कनकाईमा प्लास्टिक पेवर्स उत्पादन

0
13

झापा।

कनकाई नगरपालिकामा फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लास्टिक ब्लक (पेवर्स) उत्पादन शुरु गरेको छ ।

स्थानीय सरकार तथा निजी लगानी रहेको सो ऊर्जा परियोजनाले दैनिक दुई हजार थान पेवर्स उत्पादन गर्ने गरी परीक्षण उत्पादन शुरु गरेको हो । प्लास्टिक ब्लक मेकिङ मेसिन रु. एक करोड ७१ लाखको लागतमा खरिद गरी ल्याइएको परियोजनाका मेकानिकल इञ्जिनियर मोहमद नसिम अलीले जानकारी दिए ।

उनले सो मेसिनबाट दैनिक १० जनशक्तिको प्रयोग गरी २४ घण्टा नै पेवर्स उत्पादन गर्न सकिने बताए । उनले परीक्षणकालीन समय एक हप्ताका लागि भएको समेत बताए । भारतबाट ल्याइएको स्वचालित मेसिनले बालुवा र प्लास्टिकको मिश्रण आफँै मिलाउने उनको भनाइ छ ।

पहिलो चरणमा प्लास्टिकलाई टुक्र्याएर ६० देखि ७० डिग्री तापक्रममा पगालेर लेदो बनाइने र लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने गरेको उनले जानकारी दिए । विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने गरेको ब्लकको भार क्षमता ८० टन रहेको अलीले बताए । मर्मत राम्रो भएमा वर्षाैंसम्म ब्लकले काम गर्ने उनको भनाइ छ ।
प्लास्टिक र बालुवाबाट निर्मित ब्लकको मूल्य प्रतिगोटा रु. १२ रहेको छ । उनले भने– सिमेन्टबाट निर्मित ब्लकको मूल्यभन्दा झण्डै आधा खर्चमा पाइन्छ । यस ब्लकबाट सडकदेखि घर कम्पाउन्ड निर्माण प्रयोग गर्न सकिन्छ ।

दैनिक दुई हजार ब्लक उत्पादन गर्न चार टन प्लास्टिक चाहिने ऊर्जा परियोजनाले जनाएको छ । उनका अनुसार हाल दैनिक डेढ टन प्लास्टिक मात्र परियोजनामा सङ्कलन हुने गरेको छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा परियोजनाले वर्गीकरण गरेको फोहोरबाट बायोग्यास र ब्लक निर्माण भएको हो । बायोग्यास उत्पादन भइरहे पनि त्यसको बिक्री हुन नसकिरहेको परियोजनाले जनाएको छ ।

परियोजना कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिका, दातृ निकाय र स्थानीय नागरिक समेतको रु. २२ करोड लगानीमा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि बायोग्यास प्लान्ट निर्माण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here