व्यवसायीका सफल नेतृत्वकर्ता:प्रकाश

0
15

 

झापाको बिर्तामोडमा लामो समयदेखि सफल व्यवसायीका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी सफल नेतृत्वकर्ता हुन् । विक्रम सम्वत् २०३५ साल जेठ १० गते जन्मिएका शिवाकोटीले बिर्तामोडमा २०६४ सालबाट व्यवसाय शुरु गरेका हुन् । अटो मोबाइल्स, खाद्यान्न लगायत विभिन्न व्यवसायमा सफल बनेका शिवाकोटीले बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व गरिरहेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको सहसचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका शिवाकोटीले संकटको समयमा व्यवसायको सारथी बनेर आफ्नो कुशल नेतृत्व प्रस्तुत गरिसकेका छन् ।

कोरोना भाइरसका कारण विश्वव्यापीरुपमा अर्थतन्त्रमा असर परिरहेका समयमा व्यवसायलाई चलायमान बनाउनुका साथै व्यवसायीको स्वास्थ्य सुरक्षा तथा मजदुरलाई संरक्षण गर्न उनी अग्रस्थानमा खटिएका थिए । सामाजिक क्षेत्रमा पनि अग्रसर देखिएका शिवाकोटी जेसीज, रोटरी, लायन्स लगायतका विभिन्न संघ–संस्थाको पनि नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । हक्की स्वभावका शिवाकोटी नाजायज कुरालाई सिँधै अस्वीकार गर्ने गर्छन् । मनका धनी रहेका उनी कोरोका भाइरसका कारण लकडाउनको अवस्थामा रहेका बेला गरीब, दुःखीलाई खाद्यान्न वितरण गर्नुका साथै मजदुरहरुलाई आवश्यक पारिश्रमिक दिँदै उनीहरुको संरक्षणमा उदारता देखाएका थिए । विभिन्न मठ–मन्दिर तथा विद्यालयमा समेत आफ्नो कार्यकौशल देखाइसकेका शिवाकोटीले बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व सफल ढंगमा गरेका छन् ।

आफ्नो नेतृत्वका समयमा व्यवसायसँग सम्बन्धिन कुनै पनि विवाद नआएको तथा कर सम्बन्धी भएका सामान्य विवादहरुलाई आफूले सहजीकरण गर्दै समाधान गरेको शिवाकोटीको भनाइ छ । देशका विभिन्न स्थानमा चन्दा आतंक सृजना भइरहेका समयमा उनले बिर्तामोड क्षेत्रमा व्यवसायीलाई चन्दा आतंकबाट भने मुक्त गर्न सफल बने । कसैले चन्दा मागेमा त्यस समूहसँग आफैले कुरा गरेर व्यवसायीलाई संरक्षण गर्ने भूमिका उनले गरेका थिए । साथै बिर्तामोड उद्योग वाणिज्य संघको सार्वजनिक भवनका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका शिवाकोटीले अतिथि सदनको माथिल्लो तलाको भवन निर्माणका लागि निर्माण समितिको संयोजक भएर उत्कृष्ट हल बनाउन सफल बनेका छन् । शिवाकोटीकै पहलमा हाल गिरीराजकुमारी प्रसाईको स्मृतिमा वाणिज्य संघमा स्वागत गेट निर्माण भइरहेको र उक्त गेट निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए ।

विपद्का समयमा व्यवसायीको साथमा रहने गरेका शिवाकोटीले बिर्तामोड क्षेत्रमा देखिएका समस्या समाधान गर्न उनी अग्रसर बनेका थिए । आगलागीमा सहयोग, कोभिडका समयमा खाद्यान्न वितरण, बाढीपीडितलाई सहयोग गर्न पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । वाणिज्य संघको नेतृत्व गरेसँगै विभिन्न क्षेत्रमा भएका विपद्मा सहयोग गरेको उनको भनाइ छ । राजश्व कार्यालयले अनावश्यक दुःख दिँदा त्यसबिरुद्ध शिवाकोटी अग्रस्थानमा उभिएर व्यवसायीको पक्षमा बोल्ने गरेका थिए । उनले बिर्तामोडका व्यवसायीलाई सक्षम र जिम्मेवार बनाउने उद्देश्यले आफ्नो कार्यकालमा विभिन्न तालिम र प्रशिक्षणहरु सञ्चालन गरेको बताए । उनको पालामा कर सम्बन्धी तालिम सञ्चालन भएका थिए भने डिजिटल सफट्वेयरहरु सम्बन्धी प्रशिक्षण प्रदान गरिएको उनले बताए । व्यवसायी र कामदारबीच हुन सक्ने विवाद तथा घर मालिक र व्यवसाय सञ्चालकबीच हुन सक्ने समस्या समाधान गर्ने उद्देश्यले शिवाकोटीले नै युनिकम नेपालसँग सम्झौता गरी समस्या समाधान गर्ने छुट्टै टोली समेत गठन गरेका थिए । समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्दै सबैले जितेको महशुस गर्ने हिसाबले आफूले काम गरेको शिवाकोटीको भनाइ छ ।

