मृगौलापीडित केशवतीको उपचारमा खर्च अभाव

0
9

झापा ।

दुबै मृगौलाले काम गर्न छाडेपछि जीवन मरणको दोसादमा रहेकी अर्जुनधारा–५ की केशवती राजवंशी बाँच्न चाहन्छिन् । तर, उपचार गर्ने खर्च अभावमा उनी अहिले जीवन मरणको दोसादमा पुगेकी हुन् । दुबै मृगौला फेल भएर पीडित बनेकी ३० वर्षीया राजवंशी भावुक हुँदै भन्छिन्– ‘मलाई बचाइदिनुस्, म बाँच्न चाहन्छु ।’

सात वर्षअघि श्रीमानसँगको सम्बन्ध टुटेपछि माइतमा आश्रय लिएर बसेकी केशवतीकी १३ वर्षीया एक छोरी छिन् । छोरीको भविष्य उज्ज्वल बनाउन वैदेशिक रोजगारमा तीन वर्षअघि दुबई पुगेकी केशवती चार महिनाअघि जनवरी ८ मा घर फर्किइन् । त्यो पनि दुबै मृगौलाले काम गर्न छाडेपछि रोगी शरीर लिएर ।

मेरा दुबै मृगौलाले काम गर्दैनन् केशवतीले भनिन्– ‘म बारम्बार दुबईमा बिरामी भइरहन्थे । धेरैजसो समय ‘प्रेसर हाई’ हुन थालेपछि ‘होलबडी चेकअप’का लागि अस्पताल गए त्यसबेला थाहा भयो कि मेरा दुबै मृगौलाले काम गर्न छाडेका रहेछन् ।’ उनले भनिन्– ‘त्यतिबेला मुटुमा पनि समस्या देखियो ।’

केशवतीको मुटुमा पानी जमेको छ । जसका कारण उनलाई स्वास्थ्यमा थप समस्या देखिएको उनकी दिदी राजवतीले बताइन् । ‘बहिनी विरामी भएर घर आइन् । अहिले जसोतसो उनको उपचार गर्दैछौं । तर उनलाई बचाउन हाम्रो मात्र प्रयासले सम्भव भएन । सहयोगका लागि म सबैसँग अपिल गर्छु ।’ –राजवतीले भनिन् ।

केशवतीको अहिले उनीसँग न खाने–बस्ने व्यवस्था छ न उपचार खर्च । माइतमा आश्रय लिइरहेकी केशवती अहिले ठूलो समस्याबाट गुज्रिरहेकी छिन् । अहिले बिर्तामोडको मनमोहन अस्पतालमा उनले डाइलाइसिस गराइरहेकी छन् । विदेशबाट कमाएको करिव दुई लाख उनले नोबेल, बी एण्ड सी, मनमोहन अस्पतालमा खर्च गरिसकेकी छन् । थप र निरन्तर उपचारका लागि उनलाई समस्या भएको हो । ‘म बाँच्न चाहन्छु, मलाई सबैले सहयोग गरेर बचाइदिनु प¥यो’ भन्दै उनले सबैसँग आग्रह गरिन् । मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिरहेकी केशवतीले त्यसका लागि सहयोग गरिदिन अपिल गरेकी हुन् ।

केशवतीको दुःख देखेर अर्जुनधारा–५ का स्थानीयले केशवती राजवंशी बचाउ अभियान शुरु गरेका छन् । स्थानीय ताराप्रसाद बरालको संयोजकत्वमा २७ सदस्यीय समिति गठन गरी आर्थिक संकलन शुरु गरिएको हो । गठन भएकै दिन आर्थिक संकलन शुरु भइसकेको छ । गणेशबहादुर कार्की एक हजार, बुधकुमार राजवंशी एक हजार, झमान गिरी एक हजार, लीलाराज संजेल एक हजार, विनोदकुमार बस्नेत एक हजार, गोपालप्रसाद पोखरेल पाँच सय, लक्ष्मी न्यौपाने सरु पाँच सय र रामबहादुर कार्कीले पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।

समस्यामा परेकी केशवतीलाई बचाउन आफूहरुले संचालन गरेको अभियानलाई सहयोग गरिदिन संयोजक बरालले आग्रह गरेका छन् । उनले सहयोग गर्न चाहने मनकारी सहयोगीहरुलाई पीडित केशवती राजवंशीको नेपाल बैंक लिमिटेडको बिर्तामोड शाखामा रहेको खाता नं. ०८८१०८०७६४६५७७०००००१ मा सहयोग गरिदिन आग्रह गरेका हुन् । केशवतीको बारेमा थप बुझ्न परेमा ९८४२६९९८७४ र ९७०६११७९८७ मा फोन गर्न सकिने बरालले बताए ।

केशवतीको उपचारका लागि कमल गाउँपालिका निवासी नन्दलाल भुजेलले झण्डै २४ हजार पाँच सय रुपैयाँ सहयोग गरे । केशवतीको घरमा उपचारका लाागि सहयोग रकम प्रदान गर्न आएका उनले केशवतीकी दिदी राजवतीलाई उक्त रकम प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here