पठन संस्कृति र समाज रूपान्तरण

३ बैशाख २०८१, सोमबार मा प्रकाशित

जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा धेरै परिवर्तनहरू आउँछन् । पढेपछि गरीब, दुःखी, बिरामी, वृद्ध, भिखारीहरूमा पनि मान्छेहरू देखिन थाल्छन् । कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्य परम्पराका समष्टि नाम संस्कृति हो । देश, काल, परिवेश, समयको वेग र हुङ्कार बुझ्न संस्कृति बुझ्नु पर्छ । संस्कृति बुझ्ने कला भनेको पढ्ने कला हो । पढ्ने कला अर्थात पठन संस्कृति । समान्यतयाः पढ्ने बानी वा संस्कारलाई पठन संस्कृति भनेर बुझ्दा पनि हुन्छ । अध्ययनशिल मान्छेहरूले अरू माथि हिलो छ्याप्दैनन् बरू समय–समयमा आफ्नो चश्मा सफा गर्दछन् । पुस्तक पढेपछि आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ र कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ ।

नेपाली समाजमा अझै पनि पाठ्यपुस्तक इतर पुस्तक पढ्नुलाई समयको बर्बादीका रुपमा बुझिन्छ । पुस्तक पढ्नु एक आनन्द, प्रेरणा र ऊर्जाको स्रोत पहिल्याउनु हो । पुस्तक पढ्नु भनेको जीवन पढ्नु हो । पुस्तक पढ्नुका अनेक लाभ छन्, धेरै सोधबाट पुष्टि भएको छ कि पुस्तक पढ्ने बानीले मानसिक रोगको भय कम हुन्छ । पछिल्लो समय सूचना तथा प्रविधिको विकाससँगै पुस्तक पढ्ने संस्कृति हराउँदै गएको छ । यो चिन्ताको विषय हो । पठन संस्कृतिको विकास नभएसम्म समाज रुपान्तरण हुँदैन । विद्यार्थीले पनि पाठ्यक्रमका पुस्तक मात्र नभई अन्य पुस्तकहरु पनि अध्ययन गर्नु अनिवार्य छ । सरकारले पठन संस्कृति विकास गर्नका लागि स्थानीय तह तथा विद्यालयमा पुस्तकालय निर्माण गर्न बजेट विनियोजन गर्न र त्यसको उचित कार्यान्वयन गर्न आवश्यक छ ।

विदेशमा बस तथा रेलमा यात्रा गर्दादेखि स्वीमिङ पुलमा पनि पुस्तक पढ्ने संस्कृति छ । त्यसैले समयमा नै अध्ययन र पठन संस्कृतिका बाधकहरुको पहिचान गरी तिनलाई पन्छाउदै समुन्नत भविष्यका लागि अध्ययनका पाइलाहरुलाई आत्मसात गर्नु पर्दछ । अध्ययन गर्दाको समयमा पैसा नभएर अध्ययन नगरेको, घरपरिवारले राम्रो सहयोग नगरेको, साथीभाईले राम्रोसँग अध्ययन नगरेकोले नपढेको जस्ता बहानाबाजी गर्ने गरेको पाउन सकिन्छ । अध्ययन गरेपछि फाइदा आफूलाई मात्र हुन्छ भनी सामान्य बुझाइको कमीले पठन संस्कृतिको विकासमा टेवा पुग्न नसकेको हो ।

राजनीतिक अस्थिरताका कारण, सामाजिक उत्पीडन, भाषिक अकर्मण्यता, सांस्कृतिक विचलन, अन्याय र अत्याचारको श्रृङ्खलामा तडपिइरहेको अवस्थाबाट मुक्ति पाउनको लागि अध्ययन जरुरी छ र अध्ययन संस्कृतिका बाधकहरुलाई हटाएर अघि बढ्न आवश्यक छ । बालबालिकाहरुमा सानैदेखि पढ्ने बानी बसाल्न आवश्यक हुन्छ । यसो गरेको खण्डमा बालबालिकाहरुको सामाजिक, शैक्षिक, बौद्धिक, मानसिक, संवेदनात्मक विकास राम्रोसित हुन पाउँछ । उनीहरुको दिमाग संवेदनशील, कल्पनाशील र सृजनशील हुन्छ र उनीहरुमा प्रतिभा प्रस्फुटन हुन्छ । अध्ययन संस्कृति मानिसको जीवनपर्यन्त शिक्षा र ज्ञान हासिल गर्ने पहिलो खुड्किलो र प्रमुख प्रवेशद्वार हो । बालबालिकाहरु भनेको एउटा कच्चा माटो हो, जसलाई हामी जस्तो रुपमा चाहन्छौं । त्यस्तै रुपमा परिणत वा प्रस्तुत गर्न सक्दछौं । त्यसैले आफ्नो बालबालिकाहरुलाई कस्तो बनाउने भन्ने जिम्मा अभिभावक, त्यहाँ रहेको समाज र त्यस देशको अवस्था अत्यन्तै जिम्मेवार रहेको हुन्छ ।

