ढाकु : ढकालको उदगम स्थल

१४ चैत्र २०८०, बुधबार मा प्रकाशित

गत फागुन २५ गतेदेखि सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको कमल बजार नगरपालिका–८ मा रहेको ढाकु भन्ने स्थानमा सप्ताहव्यापी महायज्ञ सञ्चालन भयो । उपमन्यु गोत्रीय ढकाल बन्धुहरुको आयोजनामा विश्वशान्ति एवम् पितृ उद्धारको कामना गर्दै श्रीमद्भागवत अनुष्ठानको आयोजना गरिएको थियो । त्यहाँ रहेका देउतिबज्यैको मन्दिर आसपासमा अन्य ११ वटा हवन कुण्डको व्यवस्था गरिएको थियो । सजिसजाउ छुट्टाछुट्टै टहरासहितको हवनकुण्डका लागि ५१ जना शास्त्री पण्डितहरुको व्यवस्था गरिएको थियो । ढकाल बन्धुहरुको उदगम स्थल ढाकुको पहिलो महायज्ञको बृहत सहाभागितामा सम्पन्न गरेर आउँदा गौरव कै अनुभूति भएको छ ।

प्राचीन इतिहासमा उक्त ठाउँमा १२ जना बज्यैहरुको अपगतिमा परी दिवंगत भए यता कुनै मोक्षको निम्ति त्यसरी पितृ उद्धारको कर्म नभएकैले होला एउटा सानो प्राकृतिक जङ्गलभित्र रहेको देउती बज्यैको मन्दिरको छेउ जान सबै डराउने गर्दा रहेछन् । त्यसको नजिकै रहेको जलपादेबी मावि र कृषि क्याम्पसमा पढ्ने छात्राहरुले मासिक श्राव भएको बखत विद्यालय कलेज जादा मुर्छा परेर ढल्ने गरेकाले सो समयमा घरैसँग जोडिएर बनाइएको छाउ गोठमा पाँचदेखि सात दिनसम्म बस्दारहेछन् । देउती बजैको वायु लाग्यो भने मरिन्छ भनेर त्यहाँ कोही पनि जान मान्दैन रहेछन् । कमल बजारभन्दा चार किलो मिटर दुरीमा रहेको ढाकुमा मन्दिर छेउमा विचित्रको एउटा रुख उम्रिएको रहेछ । यसै सन्दर्भमा पाइएका केही तथ्यहरु प्रस्तुत गर्न सान्दर्भिक ठानेको छु ।

प्राचीन शिलालेख, ताम्रपत्र, पाटापत्र, श्रुति परम्परा र इतिहासको अध्ययन अनुसन्धान गर्दा सन् ५५० देखि भारत वर्षमा पैगम्बर मोहम्मद मुश्लिम धर्म गुरुको उदय भएपछि हिन्दुहरुको बिरुद्धमा विभिन्न क्रूर गतिविधि हुन थालेको पाइन्छ । यही आतंकले त्यहाँबाट ब्राह्मण समुदाय विस्थापित हुँदै १०औं शताब्दीको शुरुमा ढकालहरुको मुलपुर्खा गोविन्ददेव भट्ट भारतको ढाकेश्वर हुँदै धर्म रक्षार्थ कुमाउ गडवाल हुँदै कर्णाली नदी तरेर खस राज्य नेपाल प्रवेश गरेको पाइन्छ ।

तत्कालीन समयमा मन्दिरका पुजारी, ज्योतिषी र ब्राह्मणहरुलाई भट्ट भनिन्थ्यो । खस राज्यको सेराबुटी थर्पुमा माण्डब्य गोत्रका जाजा भट्ट, मौदगल्य गोत्रका लालु भट्ट, अत्री गोत्रका भास भट्ट, प्रभास भट्ट, लल्ल भट्ट, उपमन्यु गोत्रका गोबिन्ददेब भट्ट लगायत अन्य गोत्रका भट्टहरुको समेत बसोबास रहेको पाइएको थियो । एकआपसमा मित्रवत् राम्रो सम्बन्ध रहेको श्रुति परम्परा छ ।

