हाम्रो पाठशालाको पाँचौं वार्षिकोत्सव

0
8

सुरुङ्गा ।

कनकाई नगरपालिका–३ स्थित हाम्रो पाठशालाको पाँचौं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धर्मकला पौडेल (कोइराला) को अध्यक्षता, कलानिधि शिक्षा प्रतिष्ठानका संरक्षक इन्द्रमणि कोइरालाको विशेष उपस्थिति र अग्रज शिक्षासेवी भक्तिप्रसाद सङ्ग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका शतप्रतिशत अभिभावकको उपस्थिति रहेको र हरेक विद्यार्थीको कम्तीमा एउटा प्रस्तुति रहेको थियो ।

स्थानीय उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न कार्यक्रममा नानीबाबुहरूले कविता, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ३ का विद्यार्थीहरू अदीति उप्रेती र ब्रोनिस ढकालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रस्तुत गरिएको आमा अभिभावकको नृत्यलाई दर्शकले औधी रूचाएका थिए ।

२०७५ साल चैत २५ देखि ७ जना विद्यार्थीबाट शुरु भएको विद्यालयमा हाल २ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् भने २५ जना शिक्षक र ११ जना कर्मचारी कार्यरत रहेका छन् । हाल सो विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ४ सम्म पठनपाठन भइरहेको छ भने शैक्षिक सत्र २०८१ देखि कक्षा ५ सुचारु गरिने भएको छ ।

कनकाई नगर क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्यका साथ स्थापित हाम्रो पाठशाला छोटो अवधिमै धेरै अभिभावकको आकर्षणको विद्यालय बन्दै गएको छ । काठमाण्डौं र झापाका विभिन्न शैक्षिक संस्थामा विविध भूमिकामा रही उच्च शैक्षिक अनुभव हासिल गरेका विद्यालयका संस्थापक प्रिन्सिपल अखिलकुमार कोइराला कनकाई नगर क्षेत्रमा एक अग्रणी शिक्षाकर्मीका रूपमा सुपरिचित रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि भक्तिप्रसाद सङ्ग्रौला, विद्यालय अभिभावक सङ्घका एकाइ सभापति शिवकुमार कडेंल लगायतले बाल मनोविज्ञानलाई ख्याल गर्दै व्यावहारिक सिकाइ सहजीकरण गरिने विद्यालयको रूपमा ‘हाम्रो पाठशाला’ एक भरपर्दो शैक्षिक संस्था बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू प्रमिला प्रसाईं, सुष्मा न्यौपाने, गोपालप्रसाद कोइराला, किशोरकुमार दाहाल, शिक्षक अभिभावक सङ्घका सदस्यहरू देवेन्द्र मैनाली, प्रतिमा सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कन्काई माविका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं, प्रधानाध्यापक कर्णबहादुर डाँगी, मन्टेशरी एसोसिएसन अफ झापाका सचिव गोपालप्रसाद सङ्ग्रौला, भगवती साकोसका अध्यक्ष खेमप्रसाद प्रसाईं, कनकाई उद्योग वाणिज्य सङ्घका महासचिव सरोज सिटौला, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष सरला दाहाल, सुरुङ्गा डान्स सेन्टरका सञ्चालक अमन गुप्ता लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मीरा प्रधानले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here