पार्टी (जसपा)नेपालले तीन जनाको नाम सिफारिस गरेको छ । जसपाका सल्लाहकार डा महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूलाई उम्मेद्वारका लागि सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार उठाउने चर्चा चले पनि हालसम्म आधिकारिकरुपमा नाम सार्वजनिक गरिसकेको छैन । रास्वपाबाट धर्म गौतम, महेन्द्र थापा, विष्णु काफ्लेलगायतको नाम चर्चामा छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम चर्चामा छ । उहाँ गत निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेतसँग दुई हजार छ सय ४५ मतान्तरले पराजित हुनुभएको थियो । साथै प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त सङ्घर्ष समितिले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

समानुपातिकमा यस्तो थियो २०७९ को परिणाम

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा इलाम-२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकोमा ६९ हजार चार सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाच सय ९६ मत बदर भएको थियो ।

सदर मतमध्ये सबैभन्दा धेरै एमालेले २६ हजार पाँच सय ६२ मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, मत प्राप्त गरेको थियो । साथै माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाईजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचनको तयारीमा निर्वाचन कार्यालय

जिल्ला निर्वाचन कार्यालय इलामले उपनिर्वाचनको तयारी स्वरुप मतदाता नामावली रुजु, सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्थाबारे जानकारी लिनेलगायतका काम सुरु गरेको इलामका जिल्ला निर्वाचन अधिकारी देवीचरण फूँएलले जानकारी दिनुभयो । निर्वाचन आयोगको कार्यतालिका अनुसार उपनिर्वाचनका लागि यही फागुन २४ देखि ३० गतेसम्मका लागि राजनीतिक दल दर्ताको सूचना प्रकाशन भइसकेको छ ।

त्यस्तै आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । सोही दिन उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने कार्यतालिका छ । चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी तथा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी जाँच गर्ने र २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै, चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको फूँएलले बताउनुभयो ।

चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारको अवधि राखिएको छ भने वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । उपनिर्वाचनका लागि ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी फूँएलले बताउनुभयो ।

उपनिर्वाचनका लागि इलामको मतदाता दुई लाख २७ हजार १५ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदातामा महिला एक लाख नौ हजार नौ सय ३४, पुरुष एक लाख १७ हजार ७९ र अन्य दुई जना छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here