मन्त्रालयको सूचना प्रणालीमा विवरण दाखिला गर्दैनन् सहकारी

0
6

भद्रपुर।

सहकारी संस्थाहरूले सहकारी गरिबी निवारण व्यवस्थापन सूचना प्रणालीमा आफ्नो विवरण दाखिला नगर्ने गरेको पाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संस्थाको सूचनालाई एकीकृत प्रणालीमा साझा स्रोतको रूपमा सुरक्षित गरी प्रशासकीय प्रक्रिया, नियन्त्रण र जबाफदेहीता स्थापित गर्ने उद्देश्यले सूचना प्रणाली कार्यविधि २०७७ ल्याएको थियो ।

तर, सहकारी विभाग अन्तर्गत रहेका सहकारी संस्थाहरूले आफ्नो प्रतिवेदन, आवेदन, खुलासा, फाँटवारी वा प्रलेख नियमित रुपमा सूचना प्रणालीमा दाखिला नगर्ने गरेको जनाइएको छ । भद्रपुर नगरपालिकाले आइतबार आयोजना गरेको सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालकहरूको क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर सहकारी विकास शाखाका प्रमुख नेत्रप्रसाद पोखरेलले नगरपालिकाबाट युजरनेम र पासवर्ड लगेपनि अधिकांश सहकारीहरूले आफ्नो संस्थाको गतिविधिहरू सूचना प्रणालीमा नियमित दाखिला नगरिरहेको बताए ।

नगर क्षेत्राधिकारभित्र ३४ वटा सहकारी संस्था रहेकोमा हाल मर्ज भई २८ वटा संस्था रहेको छ । त्यसमध्ये ५ वटा संस्था सम्पर्कमा छैनन् । अघिल्लो वर्ष २२ वटा संस्थाले सहकारी विकास शाखाबाट युजरनेम र पासवर्ड लगेको थियो । १३ वटा संस्थाले मात्र सूचना प्रणालीमा नियमित विवरण दाखिला गरिरहेको बताउँदै शाखा प्रमुख पोखरेलले भने– ‘९ वटा संस्थाको दाखिला नियमित छैन, अब नियमित दाखिला नगर्ने संस्थाहरूको अनुगमन गरी कानूनी कारबाही गर्न तयारीमा छौँ ।’

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सहकारी संस्थाका अध्यक्ष र सञ्चालकहरूले कानून जान्दिन भनेर अब उम्किन नपाइने बताए । संघीय, प्रदेश र स्थानीय तहबीचको सहकारी ऐन केही बाझिएकोले समस्या भइरहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने– ‘संघीय सहकारी ऐन संशोधन भएसँगै ती समस्याहरूको हल हुन्छ ।’

‘संस्थाहरू व्यवस्थित रुपमा चल्न नसकेमा मर्ज भएर चलाउनु उपयुक्त हुन्छ’– उनले भने– ‘त्यसका लागि नगरपालिकाले प्रेरित गर्छ, नभए कानून बमोजिम गराउन बाध्य हुन्छ ।’ अब छिट्टै सहकारी संस्थाहरूको अनुगमन गरिन्छ । त्यसको लागि नगरपालिका ६६ बुँदे नीति तथा नियम जारी गरिसकेको छ ।

अनुगमनको क्रममा त्रुटी भेटिएका संस्थाहरूलाई कानूनी दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउने उनले बताए । आर्थिक विकास समितिका संयोजक प्रशंसा ठटालको अध्यक्षता भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत सहकारी समन्वय सचिव जीवन बाँस्तोलाले गरेका थिए ।

कार्यक्रममा सहभागी नगर क्षेत्राधिकार र प्रदेश कार्यक्षेत्र भएका सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालकहरूलाई नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले संस्था सञ्चालनको जोखिम, सञ्चालकको भूमिका, कर्जा जोखिम कोषको व्यवस्था, संस्थागत कोष वृद्धि, वित्तीय विश्लेषण, सहकारी गरिबी निवारण व्यवस्थापन सूचना प्रणालीको बारेमा सहजिकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here