झापामा मानव–हात्ती द्वन्द्व : २७ सामुदायिक वनलाई सोलार फेन्सको जिम्मा

0
9

पार्थ मण्डल,
झापा।

झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हालसम्म ७६.३९ किलोमिटर सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको सोलार अफसेट फेन्सको जिम्मा बल्ल पालिका अन्तरगतका सामुदायिक वन उपभोक्ता समूहहरूलाई प्रदान गरिएको छ । डिभिजन वन कार्यालय झापाले मंगलबार एक कार्यक्रमकाबीच भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदशी र मेचीनगरमा रहेका २७ वटा सामुदायिक वन उपभोक्ता समूहलाई सोलार अफसेट फेन्सको फारम हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरचन्द्र अधिकारीले सोलार फेन्सको फारम डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईलाई हस्तान्तरण गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालयले सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारीलाई फारम हस्तान्तरण गरेका थिए ।

प्रकृति संरक्षण कोषले १० करोड ४० लाख ६६ हजार लागतमा मेचीनगरको तिरिङदेखि नकलबन्दासम्म १८ किलोमिटर, चारकोशे जलथल जंगलको रणकालीदेखि विशाल सामुदायिक वनसम्म पहिलो चरण ३५ किलोमिटर, दोस्रो चरणमा विशालदेखि काली मन्दिर सामुदायिक वनसम्म ६ किलोमिटर र चारआली जंगलको कालीमन्दिरदेखि सैनिक ब्यारेकसम्म १७ किलोमिटर सोलार अफसेट फेन्स जडान गरेको छ ।

जडित गरिएका सोलार फेन्सको मर्मत सम्भार, रेखदेख र व्यवस्थापनमा चुनौती थपिएसँगै जिल्लामा मानव–हात्ती द्वन्द्व अझै रोकिएको छैन । जडान गरिएको सोलार फेन्सले काम गर्न छाडेपछि जंगलबाट निस्किएका हात्तीले गाउँघर पसेर मानवीय र भौतिक क्षति पु¥याउँदै आएका छन् । सहभागी सामुदायिक वनका पदाधिकारीहरूले सोलार फेन्स हस्तान्तरण कार्यक्रम ढिला भएकोले जनधनको क्षति रोकथाम तथा न्यूनीकरणमा समस्या उत्पन्न भएको जिकिर गरे । सामुदायिक वनलाई फारम हस्तान्तरण गरेर समस्याको समाधान नहुने उनीहरुको भनाइ थियो ।

सामुदायिक वनले सहजीकरण मात्र गर्ने हो, यसको मर्मत सम्भारका लागि आवश्यक बजेट र प्राविधिक टोली सरकारले उपलब्ध गराउनुपर्ने दियालो सामुदायिक वन उपभोक्ता समूह भद्रपुरका अध्यक्ष देउकुमार लिम्वूले बताए । त्यस्तै हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले सामुदायिक वनलाई सोलार फेन्स जिम्मा लगाएर पन्छाउने काम गर्न नहुने बताए ।
सामुदायिक वनका पदाधिकारीहरूलाई सोलार फेन्सको बारेमा प्राविधिक ज्ञान छैन । ‘उनीहरूले आफ्नो वन क्षेत्रमा जडित सोलार फेन्सको झारजंगल हटाउने, कहाँबाट तार चुँडाएर हात्ती गाउँघर पस्यो त्यो हेर्न बाहेक अरू जाँन्दैनन्’– अध्यक्ष लिङ्देनले भने– ‘उनीहरू ठोक्किने भनेकै पालिकामा हो, पालिकाले पनि एक्लै केही गर्न सक्दैन, त्यसैले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन र प्रकृति संरक्षण कोषको पनि साथ र सहयोग चाहिन्छ ।’

यस्तो कार्यक्रममा पनि पालिका प्रमुखहरू उपस्थिति नभई दिएकोमा उनले चर्को आलोचना गरे । ‘जनताको जिउधन रक्षाको पहिलो जिम्मेवारी जनप्रतिनिधिको हो’– उनले भने– ‘हात्तीले जनधनको ठूलो क्षति पु¥याइरहेको छ, यसलाई बेबास्ता गरी जनप्रतिनिधिहरू गैरजिम्मेबार बन्नुहुँदैन ।’ कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देन, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको मात्र उपस्थिति थियो । अन्य प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यसहित कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र मेचीनगर नगरपालिकाको जनप्रतिनिधिहरूको कार्यक्रममा सहभागिता नै थिएन ।

जिल्लामा मानव–हात्ती द्वन्द्व र सोलार फेन्सको अवस्था बारेमा जानकारी गराउँदै डिभिजन वन कार्यालयका प्रमुख राईले २०६८ सालदेखि आजको दिनसम्ममा हात्तीको आक्रमणबाट ६८ जनाको ज्यान गएको बताए । २०६२ सालदेखि हालसम्म १९ वटा हात्ती मरेको भेटिए ।

२०६८ सालदेखि गत आर्थिक वर्षसम्म ७ करोड १९ लाख ७० हजार ६९७ रुपैयाँ राहत वितरण गरिएको उनको भनाइ छ । चालू आर्थिक वर्षमा मात्र हात्तीले ७ जनाको ज्यान लिइसकेको बताउँदै उनले भने– ‘हात्तीबाट ५३२ वटा घटना घटेको छ, जस बापत एक करोड २६ लाख राहत वितरण गर्न बाँकी छ ।’

जिल्ला समन्वय समितिका अध्यक्ष विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा वन निर्देशक इन्द्रमणि भण्डारी, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वन अधिकृत देवेन्द्र उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here