पूर्वीय संस्कृतिको पुनर्जागरणको खाँचो

0
4

नेपाली समाजमा सम्बन्धविच्छेदको घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । शहरी क्षेत्रमा मात्र होइन ग्रामीण क्षेत्रमा समेत सम्बन्धविच्छेदका घटनाहरु बढ्दै जान थालेपछि नेपाली समाजको मौलिकता र विशिष्ट संरचना कमजोर हुँदै गएको छ । यस्तो घटना समाजका अगुवा, प्रतिष्ठा आर्जन गरेका तथा सन्तान हुर्काइसकेका दम्पत्तिहरुमा पनि त्यत्तिकै देखिएको छ । विवाह जन्मजन्मान्तरको सम्बन्ध जोड्ने आधार हो । हाम्रो पूर्वीय संस्कार र मान्यता अनुसार दाम्पत्य सुख प्राप्त गर्न संस्कारपूर्ण तरिकाले गरिएको सम्झौतापूर्ण सम्बन्धको प्रतीक हो– विवाह । यो सम्बन्धलाई बलियो बनाउन दुबै जनाबीच सुझबुझपूर्ण सोच, आचरण, समर्पित भाव र व्यवहार हुनैपर्छ ।

झापाको ग्रामीण क्षेत्र मानिने हल्दिबारी गाउँपालिकामा पनि सम्बन्धविच्छेदको घटना बढ्न थालेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिएका छन् । आ.व. २०८०/०८१ मा मात्रै त्यहाँका चालीस दम्पत्तिले सम्बन्धविच्छेद गरेका छन्, जुन संख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । सम्बन्धविच्छेदको घटना पारिवारिक सुसम्बन्धको चाहना राख्ने अभिभावकलाई सुखद् हुँदैन र स्वस्थ, समुन्नत तथा संस्कारयुक्त समाज विकासका लागि समेत सहयोगी हुन सक्दैन । तर, पनि देशभरका अदालतहरुमा दर्ता भएका मुद्दाहरु प्रत्येक वर्ष बढिरहेका छन् । यसो हुनुका पछि युवापुस्ता खुल्ला र स्वतन्त्र जीवन तथा भोगाइका पछि दौडिनु मुख्यकारण हुन सक्छ । अध्ययन तथा प्रविधिको पहुँच, उपलब्धता र प्रयोगले युवापुस्तालाई बढी खुल्ला र स्वतन्त्र बनाएको छ । जसले अनुशासन, जिम्मेवारी, सद्भाव र सहिष्णुताको भावनालाई कमजोर बनाउँदै लगेको छ ।

विवाह दुई व्यक्तिका बीचको सम्बन्ध, व्यवहार, सद्भाव वा हार्दिकता मात्र होइन, उनीहरुबाट जन्मिने सन्तानको भविष्यसँग पनि जोडिने विषय हो । सम्बन्धविच्छेद हुँदा उनीहरुको मानसिकता र अध्ययन माथि पर्ने प्रभावलाई सम्बोधन नगरिँदा हाम्रो समाज र सामाजिकता खण्डित भइरहेको छ । सम्बन्धविच्छेदका सम्बन्धमा भएको कानूनी व्यवस्थाले पनि यो समस्यालाई बढ्न मलजल गरिरहेको जानकारहरुको मत छ । सबै असमझदारीको एउटै समाधान सम्बन्धविच्छेद होइन र हुन सक्दैन । यसले नाफाभन्दा धेरै नोक्सान व्यहोर्न बाध्य बनाउँछ । तर, पनि यसमा अहिलेको खुला समाज, वैदेशिक रोजगारी, आन्तरिक कलह जस्ता कारण मुख्य रहेको अध्ययनले नै देखाएको छ । यस्तोमा पूर्वीय समाजको मूल्य र मान्यतालाई जोगाएर त्यसकै आधारमा वैवाहिक सम्बन्ध स्थापित गर्न सचेत वर्गले भूमिका निर्वाह गर्नुपर्छ । अन्यथा पश्चिमा शैलीको अनुकरणले हाम्रो विशिष्ट संस्कृति मात्र होइन भावीपुस्ता पनि अस्तित्वको संकटमा पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here