कोरोना संक्रमणका कारण ठप्प जस्तै बनेको व्यवसाय सञ्चालन गर्नका लागि बिर्तामोड उद्योग वाणिज्य संघले औद्योगिक कृषि महोत्सव आयोजना गरेर व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ । उक्त महोत्सवकै कारण धेरै व्यवसायीले आफ्नो व्यवसायलाई पुनः अगाडि बढाउन मद्दत मिलेको उनको भनाइ छ । व्यवसायबाट आएको मुनाफालाई व्यवसायी राहत कोषमा जम्मा गरेर कोष वृद्धि गर्नुका साथै कुनै पनि आपदविपद्मा व्यवसायलाई सहयोग गर्न सकिने उनको भनाइ छ । उनले फजुल खर्चलाई समेत कटौती गरेको बताए । अनावश्यक खर्चका कारण संघलाई आर्थिक व्ययभार पर्ने भएकाले अनावश्यक रुपमा गरिने खर्च कटौती गरेर संघमा जम्मा भएका रकमलाई संरक्षण गर्न आफू नेतृत्वको समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको शिवाकोटीको भनाइ छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई आफ्नो सधैँ साथ र सहयोग रहने भन्दै शिवाकोटीले आगामी बैशाख १५ गतेभित्र पद हस्तान्तरण गर्ने बताए । बिर्तामोड क्षेत्रको सरसफाई गर्नका लागि बिर्तामोड नगरपालिका, नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न संघ–संस्थाको सहयोग र सहकार्यमा बिर्तामोड क्षेत्रमा पटक–पटक सरसफाई अभियान सञ्चालन गर्नुका साथै कैलाली उद्योग वाणिज्य संघ र बिर्तामोड उद्योग वाणिज्य संघबीच भगिनी सम्बन्ध कायम गरेको उनको भनाइ छ । आन्तरिक राजश्व कार्यालयको सहयोगमा साताव्यापी कर सम्बन्धी कार्यक्रम सञ्चालन गरेको शिवाकोटीले बताए ।

चर्को बैंकको ब्याजदरका विषयमा वाणिज्य संघले पटक–पटक विज्ञप्ती प्रकाशित गर्दै बैंकहरुको ध्यानाकर्षण गराउनुका साथै व्यवसायीका समस्या समाधानका लागि बैंक तथा वित्तीय क्षेत्रका अगुवाहरुसँग छलफल र परामर्श गर्दै विभिन्न दवाबमूलक कार्यक्रमहरु समेत आफ्नो कार्यकालमा सम्पन्न गरेको शिवाकोटीले बताए । बैंक तथा वित्तीय संस्थाले गरेको उच्च बैंक ब्याजदर र प्रतिकुल बैंकिङ नीतिबिरुद्ध मोरङ व्यापार संघले गरेको हस्ताक्षर अभियानमा समेत आफूहरुले ऐक्यबद्धता जनाएको शिवाकोटीले बताए ।

नापतौल तथा गुणस्तर कार्यालय झापाको प्राविधिक सहयोगमा नापतौलका उपकरण चेकजाँच तथा नविकरण गर्ने कार्यक्रमलाई समेत सञ्चालन गर्नुका साथै कार्यालयलाई डिजिटल सिस्टममा लानका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा तालिम समेत सञ्चालन गरेको, बिर्तामोड उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी समूहलाई सचिवालयको व्यवस्थापन गर्नुका साथै व्यवसायी दुर्घटनामा केही राहत दिने उद्देश्यले पाँच लाखको व्यवसायी राहतको स्थापना गरेको शिवाकोटीको भनाइ छ । संघको मुद्दतीलाई ५० लाख रुपैयाँ पु¥याएको शिवाकोटीले जानकारी दिए ।