१०औं शताब्दीमा खस राज्यका राजा समुन्द्रपालको राज्यकालमा सेराथर्पुबाट राजदरबार कोल्टिनगरमा राजाको ज्योतिषीका लागि शाण्डिल्य गोत्रका जाजा भट्ट जान लाग्दा उनका कान्छा भान्जा अत्री गोत्रका बिलल्ल भट्ट पछि लागेर सँगै राजदरबार मै काम गर्न लागेछन् । यसैक्रममा उनको राजकुमारी हारमतासँग सम्बन्ध बढ्दै गयो । हारमताले बिलल्ल भट्टसँग पतिवरण गरेको कथन पनि जोडिएको छ ।

सिजापती महाराज समुन्द्रपालबाट विधिवत् रुपमा राजकुमारी हारमताको विवाह बिलल्ल भट्टसँग हुदा कन्यादानका बखतपछि सन्तान जन्मिएको खण्डमा कुनै थर्पुको राज्य दाइजो दिने बचन दिइएको थियोभन्ने जनश्रुति रहिआएको पाइएको छ । सन् १०६० देखि १०७० को बीचमा खस राजा समुन्द्रपालको राज्यकालमा थर कायम भएको थियो । थर कायम हुँदा त्यो ठाउँ आउनु पूर्व बसोबास गरेको स्थानको नाम जोडिएर थर कायम गरिएको भन्ने कथन रहिआएको पाइएको छ ।

अछाममा थर अनुसार कै गाउँका नाम रहेका रहेछन् । जस्तो बजगाइको गाउँ बजगाउ, तिम्सिना बसोबास गर्ने गाउँ तिमिल्सैन, ढकालको ढाकु, खतिवडाको खतेडी, धमलाको धमाली, घोडासैनिको घोडा सैन, रिमालको रिमा, देवकोटाको देबकोट, ढुङानाको ढुङानी, १२ थरी ब्राह्मणहरुको सामुहिक पूजापाठमा कामको बाडफाड गरिएको थियो । बाहुनहरुमा पवित्र बाहुन ढकालले सामुहिक पूजापाठमा भोजमा भात भान्साको जिम्मेवारी पाएको थियो । तिम्सिनाले होमकुण्डको जिम्मेवारी पएको थियो भने खतिवडाले बेद पाठ गर्ने, रेग्मीले ज्योतिषीको ।

खस राजा समुन्द्रपालको राज्यकालमा गोविन्ददेब भट्टको थर ढकाल भएको थियो । उनका चार छोराहरु ढाकु मै जन्मेका थिए । जेठा बामचन्द्र, माहिला तिलाचन्द्र, साहिला देवचन्द्र र कान्छा ताराचन्द्र हुन् । माइला छोरा तिलाचन्द्र ढकाल खस राज्यका राजा सुखपालको राजदरबारका ज्योतिषी थिए । उनलाई राजा प्रसन्न भई चिलखाएको जग्गा बिर्ता दिएका थिए । साहिला देबचन्द्रका छोरा हिरामणी पूर्वी स्याङ्जा तनहुँ तर्फ लागे । कान्छा ताराचद्र भने सुर्खेततर्फ अविवाहित अवस्था मै लागेको कथन छ । जेठा बामचन्द्र भने ढाकु मै बसेको भन्ने जनविश्वास रहिआएको छ ।

यसरी विश्वव्यापी रुपमा छरिएर रहेका ३० लाखको संख्यामा फैलिएर रहेको विश्वास गरिन्छ । ढकाल बन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रिय समिति कोटीहोम झापाको अगुवाइमा देश विदेशमा रहनुभएका समस्त बन्धु वर्गलाइ एउटै मालामा गासेर एउटा ऐतिहासिक कार्य गर्ने अवसर मिलेकोमा केन्द्रिय समितिको सचिवको हैसियतले आत्म गौरव मिलेको छ ।

(ढकाल बन्धु हित तथा वंशावली एकीकृत समाजका केन्द्रिय सचिव हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here