अध्ययनले हरेक क्षेत्रमा सहयोग गर्दछ । आफ्ना क्षेत्र र विषयका बदलिएका सन्दर्भहरुमा अद्यावधिक नहुने शिक्षक, चिकित्सक, इञ्जिनियर, राजनीतिकर्मी, विश्लेषक, शोधकर्ता, व्यापारी, व्यवसायी कसैले पनि आफ्ना लागि, समाजका लागि र राज्य तथा सिंगो मानवताका लागि ठूलो योगदान गर्न कठिनाइ हुन्छ । तसर्थ रुपान्तरणका लागि विश्वमा भइरहेका बदलावको प्रकृति, गति र परिवेश बुझ्न आवश्यक छ । यसका लागि अध्ययन आवश्यक छ । दुनियाँ बुझ्न धेरै पढ्नुपर्ने हुन्छ । सुनेका भरमा, अप्रशोधित सूचनाका भरमा धारणा निर्माण गरियो, सोही अनुरुप योजना बनाइयो भने ठूलो क्षति हुन्छ ।

पठन संस्कृतिले आलोचनात्मक चेत भएका जाग्रत मनुष्य निर्माणमा सहयोग गर्छ । व्यवहारको आवश्यकतासँग जोडेर वैज्ञानिक सिद्धान्तको अध्ययन गर्ने, त्यसलाई सिर्जनात्मक ढङ्गले बुझ्ने र रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने संस्कृतिलाई नयाँ ढङ्गले विकास गर्नैपर्छ । सामाजिक रूपान्तरण जनताको सचेत, जागरुक र सङ्गठित क्रियाशीलताका बलमा मात्रै सफल हुन्छ । अनि जनतालाई सचेत, जागरुक र सङ्गठित गर्न अभियन्ताहरू स्वयम् सचेत, जागरुक र सिर्जनशील हुनु अनिवार्य पूर्व शर्त हो भन्नेकुरा दोहो¥याइरहनु आवश्यक परेन । पठन संस्कृतिको विकासमा सिकारु स्वयम्, घरपरिबार र विद्यालय भूमिका अपरिहार्य हुन्छ ।

अहिले सिक्ने ठाउँ विद्यालय मात्र हो, सिकाउने शिक्षकले मात्र हो विभ्रम छ । यो पठन संस्कृतिको कन्तबिजोग छ भन्ने प्रमाण हो । सिकाइ मुटुको धड्कन जस्तो निरन्तर हुनपुर्छ भन्ने धारणा विद्यालयले दिन सकेन । आजको शिक्षा व्यवस्थाले विद्यार्थीलाई परीक्षामुखी मात्र बनायो । विधि अन्तर्गत विशेषतः फेसबुक र युट्युबले गर्दा धेरै पाठकहरूको अध्ययनशीलतामा ह्रास आएको छ । आफ्नो ज्ञानलाई अद्यावधिक गर्न सूचना र प्रविधिले सघाउँछ भनेर त्यसको सदुपयोग गर्ने शिक्षक तथा प्राध्यापकहरू पनि कम छन् भने आफ्नो कक्षागत पिरियड सकिने बित्तिकै पुस्तकलाई भन्दा मोबाइललाई साथी बनाउने गुरुहरूको कमी छैन ।

इन्टरनेटको पहुँच भएका ठाउँमा आजका धेरैजसो विद्यार्थीहरू इन्टरनेटमा घोप्टिरहने रोगले ग्रस्त भएका छन् । इन्टरनेटले सबैलाई चलाख मात्र बनाएको छैन सिर्जनात्मक शक्तिमा पनि धेरैलाई कमजोर बनाएको छ । पठन संस्कृतिको विकासका लागि विद्यालय र पालिकाको भूमिका अपरिहार्य हुन्छ । विद्यालयले निर्देषित कार्यमा लगाएर लर्नरलाई कन्ट्रोल गर्ने होइन्, असल पाठक र ज्ञानको अध्येताको रुपमा विकास गर्ने सोच राख्नुपर्छ । प्रत्येक शिक्षण संस्थाहरूमा विद्यार्थी केन्द्रित ससाना पुस्तकालय स्थापना गर्ने, तिनको व्यवस्थापन र पाठ्यक्रमभन्दा अतिरिक्त पुस्तकहरू पनि पढ्नुपर्छ भन्ने चिन्तनतर्फ हाम्रा शिक्षण संस्थाहरूको ध्यान आकृष्ट गर्न जरुरी छ । तबमात्रै विषयगत पुस्तकका अलावा अन्य विषयका पुस्तकहरूको पठनमा रूझान राखेको खण्डमा विधार्थीहरूले किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान पनि सँगसँगै आर्जन गर्न सक्छन् ।