संघीय सरकारसँग समन्वय गर्दै बिर्तामोडका व्यवसायी तथा मजदुरहरुलाई लक्षित गरी कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन गर्नुका साथै अतिथि सदनको रेखदेखका लागि सदन कम्पाउण्डभित्र सीसी क्यामेरा समेत जडान गरेको उनले बताए । कोरोना महामारीमा अग्रस्थानमा रहेर काम गर्ने सुरक्षा निकायलाई मास्क वितरण गर्नुका साथै विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरेको शिवाकोटीको भनाइ छ । साथै एकका लागि एक अभियान अन्तर्गत बिर्तामोड उद्योग वाणिज्य संघद्वारा पाँच थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको शिवाकोटीले बताए । कृषिथोक उत्तर नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा व्यवसायी गरी बस्ने व्यवसायीलाई विद्युत मिटर जडानका लागि नगरपालिकाले सिफारिस नदिएको विषयमा नगरपालिकामा ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलन गरेर व्यवसायीको माग बमोजिम विद्युत मिटर समेत जडान गर्न सफल भएको शिवाकोटीको भनाइ छ ।

फोहोरमैला व्यवस्थापनमा लगाइएको करका सम्बन्धमा आवश्यक समन्वय गर्नुका साथै करका विषयमा आन्तरिक राजश्व कार्यालयसँग विभिन्न चरणमा छलफल गरेको बताइएको छ । बढ्दो चोरीका घटना न्यूनीकरणका लागि बिलबिजक बिना कुनै पनि सामग्री खरिदबिक्री नगर्न व्यवसायीलाई सचेत गराउनुका साथै बिर्तामोड क्षेत्रको सुरक्षाका विषयमा स्थानीय प्रशासनलाई जानकारी गराउँदै स्थानीय प्रशासनसँगको समन्वयनमा व्यवसायीको सुरक्षाका लागि आफूले पहल गरेको शिवाकोटीले बताए । बैंक तथा वित्तीय संस्थाका साथै अस्वभाविक भाडा वृद्धि गरिएका गुनासोहरुलाई सम्बोधन गर्नका लागि घरधनीहरुलाई वाणिज्य संघले अप्ठ्यारो परिस्थितिका समयमा समन्वय गरिदिन आग्रह गर्नुका साथै कृषिथोक उत्तर बुधबारे हटियामा रहेका व्यवसायीलाई उचित स्थानको व्यवस्था गरेर मात्र कम्प्लेक्स निर्माणका लागि अनुरोधसहित विज्ञप्ति मार्फत स्थानीय सरकारको ध्यानाकर्षण समेत आफू नेतृत्वको संघले गराएको शिवाकोटीको भनाइ छ ।

उनले केही व्यवसायीहरुलाई आफूहरु कै पहलमा विभिन्न क्षेत्रमा स्थानान्तरण गर्नका लागि सहयोग गरेको बताए । व्यवसायीको पक्षमा आफूले विभिन्न काम गर्नुका साथै यस क्षेत्रको विकास तथा व्यवसाय प्रबद्र्धनका लागि विभिन्न निकायसँग छलफल, अन्तरक्रिया तथा बहसहरु सञ्चालन गरेको उनको भनाइ छ । बिर्तामोडसँगै जिल्लाका विभिन्न स्थानमा आएर सफल नेतृत्व गरेका प्रहरी अधिकृत तथा राजश्व कार्यालयका प्रमुखहरुको स्वागत तथा विदाइ कार्यक्रममा समेत बिर्तामोड उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका निर्वाह गरेको शिवाकोटीले बताए । व्यवसायमा आबद्ध भएकाले आफू नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सदस्यका रुपमा जिम्मेवारी बहन गरिसकेको जानकारी दिए । उनले अझै पनि आफू व्यवसायीका हरेक समस्यालाई समाधान गर्नका लागि पहल गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here