महरा रिहाइले रविको स्टन्टमा ब्रेक : सुन तस्करीमा अर्थमन्त्री तानिने डर

0
4

काठमाडौं।

चिनियाँ मार्ग हुँदै नेपालमा सुन तस्करीको सञ्‍जाल विस्तार गरिरहेका सत्तारुढ नेकपा माओवादीका शीर्ष नेताहरु सबै तानिने भएपछि सुशासनको नारा दिएर स्टन्ट गरिरहेका गृहमन्त्री रवि लामिछानेको रफ्तारमा ब्रेक लागेको छ।

भेपमार्फत तस्करी भएको सुनमा संलग्नता रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा ५ दिनमै रिहा भए। उनी रिहा भएसँगै पक्राउ गर्नुको कारण र गृहमन्त्री लामिछानेको कार्यशैलीमाथि नै प्रश्‍न उठ्न थालेको छ।

प्रहरीले महरालाई ५ चैतमा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट पक्राउ गरेको थियो। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले १ चैतमा बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको थियो।

सीआईबीले उन्मुक्ति दिएका महरालाई मुद्दा चलाउन १० वटा आधार रहेको प्रतिवेदनमा उल्लेख थियो। प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नयाँ टोलीले जाँच थालेको थियो।

त्यस क्रममा निगरानीमा रहेका महरा रोल्पास्थित घर जाने भन्दै काठमाडौंबाट हिँडेका थिए। तर, ५ चैतमा आफूहरुलाई छाडेर महरा अर्कै गाडीमा गएको भन्दै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) ले प्रहरी हेडक्वार्टरमा खबर गरेका थिए।

महरालाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि अनुमति लिन उनलाई सीआईबीले अदालत उपस्थित गराएर ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो। महराको बयान लगायतको अनुसन्धान कार्य गर्नुपर्ने भएको भन्दै उनलाई हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो। तर, अदालतले उनको स्वास्थ्य स्थितिलाई देखाउँदै आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको थियो।

त्यसपछि महरा नर्भिक अस्पताल भर्ना भएका थिए भने उनको सरकारी वकिलको कार्यालयमा बयान सुरु गरिएको थियो। बयानका क्रममा उनले आफूले चिनियाँ नागरिक दावाजिन वाङलाई फलफूल व्यवसायीका रुपमा मात्र चिनेको दाबी गरेका छन्। उनको बयानबाट अर्थमन्त्रीसमेत रहेका वर्षमान पुन सहितका माओवादीका अन्य शीर्ष नेताहरु पनि मुछिने सूचना पाएपछि सरकारको दबाबमा सरकारी वकिल कार्यालयले महरालाई रिहा गर्न आदेश दिएको हो।

महराले अमेरिकी दूतावासमा काम गरिसकेका एक जना व्यक्तिलाई छोरालाई छुटाइदिन भन्दै शंकास्पद म्यासेज लेखेको समेत पाइएको छ। आफूलाई प्रहरीले नछुने बताउँदै उनले छोरा राहुललाई छुटाउन सहयोग गर्न आग्रह गरेका थिए। यसरी शंकास्पद गतिविधिमा लागेका व्यक्तिलाई रिहा गरेर रवि लामिछानेले ल्याउन खोजेको सुशासनको नमुना पनि देखिएको छ। यसरी रास्वपा सरकारमा रहिरहने हो भने पार्टीको नैतिक धरातल र जनताले गरेको विश्‍वासमा घात हुने भएकोले सरकारबाट बाहिरिन दबाब बढेको छ। नेपाल पाना बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here