लब्रेकुटी र सिलौटी धार्मिक पर्यटकीय गन्तव्य

0
18

युद्धबहादुर बोहोरा, 

लब्रेकुटी र सिलौटी क्षेत्र प्राकृतिक र धार्मिक रुपमा चिरपरिचित छ । त्यही क्षेत्रलाई किराँत धर्मको प्रमुख केन्द्र बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले धेरै योजनाहरु सञ्चालन गर्दै आएका छन् । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको लब्रेकुटी र सिलौटीमा प्राकृतिक सुन्दरताले सजिएको छ । त्यस क्षेत्रको विकास गरी स्थानीयबासीको आर्थिक सुधार हुने भन्दै तीनै तहबाट लगानी शुरु गरिएको हो ।

पाँचथर जिल्लाको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको सिमानामा पर्ने लब्रेकुटी र सिलौटी राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको तपोभूमी, कर्मभूमी र समाधी स्थलको रुपमा पनि चिन्ने गरिन्छ । विगत वर्षहरुमा छिटफुट रकम विनियोजन हुन्थ्यो । संघीय संरचनापछि तीनै तहबाट त्यस क्षेत्रको विस्तृत कार्ययोजना बनाएर लाखौ रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरी थप आकर्षण स्थल बनाउने काम भइरहेका फिदिम नगरपालिका–३ नम्बर वडाध्यक्ष नरेन्द्र गुरुङले बताए ।

करिब तीन हजार रोपनी क्षेत्रमा फैलिएको लब्रेकुटी र सिलौटी शान्त र रमणीय स्थलका रुपमा परिचित छ । गत वर्षसम्म तीनै तहबाट करिब चार करोड बराबरको रकम विनियोजन गरी निर्माणको काम भइसकेका छन् । प्रदेश सरकाले १९ करोडको बहु बर्षे ठेक्का मार्फत काम शुरु भएको छ ।

त्यस स्थानमा सडक, पार्क, भवन, कटेज, भ्यूप्वाइन्ट, गार्डेन, पदमार्ग र पोखरी निर्माण भइरहेको छ । यस स्थानमा धेरै पटक योजना पार्ने काम र अत्यन्तै धेरै ठूला रकमका योजनाहरु विनियोजन गरी किरात धर्मावालम्बीहरुको प्रमुख आस्थाको केन्द्र र पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्ने अभियानमा लागिपरेको पाँचथर प्रदेससभा ‘ख’का सांसद तथा पूर्व प्रदेश अर्थ मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

लब्रेकुटी सिलौटी क्षेत्रमा वन्यजन्तु, जडीबुट्टी पाइनुको साथै त्यहाँबाट रमणीय हिमश्रृंखला प्रयाप्त देख्न सकिन्छ । समुद्र सतहबाट दुई हजार सात सय मिटर उचाईमा लब्रेकुटी र सिलौटी पर्दछ । यो मेची राजमार्ग नजिकै पर्ने भएको हुँदा आगन्तुकलाई आउन सहज पनि छ ।

१९८८ सालमा नेपालको पूर्वमा पर्ने नौ जिल्लाका समाजसेवी तथा बुद्धिजीवीहरु भेला गराई राष्ट्रिय विभुती महागुरु फल्गुनन्दले लिम्बू समाज सुधार नीतिनियम बनाएर अभियान शुरु गरेको ठाउँ पनि हो । अहिले यस स्थानलाई जिल्लाकै प्रमुख गन्तव्य स्थल बानाउन तीनै तहको सरकारबाट प्रयाप्त बजेट विनियोजन भइरहेको स्थानीयबासी सुवास तुम्बापोले खुशी व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here