त्यसको लागि तमानखोलाका प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीलाई प्रत्येक हप्ताको कुनै एकदिन पुस्तकालयको उपयोग गरेर स्वतन्त्र लेखनका लागि प्रोत्साहन गर्न सक्छन् ? सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि पठन संस्कृति विकास गर्न के पालिकाले एक विद्यालय एक पुस्ताकालय, एक गाँउ एक वाचनालय र पठन संस्कृति अभियान र कार्यशाला सञ्चालन गर्न सक्छ ? जनचेतना र ज्ञानको विस्तार गर्ने उद्देश्यले निर्मित गाँउपालिका अध्यक्ष पुस्तकालयले पठन संस्कृतिको विकास स्व. सिकाइमा अभ्यस्त गराउन सक्छन् ?आफू खुशी पढ्ने र सिक्ने विद्यार्थीको विकास नै शिक्षा प्रणालीको सफलता हो । मन लगाएर पढ्न ध्यान दिने वच्चाले विद्यालय शिक्षामा राम्रो गर्न सक्छ ।

बालबालिकाहरु आफै पढ्न र सिक्न इच्छुक नभएसम्म न उनीहरु सिकाइको विंगहम संसारमा प्रवेश गर्न सक्दछन् । न त नै जीवनको मार्गमा सफलता चुम्न सक्छन् । पठन संस्कृतिले प्रत्येक व्यक्तिको सोच्ने शक्तिलाई फराकिलो बनाउँछ । पठन संस्कृतिमा रमाउने व्यक्ति सबैका दृष्टिमा सम्मानित हुन्छ । ज्ञानको प्रसारण, ज्ञानको उत्पादन र ज्ञानको विनिर्माणमा अहोरात्र डट्न सक्ने विद्यार्थीहरुको विकासको आधार भनेकै पठन संस्कृतिको विकास हो । पठन संस्कृतिको विकासको आधार भनेकै पठन सीपको विकास हो । पठनसीपको विकासको आधार भनेकै अध्ययन अध्यापनमा पठनसीपले केन्द्रीय स्थान प्राप्त गर्नु हो ।

सिकाउनेले सिक्नेलाई सिकेका कुरा व्यवहारमा प्रयोग गर्न लगाउन सके मात्र सिकाइ सार्थक हुन्छ । अनि मात्र त्यस्तो सिकाइलाई प्रभावकारी मान्न सकिन्छ । सिकाइमा जति सिकारु जागरुक हुन्छ त्यति नै बढी जान्ने र बुझ्ने हुन्छ । सिकाइलाई प्रभावकारी बनाउन जति–जति नयाँ प्रविधि र विधि प्रयोग गरिन्छ, त्यति नै सिकारुमा सिक्ने इच्छा र चासो बढ्छ । आजको सिकाइ प्रक्रिया विद्यार्थी केन्द्रित हुनुपर्छ भन्ने नै होरु। यसैले समग्र शिक्षण सिकाइमा पठन सीपलाई केन्द्रमा राख्ने शिक्षण सिकाइ प्रक्रियाको विकास गरौं । पठन संस्कृतिमा अग्रसर हुन थालेपछि शिक्षकहरूले घोकाउन अनि विद्यार्थीले घोक्न रुचाउँदैनन् । पठन संस्कृतिले व्यक्ति स्वयम्को मात्र होइन उसको परिवार, समाज र समग्र देशकै बौद्धिकस्तरको वृद्धिमा महत्वपूर्ण सहयोग पु¥याउँछ । कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ ।

आमा–बुबाको मूल्य बुझिन्छ । प्रेम र काम बासनाको अन्तर बुझिन्छ । पढेपछि स्वास्थ्य सबैभन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ । यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन । जीवनमा शिक्षाको महत्व बुझिन्छ । फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्छन्, तर दैनिक वास्तविक जीवनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभवी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् । धेरै किताब पढ्ने मान्छेहरूलाई केवल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो– मानवता । सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् । वास्तवमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ । हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले पुनः जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here