जयपुर सहकारीका अध्यक्ष भट्टराई पक्राउ

0
9

झापा ।

सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा एक करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा प्रहरीले जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम भट्टराईलाई पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिकामा रहेको सो सहकारीले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नगरेको उजुरी परेसँगै प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो । अध्यक्ष भट्टराईलाई सुनसरीको इटहरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीले यसअघि सोही सहकारीका उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी तथा फागुन २३ गते पक्राउ गरेको थियो । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकबिरुद्ध उजुरी परेको र सहकारी रजिष्ट्रार कार्यालयको पत्र अनुसार उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए । उनका अनुसार सहकारीका अध्यक्षसहित पाँच जनाबिरुद्ध उजुरी परेको छ ।

शेयर सदस्य तथा बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि जयपुर सहकारी बन्द छ । २०५९ सालमा स्थापित संस्थामा ४९ लाख ९८ हजार एक सय रुपैयाँ शेयरपुँजी र ३ करोड ८ लाख ६८ हजार १ सय ४४ रुपैयाँ निक्षेप बचत रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here