
चैत्र २६ गतेदेखि घुर्बिसे पञ्चमीमा सेहोनाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना गरिने भएको छ । फाल्गुनन्द गाउँपालिकाभित्र रहेका ओझेलमा परेका ऐतिहासिक सांस्कृतिक पर्यटन क्षेत्र, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन लगायत समग्र आर्थिक व्यवसायका क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त महोत्सव गर्न लागिएको आयोजक समितिले जनाएको छ ।
यस ठाउँमा पहिलो पटक आयोजना गरिएको महोत्सव आगामी चैत २६ गतेदेखि २०८१ बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । सात दिन चल्ने महोत्सवमा ४० लाख रुपैयाँ बढीको आर्थिक कारोबार तथा आन्तरिक तथा बाहृय पर्यटकसहित करिब ५० हजार बढी मानिसले अवलोकलन गर्ने अनुमान गरिएको छ । इलाम जिल्लासँग सिमाना जोडिएको यस क्षेत्रमा प्रायः मानिसहरुको चहल–पहल हुने गरेको छ । राँके–रवि– भेडेटार सडकमा पर्ने यो बजारमा महिनामा दुई पटक हटिया लाग्छ । उत्तरे बजारबाट करिब चार किलोमिटर टाढा यासोक जाने सडकामा सेहोनाम्लाङ पुग्न सकिन्छ । यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने आंकलन गरिएको छ ।
फाल्गुनन्द गाउँपालिकाले महोत्सव शुरुवात गर्न तीन लाख रुपैयाँ पहिलो बजेटको तर्जुमा गरेसँगै सेहोनाम्लाङसँग जोडिएका छिमेकी स्थानीय तह कुम्मायक र मिक्लाजुङ गाउँपालिकाले पनि सहयोग गर्ने जनाइएको छ । महोत्सव सफल पार्न नेपाल पर्यटन बोर्ड र चलचित्र बिकास बोर्डको सहयोग रहने महोत्सव संयोजक सूर्य प्रकाश चेम्जोङले जानकारी दिए ।
त्यसैगरी, स्पन्सरहरु सिंगर ट्रेडर्स, याङ्तारु सेकुवा र लालीगुँरास रेष्टुरेन्टले गर्ने भएको छ भने जनजागरण अभियान तथा कृषि विकास मञ्च, नेपाल, महिला उद्यमी बहुउद्देश्य सहकारी संस्था लिमिटेड, पीवाईसी फाल्गुनन्द–५, आदिवासी जनजाति महासंघ फाल्गुनन्द गाउँपालिका समिति, हाङ् पृथिसिं युवा समुह, नेबचोक प्रगतिशील युवा क्लव, नाम्सामी केसामी केलाङ संस्था र याक्थुङ मुन्चइत चोक सयङ केन्द्रिय समिति सह आयोजक रहेका छन् । हाल विदेशमा रहेका समाजिक अभियान्त, सहयोगी दाताहरुबाट महोत्सवलाई आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको साथै स्थानीयबासी र शुभेच्छुक मार्फत पनि प्राप्त हुने जनाइएको छ । महोत्सवको आयोजक टिमका अनुसार विभिन्न सञ्चारमाध्यमलाई मिडिया पार्टनरमा राखिएको बताइएको छ ।
यस महोत्सवले व्यवसायिक क्रियाकलापभन्दा पनि पालिकाभित्रका ओझेलमा परेका सांस्कृतिक क्षेत्रको प्रचार–प्रसार गरेर पर्यटन प्रवद्र्धनको विकास गर्ने लक्ष्य राखिएको छ । यो सँगै आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको एउटा नयाँ दियो बाल्ने आशा गरिएको र सबैको साथ सहयोगको अपेक्षा गरिएको आयोजक समिति अध्यक्ष देउमान आङदेम्बे (डिएम)ले बताए ।
नयाँ वर्ष २०८१ को अवसर पारेर तयारी गरिएको महोत्सवमा स्थानीय कृषि जन्य वस्तुको प्रदर्शनी, जात जातीका भेषभुषा, नृत्य, बाजगाजा, फुटबल, भलिबल, ब्याडमिन्टन, भाग्यशाली उपहार योजना, स्थानीय मौलिक खानाका स्टल, हस्तकला लगायत राष्ट्रिय कलाकारको उपस्थितिमा सांगीतिक मनोरञ्जनको आयोजना गरिएको छ ।
