स्व. बुढाथोकी र कांग्रेस झापाको राजनीति

0
5

झापाली राजनीतिमा सबैभन्दा चर्चित, चलायमान र अवसरलाई चिन्न सक्ने सेतो बाघ भनेर चेतनशील नागरिकले चिन्ने लोकतन्त्रवादी नेता कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औं पुण्यतिथिमा उनलाई नेपाली कांग्रेसले सम्झना गरेको छ । जनस्तरमा सजिलै घुलिने, प्रष्टवक्ता, जनपक्षीय छवि बनाएका बुढाथोकी झापाली राजनीतिक आकाशमा जुगजुगसम्म स्मरण गरिने छन् । उनको ४५ औं पुण्यतिथिमा नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जली सभा’मा वक्ताहरूले उनको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

नेपाली कांग्रेसलाई जनप्रिय, सशक्त र नवीन नेपालको नेतृत्व गर्ने राजनीतिक दलका रूपमा स्थापित गर्न बुढाथोकीको जीवनबाट शिक्षा लिनुपर्नेमा सबैको जोड थियो । सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढाथोकीको रिक्ततालाई पूरा गर्न झापा जिल्लाको कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताए । उनले झापा कांग्रेसको सङ्गठन निर्माणमा बुढाथोकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै झापा कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

वास्तवमा झापामा बुढाथोकीको जनस्तरमा राम्रो सम्बन्ध थियो । उनमा सबैलाई समेटेर लैजाने क्षमता थियो, जसका कारण २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा माओवादी र नेकपा एमालेको दबदबा हुँदा र झापाका सबै क्षेत्रमा कांग्रेस पराजित हुँदा पनि उनी विजयी भएका थिए । स्व. बुढाथोकीले साम्यवादी विचारधारालाई कहिले पनि समर्थन नगरे पनि वामपन्थीसँग सदैव नजिकको सम्बन्ध राख्थे । उनले हिँडेको राजनीतिक बाटो सम्पूर्ण रूपमा नेपाली कांग्रेसको जस्तै थियो कि थिएन, तर समाजलाई परिवर्तनका पक्षमा हिँडाउन निरन्तर समर्पित रहने उनको राजनीतिको प्रमुख सोच थियो । स्वर्गीय बुढाथोकीले समाजलाई सङ्गठित रूपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनीबाट नेपाली कांग्रेसले सिक्ने कुरा धेरै छन् । स्वर्गीय बुढाथोकीमा खुला सम्बन्ध, कार्यकर्ताको काम गर्न रुचाउने, मनमा जे लाग्यो त्यही गर्ने, हक्की र आँटिलोपन थियो, जसका कारण उनी झापा कांग्रेस र सिङ्गो पार्टी पंक्तिभित्र सबैले रुचाइएका व्यक्ति बन्न सफल थिए । वास्तवमा स्वर्गीय बुढाथोकी झापामात्र नभई सिङ्गो मुलुकको नेता थिए । उनको योगदानलाई अगाडि बढाउन झापा कांग्रेस र सिङ्गो पार्टी लाग्नुपर्ने देखिन्छ । उनी विकासप्रेमी र निडर नेता थिए भने उनमा कसैलाई अन्याय भएको देख्न नसक्ने विशेषता थियो । उनको अभिभावकत्व झापा कांग्रेसले गुमाएको छ, झापा कांग्रेस गुट–उपगुटमा विभक्त छ ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद पार्टीको मूल आदर्शलाई शिरोधार्य गर्दै स्वर्गीय बुढाथोकीले देखाएको बाटोमा झापा कांग्रेस हिँडेमा झापा कांग्रेस वामपन्थीहरूसँग प्रतिष्पर्धाका लागि उभिन सक्ला भनी आशा गर्न सकिन्छ । नेपाली कांग्रेस सच्चिने, बद्लिने र सशक्त प्रतिपक्षको भूमिकाबाट जनताको हृदय जित्ने स्थानमा पुगेको छ, बुढाथोकीलाई श्रद्धासुमन अर्पण गर्नुको अर्थ मुलुक र जनताप्रतिको आफ्नो कार्यभारलाई बुझ्नु र सोही अनुरूप आफ्ना गतिविधि अघि बढाउनु हो भन्ने कुरा कांग्रेसले बुझ्न जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here