जन्मोत्सवमा विद्यार्थीलाई स्वीटर

0
4

युद्धबहादुर बोहोरा,
पाँचथर।

फाल्गुनन्द गाउँपालिकाको ४ नम्बर वडास्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा ५ सम्ममा सबै विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ ।

विद्यालयमा कार्यरत शिक्षक सृजना खेवा र उनका पति हाल दक्षिण कोरियामा रहेका उदिप सिवाले आफ्नो छोरी परिश्मा सिवाको सातौं जन्मदिनको अवसर पारेर विद्यालयमा बालबालिकालाई स्वीटर वितरण गरेका छन् । २०७४ साल चैत्र १२ गतेका दिन जन्मिएकी सिवा उक्त विद्यालयमा २ कक्षामा अध्ययनरत् छात्रा हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रकुमार नेम्वाङको प्रमुख आतिथ्यमा सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी लगनशिल, जेहेन्दार तथा अनुशासित विद्यार्थीहरुलाई सिवा र उनकी आमा खेवाले कपडा हस्तान्तरण गरिएको विद्यालयका सहायक प्रधानध्यापक मनकुमार ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष नेम्वाङले जन्मदिनमा केक काटेर, चकलेट बाँडेर, पार्टी खुवाएर फजुल खर्च गर्नुभन्दा यसरी जन्मोत्सवलाई सदुपयोग गर्दै सहयोग गर्नु प्रशंसायोग्य भएको बताउँदै जन्मोत्सवको शुभकामनासहित अभिभावकलाई धन्यवाद दिए ।

यस किसिमको सकारात्मक कार्यले विद्यार्थीलाई निरन्तर विद्यालय आउन प्रोत्साहन साथै निम्न आर्थिक अवस्था भएका परिवारलाई राहत पुग्ने र बालबालिकालाई राम्रो प्रेरणा मिल्ने भन्दै प्रधानध्यापक नरप्रसाद नेम्बाङले जन्मदिनको शुभकामना दिए ।

साथीको जन्मदिनका अवसरमा स्वीटर पाएकोमा बालबालिकाहरू निकै हर्षित देखिन्थे । वडाको ज्यामिरेमा अवस्थित सवैभन्दा जेठो विद्यालयका पूर्व व्यवस्थापन समिति सदस्य समेत रहेका सिवा हाल कोरियामा रहेर आफूले पढेको विद्याललाई शैक्षिक उन्नतीका लागि साथ सहयोग गर्न पाउँदा खुशी भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here