उक्त महोत्सवमा आम नागरिक, सञ्चारकर्मी, राजनीतिक दल, उद्योगपति, बौद्धिक वर्ग आएर मनोरञ्जन, अवलोकन साथै प्रचारप्रसारमा सहायता गरिदिन आयोजक समितिले अपिल गरेको छ । यसै महोत्सवमा सेहोनम्लाङसँग सम्बन्धित नामसामी केसामी बारे पछिल्लो समय बाझिने गरी लेखिएका लेखहरुलाई एकरुपता ल्याउने गरी विज्ञहरुको उपस्थितिमा कार्यपत्र समेत पेश हुने र सेहोनाम्लाङ, नामसामी केसामीसहित अन्य स्थलको भ्रमण गरिने भएको छ । भारतको दार्जिलिङ र सिक्किमबाट पनि सरोकारवाला व्यक्तिहरु सहभागीता रहने आयोजकले जानकारी दिएका छन् ।
सेहोनाम्लाङ (छालासुकुवा)को परिचय ः
फाल्गुनन्द वडा नम्बर ५ र ७, मिक्लाजुङ–१ र कुम्मायक–२ नम्बर वडासँग जोडिएको उक्त ठाउँमा नाम्सामीले आफ्नो दाजु केसामीको छाला सुकाएका थिए । प्राग ऐतिहासिक कालमा फाक्चारा तिगेन्जङमाका दुई छोरा नामसामी र केसामी जन्मिएका थिए । मिथक मुन्धुमी सभ्यता अनुसार जुम्ल्याह दाजुभाइ हुर्केबढेपछि उनीहरूको झगडा तरुल, भ्याकुर र शिकारलाई लिएर हुन थाल्यो ।
शिकार खोज्ने क्रममा जंगलमा विशाल सिमलको रुखमा उनीहरूको युद्ध हुँदा नामसामीले केसामीलाई मारे । त्यसपछि नामसामीले केसामीको छाला काढेर सुकाउने ठाउँ खोज्दै हिँड्दा धेरै ठाउँ घुमे तर कतै नसुकेपछि पाँचथरको देउरालीस्थित सेहोनाम्लाङमा छाला सुकाए । नामसामीले छाला सुकाउँदा गाडेका खुटिका डोबहरू आजसम्म प्रष्ट देखिन्छन् । यस ठाउँमा अझैसम्म झार उम्रिएको छैन । घाम झुल्किदा पहिले आइपुग्ने र अस्ताउँदा पनि त्यहाँ अन्तिम अवस्थासम्म रहने गर्छ । सेहोनाम्लाङको मुन्धुम फूल जगाउने संस्कारसँग सम्बन्धित छ । विशेषगरी युवा–युवतीको शिर उठाउन फूल जगाउने संस्कार गरिन्छ ।
आमा फाक्चारा सरङ्थामा मनुष्यको प्रतिक स्वरूप सिल्लरी फूल र बाघको प्रतिकस्वरूप बाबरी फूल कलश राखेकी थिइन् । केसामीको पराजयसँगै बाबरी फूल ओइलाउँछ । नामसामीले बाघ भएका दाजु केसामीको सर्वनास गरेर लिम्बू परिवार र समाजको संरक्षण गरेको पाइन्छ । नामसामीले छालासँग मानिसलाई आवश्यक कुराहरू साटेर ल्याएको चर्चाले उ बेलादेखि नै लिम्बू समाजमा विनिमय प्रणालीको पनि शुरु भएको देखिन्छ । वास्तवमा सेहोनाम्लाङले लिम्बू सभ्यताको आदिम कालखण्डको झझल्को दिन्छ । वास्तवमा मान्छेको जोवानसँग फूललाई दाँजेर हेर्ने लिम्बूको छुट्टै विशेषताः हो ।
यसरी याक्थुङ्बा लिम्बूहरूको सबैभन्दा आस्थाको नजिक सांस्कृतिक धरोहरको रूपमा सेहोनाम्लाङलाई पाउन सकिन्छ । अहिले सेहोनाम्लाङलाई छालासुकुवा डाँडाको रूपमा सीमित गर्ने गरिएको छ । यहाँका स्थानीयहरू सेहोनाम्लाङको संरक्षण गर्न खुलेर लागेको समेत २०६८ सालमा प्रकाशित लाइक जर्नलमा उल्लेख गरिएको छ । यही सेहोनाम्लाङलाई प्रचारगरी यस ठाउँको महिमा तथा वास्तविकता संसारभर पु¥याउने गरी फाल्गुनन्द गाउँपालिकाले छिमेकी स्थानीय तहहरुको समन्वयमा दिर्घकालीन गुरुयोजना बनाउने साथै प्रदेश र संघीय सरकार समक्ष योजना माग गर्ने फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए ।





























