राजनीतिक पुस्तान्तरण र इलाम–२ को उपनिर्वाचन

२० चैत्र २०८०, मंगलवार मा प्रकाशित

२०८१ साल बैशाख १५ गते हुन गइरहेको इलाम– २ को निर्वाचन रोचक हुने अनुमान गरिएको छ । किनभने रबी लामिछानेले नेतृत्व गरेको पार्टीले पत्रकार मिलन लिम्बूलाई अगाडि सारेको छ । बिशेषगरी नेकपा एमालेको तर्फबाट सुहाङ नेम्बाङ, पिता सुवास नेम्वाङको बिराशतलाई निरन्तरता दिन चुनावी मैदानमा छन् । उहाँहरु दुबैको उम्मेदवारीले युवा मतदाताहरु उत्साहित छन् भने समग्र युवा अभियन्ताहरुको बुझाई राजनीतिक पार्टीहरुले युवालाई प्राथमिकतामा राखेर निर्वाचनमा पार्टीको तर्फबाट युवालाई उम्मेदवार बनाउने घोषणा गर्नु राजनीतिमा पुस्तान्तरणको संकेत हो भन्ने छ ।

नेपाली राजनीतिमा युवाको प्रभावशाली उपस्थिती र राजनीतिमा पुस्तान्तरणको अभियानको सतप्रतिशत श्रेय राष्ट्रिय स्वतन्त्र पार्टीलाई जान्छ भन्दा फरक पर्दैन । किनकि उक्त पार्टीका सबै सांसद युवा छन् । नेपाली राजनीतिमा असफल नेतृत्व, भ्रष्टाचार, नेतावाद, कृपावाद, चाप्लुसीबादको विकराल अवस्थाको अन्त्य गर्न रास्वपा स्थापना गरिएको पार्टीका सभापतिले भन्ने गरेका छन् । पुराना राजनीतिक पार्टीका केही नेता कार्यकार्ताहरुले जनतामाझ भ्रम छर्न खोजे पनि रास्वपा प्रति जनताको जनताको विश्वाश दिन प्रतिदिन बढिरहेको छ ।

राजनीतिमा युवालाई अघि सार्नु पर्ने र युवा पुस्ताले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता रास्वपाले स्थापित गरिसकेको छ । जसको फलस्वरुप रास्वपाको एजेन्डा प्राइमेरी इेलेक्सन (पार्टीभित्र आन्तरिक चुनाव) नेपाली कांग्रेसले पनि अवलम्बन गर्नुपर्ने भनेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन् । २०७९ असारमा पार्टी स्थापना गरी छ महिनाभित्र २० जाना दिग्गज व्यक्तिहरुलाई संसदमा प्रभावशाली उपस्थिती गराउन सक्नु आफैमा राजनीतिक छलाङ हो ।

सयुक्त राज्य अमेरिकाको नागरिकता परित्याग गरी पार्टी सभापति लामिछाने आफ्नो पुरानै नागरिकतालाई निरन्तरता दिएको बिषयले तत्कालिन अवस्थामा उनले सम्हालेको गृह मन्त्रालय र सांसदको जिम्मेवारी एकै पटक खोसिए पनि २०८० साल बैशाखमा भएको उपनिर्वाचनमा अत्याधिक बहुमतका साथ अघिल्लो चुनावभन्दा थप पाँच हजार मत चितवनबासीले लामिछानेको सत्कर्मलाई उपहार स्वरुप दिएका थिए भने संसदमा अर्का प्रभावशाली व्यक्ति अर्थविद् डा. स्वर्णिम वाग्ले तनहुँबाट बहुमतका साथ निर्वाचित भएर सांसद बनेका स्वर्णिम इतिहास रास्वपासँग छ भने बारा २ बाट भने पार्टीले पराजय भोग्नु परेको अनुभव पार्टीसँग छ । त्यसकारण रास्वपाका निम्ती अब हुने प्रतेक निर्वाचन चुनौती र अवसर दुबै हुन ।

इलाम २ मा भने रास्वपालाई चुनाव जित्न सहज छ किन भने– सुवाश नेम्वाङ जिवित हुन्थे भने उनका छोरा सुहाङ यती बेला पनि अष्ट्रेलियामै बसोबास गरिरहेका हुन्थे । यसरी हेर्दा सुहाङको नेपाली राजनीतिसँग गहिरो लगाव देखिँदैन । उता पत्रकार तथा युवा अभियन्ता मिलन लिम्बू इलाम कै माटोमा केही गर्ने अठोटका साथ स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने साहसलाई सम्मान गर्दै रास्वपाले उनलाई पार्टीको उम्मेदवारको रुपमा अघि सारेको छ ।

रास्वपाको चुनावको पूर्व तयारी गर्ने क्रममा २०८० फागुन १९ गते रास्वपाले इलाम–२ का छ वटा भिन्नभिन्नै पालिकामा छ जना सांसद सहभागी भएर जनताको धारणा बुझी त्यस अनुरुप पार्टीको उम्मेदवार तयारी गरेको विषयलाई जनताले सम्मानका साथ स्वागत गरेका थिए । इलाम–२ मा ८० प्रतिशतको हाराहारीमा आदिबासी जनजाति समुदायको बसोबास रहेको र हाल नेकपा एमाले उक्त समुदायको पहिचान बिरोधीको रुपमा चित्रित भएका कारणले यसपाली इलाम–२ मा एमालेले चुनाव जित्ने सम्भावना कम छ ।

प्रदेश १ को नामाकरण गर्ने क्रममा किरात प्रदेश नामकरण गर्नुपर्ने आदिबासी जनजाति समुदायको मागलाई नेकपा एमाले, नेपाली कांग्रेसले बेवास्ता गरेको तितो यथार्थ सो समुदायसँग छ । त्यसकारण उनीहरुलाई चुनाव जित्न सहज छैन । तर, त्यो भन्दा धेरै नेपाली कांग्रेस, एमाले र अन्य पार्टीहरुको असफल राजनीति उनीहरुको हारको कारक बन्नेवाला छ इलाम–२ मा । नेपाली कांग्रेस र नेकपा माओवादीले हालसम्म पनि पार्टीको उम्मेदवारको नमावली सर्वाजनिक गरी नसकेको अवस्थाले सो पार्टीको राजनीतिक प्रभाव इलाम–२ मा न्यून रहेको स्पष्ट छ ।

रास्वपाले चुनावी अभियानका दौरान रास्वपाले सङ्घीयताता, पहिचानका बिषयमा भने पार्टीको धारणा स्पष्ट पार्नु पर्नेछ । पुराना राजनीतिक दलहरुले सृजना गर्ने भ्रमलाई चिर्नुपर्ने दायित्व पनि रास्वपाको नेतृत्वको रहेको छ भने उम्मेदवार मिलन लिम्बूको नेतृत्वको क्षमता प्रदर्शन गर्ने बेला पनि यही चुनाव हो । त्यसकारण आसन्न संघीय चुनावलाई रास्वपाले चुनौती र अवसर दुबै अवस्थालाई पार्टी अनुकूल बनाउन लागीपार्नु पर्नेछ ।

(शर्मा राजनीतिक बिश्लेशक /सामाजिक अभियान्ता)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here