आन्द्राबाट माछाको काँडा निकालियो

0
7

भद्रपुर ।

भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट करिब ४ सेन्टिमिटर लामो माछाको काँडा शल्यक्रिया गरी निकालेको हो ।

सहनीले बिहीबार घरमा माछा पकाएर खाएका थिए । उनी शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक अस्पतालमा उपचार गराउन पुगेका थिए । शुरु चिकित्सकले एपेन्डीसको दुखाइ भनेर आशङ्का गरेका थिए । एपेन्डीसको शल्यक्रिया गर्नुपर्छ भनेर उनी भर्ना भए ।

शल्यक्रिया गर्ने क्रममा पित्त देखियो । कतै बिरामीको आन्द्रा फुट्यो कि भनेर शङ्का लाग्यो– सर्जन डा. विनेश झाले भने–आन्द्रामा सानो टुसा (मासु) पलाएको रहेछ, त्यो सानो आन्द्रामा देखियो र त्यसमा प्वाल पनि परेको रहेछ ।

आन्द्रामा कसरी प्वाल प¥यो भनेर पानीले सफा गरेर हेर्दा भित्र माछाको एउटा काँडा भेटियो– डा. झाले भने । काँडाले आन्द्रालाई छेडेर प्वाल गरी भित्रै पसेको रहेछ, धन्न समयमै शल्यक्रिया गरी काँडा निकालेर बिरामीलाई बचाउन सफल भयौं– डा झाले भने । काँडा निकालेपछि बिरामीको दुखाइ कम्ती भएको र उनको अस्पतालमै राखेर उपचार भइरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here